सामसङको नाफा मात्रै साढे पाँच खर्ब, प्रतिश्पर्धामा एप्पल उत्रियो

बिजमाण्डू
२०६९ असार २४ गते ००:०० | Jul 8, 2012
सामसङको नाफा मात्रै साढे पाँच खर्ब, प्रतिश्पर्धामा एप्पल उत्रियो

हङकङ । स्मार्टफोन लञ्च गरेर तहल्का मच्याएको सामसङले सन् २०१२ को दोस्रो त्रैमासमा नाफा मात्रै ७९ प्रतिशतले बढाएको छ । कम्पनीलाई यो अवधिमा झण्डै छ अर्ब डलर (साढे पाँच खर्ब रुपैयाँ) नाफा भएको कम्पनीले जानकारी दिएको छ । यो कम्पनीले सन् २००८ यता प्राप्त सबैभन्दा ठूलो उपलब्धी हो ।
सामसङले यसै वर्षको सुरुवातमा विश्वको सबैभन्दा ठूलो मोवाइल कम्पनीको ताज नोकियासँग खोसेको थियो । विश्लेषकहरुले सामसङको नाफा आउँदा दिनमा अझै बढ्ने अनुमान लगाएका छन् ।
एचएमसी इन्वेष्टमेन्ट सेक्युरिटीजका विश्लेषक नो ज्युन चाङले अब आउने तेस्रो त्रैमासमा सामसङको मुनाफा अझै बढ्ने बताए, सामसङले यो अवधिमा उच्च गुणस्तरीय सामसङ ग्यालेक्सी एस ३ को विक्री अझै बढाउँछ । उनले तेस्रो त्रैमासमा एस ३ को विक्री एक करोड ९० लाख भन्दा बढी विक्री हुने अनुमान गरे । यो मोवाइलको दोस्रो र तेस्रो त्रैमासमा राम्रो विक्री भए पनि चौथो त्रैमासबाट भने सुस्त हुने विश्लेषकहरुको अनुमान छ । चौथो त्रैमासमा सामसङको स्माटफोन सेग्मेन्टमा निकट प्रतिश्पर्धी मानिएको एप्पलले आइफोनको नयाँ मोडल बजारमा उतादै छ ।
सामसङलाई चुनौती एप्पलबाट मात्र छैन् कानूनी चुनौती पनि आउने विश्लेषकहरुले बताएका छन । विश्वका थुप्रै देशमा एप्पलले सामसङविरुद्ध पेटेन्ट राइट्स उल्लंघनको आरोपमा मुद्धा दायर गरेको छ । यो महिनाको सुरुवातमा पेटेन्टकै एउटा मुद्धामा अमेरिकी अदालतले सामसङ ग्यालेक्सी नेक्सस स्मार्टफोन र ग्यालेक्सी ट्याव १०.१ को विक्रीमा रोक लगाएको थियो ।

Tata
GBIME
Nepal Life