आरविआईमा ४० वर्षकी प्राची: बदल्दै केन्द्रिय बैंकको तस्वीर

बिजमाण्डू
२०७२ भदौ २ गते ००:०० | Aug 19, 2015
आरविआईमा ४० वर्षकी प्राची: बदल्दै केन्द्रिय बैंकको तस्वीर


हुनत कामको आधारमा उनी प्रसिद्ध अर्थशास्त्रीहरु स्टेनले फिसरदेखि वेन वर्नान्कीसँग समेत तुलना हुन पुग्छिन् । तर, जब उनी आफ्नो सामान्य जीवनमा फर्किन्छिन आम मान्छेजस्तै सडकमा पानीपुरी खाँदै गरेको अवस्थामा पनि फेला पर्न सक्छिन् । त्यसैले त विकेन्ड मुभी, समुन्द्रको किनारमा बेलाबेला जुरेको जगिङ र छोरीसँग टेनिस कोर्टमा बिताउन पाउँदा आइएमइफ कार्यालय वासिङ्टनका दिन भन्दा सुन्दर क्षण लाग्छन् उनलाई

भारतको केन्द्रिय बैंक रिजर्भ बैंक अफ इन्डिया (आरविआई)का हाकिमहरुलाई सरकारी अधिकारीको हस्तक्षेपबाट जति टाउको दुखाइ छ त्यो भन्दा बढि तनाव दिन्थ्यो कमजोर डाटा व्यवस्थापनले ।

Tata
GBIME
Nepal Life

विषेश गरि आरबिआईको ब्याजदर सम्बन्धि डाटा व्यवस्थापन र रिसर्च पुर्वाधार, जुन यति गन्जागोल थियो कि चाहिएको बेला कामै नदिने ।
 
पूर्व गभर्नर डि सुब्बाराओले त केन्द्रिय बैंकको दरहरु तय गर्ने कामलाई 'कर्मकाण्ड'को संज्ञा दिएका थिए । उनका उत्तराधिकारी रघुराम राजनले पनि हालै भारतमा विज्ञ अर्थशास्त्रीहरुको खाँचो रहेको अभिव्यक्ति दिए ।
 
यस्तै अन्यौल र प्रश्नहरुको बीचमा आरबिआईले प्राची मिश्रालाई पाएको छ । र, उनले सुब्बाराओदेखि राजनसम्मको गुनासो चिर्ने संकेत पनि दिइ सकेकी छिन् ।
 
विहारको पटनामा जन्मिएकी ४० बर्षिया प्राची अमेरिकाको कोलम्बिया विश्वविद्यालयकी पिएचडी ग्राजुएट हुन् । सन् १९९९ मा अर्थशास्त्रका लागि प्रसिद्ध दिल्ली स्कुल अफ इकोनोमिक्समा एमए टप गरेपछि कोलम्बिया लागेकी उनले सन् २००२ मा एमफिल र २००४ मा पिएचडी गरिन् ।
 
सन् २०१३ सम्म अन्तर्राष्ट्रिय मुद्रा कोषमा वरिष्ठ अर्थशास्त्रीको रुपमा काम गरेकी प्राची अहिले आरविआईको 'रिसर्च' हाँकी रहेकी छिन् । आफु भन्दा दोब्बर उमेरको भारतीय केन्द्रिय बैंकमा रिसर्च बारे नयाँ अवधारणानै स्थापित गरि सकेकी छिन् उनले ।
 
'रिसर्च डाटा र तथ्यहरुका आधारमा हुनुपर्छ' उनले टाइम्स अफ इन्डियासँग भनेकी छिन् 'आफ्नो टिमलाई यो अवधारणा अनुसार प्रेरित गर्ने मेरो प्रयास जारी छ ।' आरविआईमा डेपुटी गभर्नर भन्दा तल्लो तहका अधिकृतहरु मिडियासँगै खासै नबोल्ने हुँदा प्राचीको अन्तर्वार्ताले थप माइलेज समेत पाएको छ ।
 
'मेरो मुख्य काम नीति निर्माणका लागि आरबिआईसँग सम्बन्धित विषयमा रिसर्च गर्नु हो' उनले भनेकी छिन् । तर, उनको रिसर्च पुरानो कर्मकाण्डी शैलीको भने छैन । उनी आफैं पनि रिसर्चमा कलाको प्रयोग गर्न चाहेको बताउँछिन् ।
 
मिश्राले परिवारको असहमतिका बावजुत अर्थशास्त्र पढ्ने निधो गरेकी थिइन् । परिवारका अधिकांश सदस्य चिकित्सा पेशा रहेका कारण उनी पनि एमबिबिएसमा भर्ना होउन् भन्ने बुबा आमाको चाहना थियो ।
 
हृदयको आवाज सुन्नेहरु लक्षमा पुग्छन् भने जस्तै अर्थशास्त्रमा उनले एक पछि अर्को सिँढी चढ्दै गइन् । अधिकांश विहारी परिवारको पहिलो रोजाइ बन्ने सरकारी नोकरीले समेत उनलाई तानेन ।
 
उनले त्यहि गरि रहिन् जुन कामका लागि उनी जन्मेकी थिइन् । त्यसैको परिणाम स्वरुप आफ्नो क्षमतामा राजन जस्ता तिलश्मी गभर्नर समेतलाई उनले लोभ्याइन् ।
 
राजन प्राचीसँग यति प्रभावित भए की आरबिआईको नियमित प्रकृया भन्दा बाहिर गएर उनलाई केन्द्रिय बैंकमा भित्र्याए । उनलाई मौद्रिक नीति विभागमा विशेषज्ञ सल्लाहकारको जिम्मेवारी दिइएको छ । उनको तह मुख्य महाप्रबन्धक सरहको हो । यो तहमा यसरि कर्मचारी नियुक्त गरिएको आरविआईको इतिहासमै पहिलो पटक हो । ५८ जना आवेदकलाई पछि पारेर उनी भारतको केन्द्रिय बैंक छिरेकी हुन् ।
 
उनका सहपाठीहरु प्राचीबारे खुलेर टिप्पणी गर्छन् । 'जब उनले हाम्रो ब्याच टपिन्, हामीलाई लागेको थियो पक्कै उनले कहिँ न कहिँ विषेश पहिचान बनाउनेछिन्, र नभन्दै आज उनी आरबिआईकी अर्थशास्त्री छिन्' इन्डियन चेम्बर अफ कमर्शमा अतिरिक्त निर्देशक रहेका उनका सहपाठी सौभिक वनर्जी भन्छन् 'विद्यार्थीकालमा पनि हामी भन्दा उनी फरक थिइन्, हामी क्याम्पसबाट निस्केपछि रमाइलो गरेर समय बिताउन खोज्थ्यौ, उनी सधैं सिर्जनात्मक काममै घोत्लिएकी हुन्थिन् ।'
 
दिल्ली स्कुल अफ इकोनोमिक्स बाट कोलम्बिया हुँदै आइएमएफ सम्मको श्रखृलावद्ध फेलोसिपले वनर्जीको भनाइलाई थप पुष्टि गर्छ । त्यति मात्र होइन उनलाई आइएमएफले 'इन्नोभेटिभ रिसर्च इन पोलिटिकल इकोनोमी, इन्टरनेशनल ट्रेड एन्ड एक्सचेञ्ज रेट्स' शिर्षकमा अवार्ड समेत दिएको छ ।
 
हुनत कामको आधारमा उनी प्रसिद्ध अर्थशास्त्रीहरु स्टेनले फिसरदेखि वेन वर्नान्कीसँग समेत तुलना हुन पुग्छिन् । तर, जब उनी आफ्नो सामान्य जीवनमा फर्किन्छिन आम मान्छेजस्तै सडकमा पानीपुरी खाँदै गरेको अवस्थामा पनि फेला पर्न सक्छिन् ।
 
त्यसैले त विकेन्ड मुभी, समुन्द्रको किनारमा बेलाबेला जुरेको जगिङ र छोरीसँग टेनिस कोर्टमा बिताउन पाउँदा आइएमइफ कार्यालय वासिङ्टनका दिन भन्दा सुन्दर क्षण लाग्छन् उनलाई । तर, उनले मूल्य त्यसैमा चुकाइ रहेकी छिन्, जहाँ आरबिआईका लागि मुद्रास्फिती अध्ययन र मौद्रिक ट्रान्समिसनबारे नयाँ गोरेटो खनिँदैछ ।
 
उनका श्रीमान् देभेश रोय उनीबाट कोशौँ टाढा दिल्लीको अन्तर्राष्ट्रिय खाद्य नीति अनुसन्धान संस्थामा आवद्ध छन् ।
 
परिवारबाट टाढा रहनुको पीडा एक ठाउँमा छ । तर, मिश्राले आफ्नो अन्तर्राष्ट्रिय विज्ञता मेहनतका साथ भारतको केन्द्रिय बैंकको हितमा वर्षाइ रहेकी छिन् । जसले हिजोका दिनमा केन्द्रिय बैंकको ब्याजदर रणनीति पछ्याउन बैंकहरुलाई कस्तो कठिनाइ थियो भन्नेसम्मको गहिराइ खोज्ने प्रयत्न गरेको छ । बैंकिङ जार्गनमा यसैलाई 'मौद्रिक ट्रान्समिसन' भनिएको हो ।
 
'मौद्रिक नीतिको ट्रान्समिसन बैंकिङ सिष्टम मार्फत अध्ययन गर्न हामीले कैयन शुक्ष्म डाटाहरुलाई केलाएका छौँ' मिश्रा भन्छिन् 'प्रत्येक बैंकको लगानी अभ्यासका अलावा हामीले शाखाहरुका व्यवसायीक ट्रेन्ड समेत अध्ययन गर्यौँ ।'
 
हो यहि अध्ययनले मिश्रालाई भारतको विविधता बुझायो र त्यस अनुरुप लिनु पर्ने फरक खाले नीति निर्माणमा प्रेरित गर्यो । सायद आठ दशकको इतिहासमा अर्थतन्त्रलाई तथ्यसँग दाँजेर बुझ्न नसक्दा गन्जागोल बनेको आरविआईको डाटा प्रणाली अब संगलिँदैछ । र, साथसाथै केन्द्रिय बैंकले लिएका बजार लक्षित नीति पनि अब कार्यन्वयनको तहमा सहजै उत्रँदै जानेछन् ।
 
इकोनोमिक टाइम्सबाट ।