आर्कषक लुकसहितको कम्प्याक्ट सेडान फिगो एस्पायर बजारमा, कारको मूल्य २५ लाख रुपैयाँबाट सुरु

बिजमाण्डू
२०७२ साउन २७ गते ००:०० | Aug 12, 2015
काठमाडौं । आर्कषक लुक र स्मार्ट कार फोर्डको फिगो एस्पायर नेपाली बजारमा बिक्री सुरु भएको छ । डिजाइन, स्मार्ट प्रविधि, एडभान्स सुरक्षात्मक प्रविधिसहितको कम्प्याक्ट सेडान कारको मूल्य समेत सस्तो छ । कारको मूल्य २४ लाख ९० हजारबाट सुरु हुने कम्पनीले जनाएको छ । 
 
‘सेडान भर्सनमा सबैभन्दा उत्कृष्ट कारको रुपमा प्रमाणित भइसकेको छ,’ फोर्ड इन्डियाका अध्यक्ष एवं प्रवन्ध निर्देशक निगेल ह्यारिसले भने, ‘इन्धन किफायतीका आधारमा पनि यो उत्कृष्ट कार हो ।’ कम्पनीले कारको सुरक्षाका लागि पछिल्लो प्रविधिहरुको प्रयोग गरेको दावी गरेको छ । 
 
कारमा ६ वटा एयरब्याग छन् । अगाडी दुईवटा र अरु विभिन्न स्थानमा चार वटा एयरब्याग राखेर यात्रुलाई सुरक्षाका सबै प्रवन्ध गरिएको छ । ठूलो दुर्घटना भएमा इमरजेन्सी सहयोगका लागि ब्लुटुथसँग जोडिएकोले अटोमेटिक मोबाइलले कार भएको स्थान र सूचना दिने व्यवस्था रहेको कम्पनीले जनाएको छ ।

Tata
GBIME
Nepal Life

 
 कारमा स्मार्ट प्रविधि प्रयोग गरिएकोले डिजिटल प्रविधिमार्फत गाडी चलाउँदा सजिलो हुने कम्पनीले जनाएको छ । कारमा मोबाइल चार्जर, सेटलाइट नेभिगेशन लगायतका सुविधा पनि रहेका छन् । कारको भित्री भागलाई आर्कषक बनाइएको छ । कारको सिटमा लेदर प्रयोग गरिएको छ । कारमा खुट्टा सहज रुपमा राख्नसकिने खाली स्थान रहेका छन् । कारका चार वटा भेरियन्टमा उपलब्ध छन् । कम्पनीका अनुसार एम्बियन्ट, ट्रेन्ड, टाइटनम, र टाइटनम प्लस रहेका छन् । कारमा १.२ लिटर टीआई– भिसिटी पेट्रोल इन्जिन, ८८ पिएस शक्ति लगायतका विशेषता रहेका छन् । कारले प्रति लिटर १८.२ किलोमिटर माइलेज दिने कम्पनीले दावी गरेको छ । कम्पनीका अनुसार १.५ लिटर टिडीसीआई डिजल इन्जिनले एक सय पिएस शक्ति दिनेछ । कम्पनीले डिजल भर्सनको कारले प्रतिलिटर २५.८ किलोमिटर माइलेज दिने दावी गरेको छ ।
 
 कम्पनीले पेट्रोल भर्सनको एम्विएन्ट, ट्रेन्ड, टाइटनम र टाइटनम प्लसको मूल्य क्रमश २४ लाख ९० हजार, १७ लाख ९० हजार, ३१ लाख ९० हजार र ३४ लाख ९० हजार मूल्य तोकेको छ । डिजल भर्सनमा एम्विएन्ट , ट्रेन्ड , टाइटनम  र टाइटनम प्लसको मूल्य क्रमश २७ लाख ९० हजार ३१ लाख ९० हजार, ३५ लाख ९० हजार र ३८ लाख ९० हजार मूल्य तोकेको छ ।