काठमाडौं । राष्ट्र बैंकले भदौ मसान्तभित्रै पुँजी बृद्धि योजना ल्याउन निर्देशन दिएपछि बैंकका प्रमुख कार्यकारी अधिकृत र सञ्चालक समितिका सदस्यहरुबीच छलफल सुरु भएको छ ।
पुँजी बृद्धि विशुद्ध सञ्चालक समिति र सेयरधनीको बिषय भएपनि विषयगत ज्ञानका अभावमा सञ्चालकहरुले प्रमुख कार्यकारीसँग यस बारेमा छलफल थालेका हुन् । पुँजी बृद्धि कसरी गर्ने भन्ने बिषयमा प्रमुख कार्यकारीहरुले दुई–तीन वटै विकल्पहरु दिन थालेका छन् ।
‘सञ्चालक समितिसँग नियमितजसो पुँजी बृद्धिका बारेमा छलफल भइरहेको छ,’ बैंकर्स संघका उपाध्यक्ष तथा मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल शाहले भने, ‘औपचारिक रुपमा केही पनि निर्णय भएको छैन ।’
प्रमुख कार्यकारीहरुले केही पुँजी नाफाबाट वोनस सेयर दिएर बृद्धि गर्ने, केही पुँजी अर्को संस्थासँग मर्ज गरेर बढाउने र अपुग भए हकप्रद सेयर दिने विकल्प दिन थालेका छन् । ठूला बैंकहरुले नाफाबाटै वोनस सेयर दिने र अपुग भए सानो कुनै संस्था लिएर पुँजी पुर्याउने विकल्प दिएका छन् ।
साना बैंकहरुले भने अर्को बाणिज्य बैंक र केही साना वित्तीय संस्थाहरुलाई गाभेर तोकिएको पुँजी पुर्याउने विकल्प दिएका छन् । सञ्चालक समितिहरुले ठोश निर्णय भने गरिसकेका छैनन् ।
‘हामी लछफल गरिरहेका छौं,’ सिद्धार्थ बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भन्डारीले भने, ‘निर्णय गर्न समय बाँकी नै छ ।’ हिमालयन बैंकले पनि सञ्चालक समितिसँग केही दिनमै छलफल हुने जनाएको छ । ‘अनौपचारिक कुराकानी भइरहेको छ,’ प्रमुख कार्यकारी अधिकृत अशोक राणाले भने, ‘केही दिनमै वोर्ड बसेर पुँजी बृद्धिको योजना टुङ्ग्याउँछौं ।’ उनले हिमालयनलाई पुँजी बृद्धि गर्न समस्या नहुने जानकारी दिए ।
राष्ट्र बैंकले दुई अर्बको पुँजीलाई २०७४ असार मसान्तसम्म आठ अर्ब पुर्याउन बाणिज्य बैंकहरुलाई निर्देशन दिएको छ । यसका लागि भदौ मसान्तभित्र पुँजी बृद्धि योजना राष्ट्र बैंकलाई बुझाइ सक्नु पर्छ ।
‘राष्ट्र बैंकले भनेपछि पुँजी बृद्धि गर्नैपर्छ, कसरी गर्ने भनेर सञ्चालक समिति छलफलमा छ,’ लुम्बिनी बैंकका प्रमुख कार्यकारी शोभनदेव पन्तले भने ।
कुमारी बैंक, जनता, सेञ्चुरी बैंक, बैंक अफ काठमाण्डू, सनराइज बैंक, एनआइसी एसियालगायतका बैंकहरुमा औपचारिक र अनौपचारिक दुबै तहमा पुँजी बृद्धिका बारेमा छलफल भइसकेको छ । साना बैंकका प्रमुख कार्यकारीहरुले भने मर्जरको विकल्पबीना आठ अर्ब पुँजी पुर्याउन नसकिने भएकाले सञ्चालक पद विर्शिन वोर्ड सदस्यहरुलाई आग्रह गरिरहेका छन् ।
जनता बैंकले त पुँजी बृद्धिका लागि आन्तरिक मर्जर समिति नै गठन गरिसकेको छ । सिभिल बैंकले दुई अर्ब पुँजी भएको आइएलएफसी फाइनान्सलाई औपचारिक मर्जर प्रस्ताव पठाइसकेको छ । पुँजी बृद्धि योजना आउनुअघि बैंकले मर्जर प्रस्ताव पठाएको हो ।











