यहि साता पेट्रोलियम सस्तिँदैछ, पेट्रोल, डिजल र मट्टितेल लिटरको तीन रुपैयाँसम्म घट्ने

बिजमाण्डू
२०७२ साउन १६ गते ००:०० | Aug 1, 2015
काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य निरन्तर ओरालो लागेपछि नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाउने भएको छ ।
 
निगमले भूकम्पपछि स्वचालित मूल्य प्रणालीलाई स्थगित गर्दै पेट्रोलियम पदार्थको मूल्य स्थिर राखेको थियो । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढ्दा पनि भूकम्पबाट प्रभावित जनतालाई राहत दिन मूल्य घटबढ गरिएको थिएन । इन्डियन आयल कर्पोरेशन(आइओसी)ले अगस्टमा पठाएको मूल्य हेरेपछि भाउ घटाउने निगमले जनाएको छ । 
 
‘आइओसीले पठाएको मूल्यका आधारमा यहाँ मूल्य घटाउने निर्णय हुनेछ,’ निगमका कार्यकारी निर्देशक गोपाल खड्काले बिजमान्डूसँग भने, ‘अन्तर्राष्ट्रिय बजारमा निरन्तर कच्चा तेलको मूल्य घटेको हुँदा यहाँ पनि घट्छ ।’ 

Tata
GBIME
Nepal Life


 

अहिले अन्तर्राष्ट्रिय बजारमा ब्रेन्ट आयलको मूल्य ५२ डलर २१ सेन्ट छ । ग्रिस संकट, इरानसँग भएको आणविक सम्झौंता र चीनमा औद्योगिक क्षेत्रको मन्दीले तेलको मूल्य निरन्तर घटिरहेको छ ।
 
निगम स्रोतका अनुसार डिजल, मट्टितेल र पेट्रोलको मूल्य प्रतिलिटर तीन रुपैयाँसम्म घट्नेछ । आइओसीले आइतबार मूल्य पठाएमा निगमले तत्कालै मूल्य घटाउनेछ । 
 
अहिले पेट्रोल एक लिटरको १ सय ९ रुपैयाँ, डिजल र मट्टितेल ८६ रुपैयाँ ५० पैसा कायम छ । निगमलाई खाना पकाउने ग्यास वाहेक सबैमा उच्च नाफा छ । 
 
निगमलाई ग्यास एक सिलिन्डरमा १७ रुपैयाँ २८ पैसा घाटा छ । आइओसीले अगस्टमा पठाउने मूल्यमा ग्यासमा समेत नाफा हुने स्रोतले बतायो । निगमलाई अहिले पेट्रोल, डिजल, मट्टितेल र हवाई इन्धनमा क्रमश १० रुपैयाँ १२ पैसा, ४ रुपैयाँ ४ पैसा, २० रुपैयाँ ५२ पैसा र ५५ रुपैयाँ २० पैसा नाफा छ । 
 
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेपछि भारत सरकारले भने शुक्रवारनै पेट्रोलियम पदार्थको मूल्य घटाइसकेको छ । भारतमा पेट्रोलको मूल्य एक लिटरमा ३ रुपैयाँ ८८ पैसा मूल्य घटेको छ । डिजलमा एक लिटरमा ५ रुपैयाँ ७६ पैसा मूल्य भारत सरकारले घटाएको छ । 
 
अब दिल्लीमा पेट्रोल एक लिटरको १ सय २ रुपैयाँ ३ पैसा र डिजल प्रति लिटर ७३ रुपैयाँ ७९ पैसा पर्नेछ । भारतमा खाना पकाउने ग्यासको समेत मूल्य घटेको छ । भारतमा एक सिलिन्डर ग्यासमा ३७ रुपैयाँ ६० पैसा मूल्य घटेर ९ सय ३६ रुपैयाँमा कायम भएको छ । 
 
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य अझै घट्ने अनुमान गरिएको छ । 
 
यसले नेपालमा पनि आगामी केही महिना तेलको मूल्य अझै सस्तिनेछ । इन्टरनेशनल रेटिङ एन्ड रिसर्च फर्म क्रिसिलले सन् २०१६ मा भारतमा कच्चा तेलको मूल्य प्रतिब्यारल ४५ डलरसम्म आउने अनुमान गरेको छ । 
 
भारतमा अझै पेट्रोल र डिजलको मूल्य लिटरमा ९ रुपैयाँ ६० पैसासम्म घट्नसक्ने अनुमान उक्त संस्थाले गरेको छ । 
 
निगमको वित्तिय छलाङ
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेपछि निगमले आफ्नो वित्तिय अवस्थामा छलाङ मारेको छ । निगम अहिले मासिक ६२ करोड २९ लाख रुपैयाँ नाफामा छ । जसलाई निगमले 'ऋण भुक्तानीको  लागि छुट्याएको रकम' भनेर परिभाषित गरेको छ ।


 

एक वर्षअघिसम्म तेल किन्न ऋण पाउन समेत मुस्किल परेको निगमले कच्चा तेलको मूल्य घट्दै जाँदा १८ अर्ब रुपैयाँ ऋण तिरिसकेको छ ।
 
एक वर्षअघि निगमको ऋण ३६ अर्ब रुपैयाँ थियो । निगमले अब सरकारको १२ अर्ब, नागरिक लगानी कोष र कर्मचारी संचय कोषको ९ अर्ब रुपैयाँ तिर्न बाँकी छ । नाफामा गएपछि निगमले डिपो सुधारदेखि ग्यास भण्डारणसम्मको योजना ल्याएको छ ।