हिमालयन जाभाको सरकारलाई प्रश्न मेरो मेनुको कति तोकौं मूल्य ?

बिजमाण्डू
२०७२ साउन ३१ गते ००:०० | Aug 16, 2015
हिमालयन जाभाको सरकारलाई प्रश्न मेरो मेनुको कति तोकौं मूल्य ?

सविन मिश्र/बिजमाण्डू
काठमाडौं । हिमालयन जाभामा दुर्इ जना सञ्चालक छन् । एक जना गगन प्रधान, अर्का आनन्द गुरुङ । प्रधान साउन २१ गते  दिउँसो भुटानी व्यापारीको समूहसँग काठमाडौंमा व्यवासायिक छलफल गरिरहका थिए । दिउँसो उनको मोवाइलमा फोन आयो । फोन हिमालयन जाभाको बसन्तपुर ब्राञ्चका कर्मचारीले गरेका थिए ।

Tata
GBIME
Nepal Life

के भयो ? प्रधानले सोधे ।

हाम्रो एक जना जुनियर स्टाफलार्इ जनसेवाको प्रहरीले  पक्राउ गर्यो, जाभाका कर्मचारीले जवाफ फर्काए ।
उनलार्इ लाग्यो स्टाफले के गल्ती गरेछ । भने त्यहाँको सिनियर मान्छे पठाएर प्रहरीसँग छलफल गर्नु कानुनी प्रक्रिया पुरा गरेर छुटाउनु ।

जाभाका बसन्तपुर ब्राञ्चका कर्मचारीले जनसेवा प्रहरीका हाकिमसँग गरेको अनुनय विनयले काम गरेन । फेरी प्रधानलार्इ फोन गयो ।

उनले सोधे के हो समस्या?

पानीको समस्या हो, उनले जवाफ पाए ।

मिटिङमा व्यस्त उनले फेरी भने ठीक छ म मुख्य कार्यालयबाट मान्छे पठाउँछु ।

गगनले हेड अफिसबाट दुर्इ जना सिनियर लेभलका कर्मचारी जनसेवा पठाए । उनीहरुको लाख कोशीसले पनि काम गरेन ।

फेरी गगनलार्इ खबर आयो । प्रहरी हाकिम हिमालयन जाभाका मालिक खै भन्दैछन् ?

उनले फेरी सोधे कुरा के हो ?

कर्मचारीले गगनलार्इ विस्तारमा सम्झाए । एक जना ग्राहकले बोत्तल बन्द पानीको अर्डर गरेका थिए, हामीले त्यसको भ्याट र सेवा शुल्कसहित १३० रुपैयाँ बिलिङ गरेका थियौं । उनले उजुरी गरेका रहेछन । कालोबजारी गरेको आरोपमा हामीलार्इ थुनिएको छ ।

प्रधान  यो सुन्नासाथ ठमेलबाट हान्निएर न्युरोडको जनसेवा पुगे । उनले प्रहरीसँग भने, म कम्पनीको मालिक हो । भ्याट र सेवाशुल्कसहित पानी १३० रुपैयाँ बेच्ने निर्णय मैले गरेको हुँ । कर्मचारीले मूल्य तय गरेका होइनन् । सबै कर्मचारीलार्इ छाडिदिनुहोस् । आवश्यक परे तपार्इ मलार्इ थुन्न सक्नुहुन्छ ।

जनसेवाका इन्सपेक्टरले भने हामीलार्इ पनि माथिबाट आदेश छ । तपार्इ आज त यहाँ बस्नै पर्छ । अरु सबै कर्मचारीलार्इ छाडिदिन्छु ।

गगन प्रधान विदेश पढेर स्वदेश फर्किएका हुन् । विदेश पढ्दा सबै नेपाली झैं गगनका पनि उस्तै समस्या थिए । काम गरेर कमाएको पैसाले पढ्नुपर्ने । उनले लामो समय काम गर्नु पर्दथ्यो । कलेज पनि जानु पर्दथ्यो । सुत्नका लागि कम समय हुन्थ्यो । कम सुत्नेका लागि कफि ‌औषधी थियो । उनलार्इ कफिको लत लाग्यो ।

स्वदेश फर्किएपछि उनले राम्रो कफि खाने ठाउँ फेला पारेनन् । एक दिन त्यसैलार्इ उनले पेशा बनाउने सोंच बनाए । कम्पनीको नाम न्वारन गरे हिमालयन जाभा । नेपालको हिमालय र कफिको उत्कृष्ट स्वाद पाइने इन्डोनेशियाको जाभालार्इ जोडेर हिमालयन जाभा खुलेको थियो ।

गगनको जाभाले चमत्कारै गर्यो । नेपाल आउने विदेशी मात्रै होइन्, काठमाडौंका 'एलाइटÚ क्लासलार्इ टार्गेट गरेको जाभाकै कारण नेपालमा कफि कल्चर भित्रियो । नेपाली कफिको चर्चा देशमा मात्रै होइन विदेशसम्म हुन थाल्यो ।

पहिले केही सय पाउने काँचो कफि अब हजारभन्दा माथि पर्न थाल्यो ।

सन् १९९९ मा खुलेको हिमालयन जाभाले १५ वर्षमा काठमाडौं, पोखरा, लुक्ला,  मुस्ताङ, क्यानडा र लण्डनसम्म गरेर डेढ दर्जन स्थानमा कफि पसल खोल्यो । यी कफि पसलमा १७० जनाले प्रत्यक्ष रोजगारी पाए । कफिदेखि जाभालार्इ सामान आपूर्ती गरेर जीविका चलाउनेको अर्को ठूलो जनसंख्या तयार भयो ।

हिमालयन जाभाले करोडौं रुपैयाँको कारोवार गर्न थाल्यो । त्यसको ठूलो हिस्सा भ्याट, आयकर गरेर सरकारी खातामा पनि आउन थाल्यो ।

यो १५ वर्षमा हिमालयन जाभाले ५० ‍औं पटक आफ्नो मेनुमा परिवर्तन गर्यो । कहिं कतै कसैले उसको मेनुमा प्रश्न गरेन् । मेनुमा तोकिएको मूल्यमा कसैले प्रश्न उठाएन ।


 

तर अचानक साउन २१ गते पानीले ल्याएको भुकम्पले गगनलार्इ मात्रै हल्लाएन । पुरै सेवा उद्योगमा कम्पन गएको छ । गगन मात्रै होइन, सेवा उद्योगमा लागेका सबैले प्रश्न गर्न थालेका छन् ।

आखिर होटल र रेष्टुरेण्टको मेनु कसले तय गर्ने हो? मूल्य कसले निर्धारण गर्ने हो ?  नेपाल प्रहरीले ? पानीमा कालोबजारी भएको छ भनेर कारवाही गर्न आदेश दिने मानव अधिकार आयोगले ?, गगनलार्इ मुद्दा चलाउने जिल्ला प्रशासन कार्यालयले ? वा सेवा र सुविधा दिने व्यापारीले ?

पानी बेच्दा गगनले मात्रै हैरानी व्योहोर्नु परेन, अमेरिका पुगेका साझेदार गुरुङले पनि समस्या पाए। साउन २१ गतेको काण्ड हुनु एक साता अघि नै गुरुङ जाभाको बजार विस्तारमा छलफल गर्न अमेरिका पुगेका थिए । तर उनी नेपाल नफर्किएसम्म प्रधानको मुद्दा अघि बढेन् । गुरुङ फर्केपछि उनीसँग बयान लिएर मात्रै प्रशासनले धरौटीमा दुर्इ जनालार्इ छाडेको हो ।

काठमाडौंको दरवारमार्ग अहिले कफिको हव बनेको छ । जाभालार्इ पछ्याउँदै दर्जनभन्दा बढी कफिका एक्सक्लुजिभ सप खुलेका छन् । त्यहाँ हिमालयन जाभा पनि छ । कफि पसल पनि छ र पाँच तारे अन्नपूर्णको कफि सप पनि । फुटपाथमा पनि कफि नपाइने होइन् ।

फुटपाथमा ३० रुपैयाँमा कफि पाइन्छ । जाभामा डेढ सय रुपैयाँको हाराहारीमा । तर त्यही कफि अन्नपूर्ण कफि सपमा साढे तीन सय रुपैयाँभन्दा बढी पर्छ । के त्यसो भए अन्नपूर्ण कफि सपले कफिमा कालोबजारी गरेको हो?

काठमाडौंमा पाँच तारे हायात होटल छ । हायातमा ‌औषतमा सय डलरमा एउटा कोठा पाइन्छ । तर त्यस्तै कोठा बत्तीसपुतलीमा रहेको द्वारिकाजले भने तीन सय डलरमा बेच्छ । के त्यसो भए द्वारिकाजले कालोबजारी गरेको हो?

मैले पनि एक दिन हिरासतमा राख्ने प्रहरीलार्इ त्यही प्रश्न सोधेको छु । ७५ हजार रुपैयाँ जमानत लिएर छाड्ने जिल्ला प्रशासनलार्इ पनि त्यही प्रश्न सोधेको छु । तर दश दिन भैसक्यो जवाफ पाउन सकेको छैन्, प्रधान भन्छन् ।

गगनलार्इ ७५ हजार रुपैयाँको धरौटी तोक्ने काठमाडौंका प्रमुख जिल्ला अधिकारी एकनारायण अर्यालसँग  पनि यो प्रश्नको जवाफ छैन् । बिजमाण्डुको प्रश्नमा उनले पनि गोलमोटल जवाफ दिए । मैले हिमालयन जाभामाथि परेको उजुरीका आधारमा कारबाही गरेको हुँ । उजुरी परेपछि हामीले कारबाही त गर्नैपर्छ ।

त्यसो भए कुन कानुन अनुसार धरौटी लिनु भयो? बिजमाण्डुको प्रश्नमा अर्यालले भने, कालोबजारी ‍कानुनअनुसार ।

के त्यसो भए अब व्यापारीले होइन, तपार्इंहरु  मेनु र मूल्य पनि तय गर्नुहुन्छ? होइन, होइन, अर्यालले जवाफ दिए, सेवा क्षेत्रको मूल्य निर्धारण गर्ने विषयमा नीतिगत स्पष्टता हुनुपर्छ ।' उनले भने, 'यो क्षेत्र भनेको पर्यटकीय क्षेत्र पनि हो, यस्ता क्षेत्रमा आउन सक्ने समस्या समाधान गर्ने विषयमा हामीले मात्रै होइन माथिबाट नै स्पष्टता आउनुपर्छ ।'

जनसेवा हुँदै काठमाडौंका प्रमुख जिल्ला अधिकारी एकनारायण अर्यालले पनि प्रधानको बयान लिने क्रममा प्रधानलार्इ सोधे अब के गर्नुहुन्छ ? सिडिओको प्रश्नमा प्रधानको जवाफ थियो, 'सिडिओसाप अब म पानी बेच्दिन, पानी बेच्यो भने यहाँ आउनु पर्दो रहेछ किन पानी बेच्नु?'

प्रधानले भने 'यदि मैले गल्ति गरेको छु भने काठमाडौंको कुन होटल र रेष्टुरेन्टले सही काम गरेको छ त ?,' प्रधानको प्रश्न छ, 'बसन्तपुरका अरु रेष्टुरेन्टले पनि पानी महँगोमा बेचेका छन्, अब उनीहरुलाई के हुन्छ ?'

कालोबजारी एेन खुद्रा बजारको मूल्य तय गर्नका लागि हो । जहाँ उत्पादकबाट होलसेलर, त्यहाँबाट रिटेल र रिटेलबाट उपभोक्ताको हातमा पुग्दा कति मूल्य अभिवृद्धि गर्ने भनेर सीमा तोकिएको हुन्छ । तर सेवा क्षेत्रमा भने मूल्य तय गर्ने कुनै कानून छैन् ।

कम्पनीले दिने सेवा र सुविधाको आधारमा रेष्टुरेण्ट र होटलमा मूल्य तय गरिन्छ, बाजेको सेकुवाका सिइओ सुशील खड्का भन्छन् । रेष्टुरेण्ट र होटल रिटेल पसल होइन, जहाँ होलसेलरबाट प्राप्त हुने मूल्यका आधारमा मेनुको मूल्य तय होस् ।

प्रधान भन्छन्, 'नेपालमा मात्रै होइन संसारभर नै कफीसपमा सफ्ट ड्रिंक्स र पानीको मूल्य कफिको मूल्य हाराहारीमा तय हुन्छ । उनले भने, हाम्रो काम पानी बेच्ने होइन्, कफी पिउन प्रेरित गर्ने हो ।

हिमालयन जाभाले भुकम्प अघिसम्म हिमालय अन टप पानी बेच्दै आएको थियो । त्यसको रिटेल मूल्य नै ५० रुपैयाँ हाराहारी थियो । सेवा शुल्क र भ्याट जोड्दा ६५ रुपैयाँ पुग्थ्यो । त्यो पानी जाभाले भ्याट र सेवाशुल्क गरेर १३० रुपैयाँमा विक्रि गर्दथ्यो ।

तर भुकम्पपछि हिमालयन अन टपले आवश्यकताअनुसार पानीको आपूर्ती गर्न सकेन । त्यसपछि जाभामा अक्वा हण्ड्रेड बेच्न थालिएको हो । हामीले मेनुमा मूल्य लेखेका छौं । जारको पानी निशुल्क उपलब्ध गराउँछौं । त्यति हुँदा पनि अर्डर गर्ने अनि उल्टै कालोबजारी भयो भनेर कसरी भन्ने?