बजार निर्माता ल्याउँदैमा पुँजी बजार बढ्ने हो र ? नीरव पुडासैनीको विश्लेषण



बिजमाण्डू
२०७२ साउन २२ गते ००:०० | Aug 7, 2015
बजार निर्माता ल्याउँदैमा पुँजी बजार बढ्ने हो र ? नीरव पुडासैनीको विश्लेषण


‘पूँजी बजारको संस्थागत विकासका लागि दोस्रो बजार ब्यवस्थित गर्न नागरिक लगानी कोषलाई क्रियाशील बनाइने छ ।’ 
 
पुँजी बजारको बृद्धिलाई आफ्नो सफलतासँग जोडेर हेर्ने अर्थमन्त्री डा. रामशरण महतले चालु आर्थिक बर्षको बजेटमा यस क्षेत्रका लागि दर्जन शब्द माथि खर्चिए । 
 
कर्मकाण्डी हिसावले उनले बजेटमा उल्लेख गरेका शब्ले पुाजी बजारको महत्व नबुझेको पनि देखिन्छ । तर सिधै आरोप लाउन सकिन्न किनेभने अर्थशास्त्रका ज्ञाता मन्त्री महतले आफ्नो सफलता जहिले पनि पुँजी बजारको बृद्धिसँग जोडेर व्याख्या गर्ने गरेका छन् । 
 
विद्यमान सेयर बजारसँग सम्बन्धित नियमावलीहरुमा मन्त्रीले बजेट बक्तब्यमा भनेजस्तो व्यवस्था छैन । सेयर बजार विकासका लागि बास्केट फन्डको रुपमा नागरिक लगानी कोषलाई अगाडि ल्याउँछु भन्नु त्यही कारण तर्कसंगत देखिँदैन । 
 
धितोपत्र नियमावलीको नियम २७ को उपनियम ३ मा जुन अर्थ र आसयमा बजार निर्माताको बारेमा लेखिएको छ, त्यसबाट नै हाम्रो पूँजी बजार यस विषयमा कति गम्भिर छ भन्ने कुरा प्रष्ट हुन्छ । धितोपत्र नियमावलीमा कहीँ कतै यस किसिमको बजार ब्यवस्थाको स्पष्ट मार्ग निर्देश गरेको पाइँदैन । यस्तो परिस्थितिमा निर्णयहरुका पहाडले मात्र थिचेर बजारको विकास सम्भव हुँदैन । त्यसो त बजार निर्माताको  माध्यमबाट धितोपत्र बजारमा चमत्कारीक विकास हुने पनि होइन । 
 
बुझ्न के जरुरी हुन्छ भने बजार निर्माताको काम भनेको बजारमा थप तरलताको प्रवाहलाई वृद्घि गर्ने प्रयास गर्नु मात्र हो । यसका साथै यसरी बृद्घि हुन गएको तरलताको प्रवाहको कारण बजारमा विभिन्न धितोपत्रहरुको मूल्य निर्धारण पारदर्शी हिसावले गर्नु पनि हो । यस किसिमको बजार निर्माताहरुलाई विश्वका विकशित मूलुकहरुले आ—आफ्नो हिसावले प्रयोग गरेको पाइन्छ । 
 
वेलायतको स्टक एक्सचेन्जले यस्ता बजार निर्माताहरुलाई ‘जबरस्’ भन्छन् भने अमेरीकी स्टक एक्सचेन्जमा यिनीहरुलाई विज्ञ, बजार व्यवस्थापक वा निर्माता भन्ने गर्छन् । विश्वका ठूला धितोपत्र बजार जस्तै न्युयोर्क स्टक एक्सचेन्जमा रहेको बजार निर्माताले त्यस बजारमा तरलताको प्रवाह गर्छ । त्यसले खरिद र विक्री बीचमा तालमेल नमिलेको बेला त्यसको जिम्मा ब्यवस्थापक आफैंले लिन्छ । जस्तै यदि बिक्री चाप सय लटको छ र खरीद जम्मा नब्बे मात्र छ भने बाँकी दश लटको भिन्नताको जिम्मा आफैं लिन्छ । तर लगानीकर्तालाई तुरुन्तै राफसाफ गराइदिन्छ । त्यसकारण यस्ता बजार निर्माताहरुलाई सम्बन्धित एक्सचन्जले पूर्ण अधिकार प्रदान गरेको हुन्छ । तर यस्ता बजार निर्माताहरुलाई केही निश्चित धितोपत्रहरुमा मात्र पनि बजार व्यवस्थापन गर्ने अधिकार दिन सकिन्छ । 
 
२०१३ सम्मको आधारमा हेर्ने हो भने न्युयोर्क स्टक बजारमा मात्र २५०० भन्दा बढी बजार निर्माताहरुले दैनिक रुपमा बजारमा तरलता सृजना गरिरहेका छन् । यसको अर्थ एकआध बजार निर्माता खडा गरेको भरमा नेपाली धितोपत्र बजारको विकास गर्न सकिन्न भन्ने हो । हामीले बुझ्न के जरुरी छ भने संसारका धेरै जसो धितोपत्र बजार म्याचिङ सिद्घान्त वा अडर ड्रिभन सिद्घान्त अनुरुपनै चल्छन् । जसमा जब दुबै बिकृकर्ता र खरिदकर्ताको मेलपछि मात्र धितोपत्रहरु राफसाफ हुन्छन् । तथापि म्याचिङ सिद्घान्त अनुरुप धितोपत्र राफसाफ गर्ने भनिएता पनि यस्तो बजारहरुमा दृश्य अदृश्यरुपमा बजार निर्माताहरुको छाँया पारिएको नै हुन्छ । त्यसैकारण पनि हाम्रो धितोपत्र बजारमा बजार निर्माताहरुको प्रवेश गराउन खोज्नु राम्रो पक्ष हो तर, हालै बजेट मार्फत गर्न खोजिएको झाराटराइबाट चाँही केही हुनेवाला देखिँदैन ।
 
धितोपत्र बजारप्रति नेपाली लगानीकर्ताहरुको तिव्र आर्कषणको अनुमान हामी यसरी लगाउन सक्छौं । जस्तै करिव दुई करोडको प्राथमिक सेयर जारी गर्दा अनुमानित चार अर्बभन्दा बढीको पैसा उठिरहेको हालको स्थितिले यो प्रष्ट हुन्छ । विगत केही बर्षयताको प्राथमिक निस्कासनको अध्ययन गर्ने हो भने प्रत्येक प्राथमिक निस्कासनमा करिव बिसदेखी तीस गुनाभन्दा बढी आवेदनहरु परेको देखिन्छ । जसले यस बजारप्रतिको मोहलाई  उजागर गर्छ । तसर्थ यस बजारको बिकासलाई ओठे भाषाणमा मात्र सिमित राख्नुभन्दा यससँग सम्बन्धित अन्य औजारहरु तथा नियमहरुको बिकास क्रमलाई समय अनुरुप खुला छोडिनु हाम्रो आर्थिक हितमा रहन्छ । 
 
बजार निर्माता एउटा त्यस्तो संस्था हो जसले बजारमा तरलता प्रवाह गर्नुको साथै बजारमा सूचिकृत सेयरहरुको मूल्य निर्धारण पनि गर्दै जान्छ । विश्वास के गरिन्छ भने यसरी निर्धारण भएको मूल्य नै बास्तविक माग र आपूर्तिको सिद्धान्तबाट आएको हुन्छ । बजार निर्माताले सधै बजारमा खरिद र बिक्री बराबर मात्रमा राफसाफ गराउन खडा गरेको हुनुपर्छ । उसले प्रत्येक खरिदमा विक्रि र प्रत्येक विक्रिमा खरिद गर्न मन्जुर भएर बजारमा हरदम रहनु पर्छ । यसरी बजार निर्माताले खरिद र विक्री गर्न मन्जुर गरेको प्रत्येक धितोपत्रलाई आ–आफ्नो खातामा दाखिल गराउनु पर्छ  । जसलाई उसको इन्टेन्सन भनिन्छ र त्यो उसको जम्मा गरेको रकमको आधारमा फरक फरक हुन्छ । यी र यस्तै आधारभूत कुराहरुकोबारे समेत हाम्रो धितोपत्र नियामवालीमा कही कतै उल्लेख नभएको कारण पनि उनीहरुको उद्देश्यप्रति सधै संसय रहेको हो । 
 
हुनत लगानी कोषलाई करिब ६ देखि दश अर्ब सम्मको कोषको व्यवस्थापन गर्न दिने कुरा हालैको भूकम्पपछि पूँजी बजारमा आउन सक्ने रोदनको आँकलन गरे पछि गरीएको निर्णय थियो । तर के, कसरी र कुन आधारमा भन्ने जस्ता आधारभूत कुराहरु केही नखुलाईएको कारण पछि बजारले क्रमिक रुपमा आफ्नो बाटो  लिएपछि भने त्यो कुरा त्यतिकै तुहिएको अनुभूति आम लगानीकर्ताहरुले महशुश गरेका छन् । यस अर्थमा पनि बजेटमा आएको कुरालाई विश्वास गरिहाल्न सकिन्न ।
 
यसरी तरलिकृत  जोखिम कम गर्न सहयोग गर्ने बजार निमार्ताको सुरुवात हाम्रो धितोपत्र बजारमा गर्नु धेरै राम्रो कदम हुनेछ । तथापी विना कुनै ठोस नीति र नियमबीना गरिनु भनेको चाँही बजारलाई ठूलो पूँजीको साथ चलाइरहेको संस्थागत लगानीकर्ताहरुको हातमा बुझाउनु मात्र हुनेछ । 
 
अझै पनि विश्वका केही विज्ञहरु यस किसिमको बजार निर्माणको खुलेर विरोध गर्छन् । कारण उनीहरु यस किसिमको बजारको कारण माग र आपुर्तिको सिद्धान्त अनुरुप निर्धारण हुने मूल्यमा वाधा आउँछ भन्ने विश्वास र्गछन् । त्यसकारण पनि यस किसिमको बजार व्यवस्थापनमा हुन सक्ने कमजोरीहरुको अध्ययन गरेर मात्र यसको सुरुवात गरिनु हाम्रो जस्तो सानो आकारको पूँजि बजारको हितमा हुन्छ । हाम्रो नीति निर्माताहरुले बुझ्न के जरुरी छ भने हाम्रो बजारमा लगानी योग्य तरलताको कुनै कमी छैन । लगानीकर्ताहरु अवसर को प्रतिक्षामा छन् । तसर्थ नियामकले यस कूरालाई ध्यानमा राखेर धितोपत्र बजारको बिकासको क्रमलाई आफ्नो असक्षमताको पोल्टोमा लुकाई राख्न जरुरी छैन । 

Tata
GBIME
Nepal Life