अब प्‍याजले होइन यसको मूल्यले झार्छ उपभोक्ताको आँसु, थोक मूल्य सय नाघ्यो, खुद्रामा १२०

बिजमाण्डू
२०७२ भदौ ५ गते ००:०० | Aug 22, 2015
अब प्‍याजले होइन यसको मूल्यले झार्छ उपभोक्ताको आँसु, थोक मूल्य सय नाघ्यो, खुद्रामा १२०

काठमाडौं । प्याजको मूल्य आकाशिएको छ । भारतबाट प्याज आयातमा गिरावट आएपछि माग अनुसार आपूर्ति हुन नसक्दा प्याजको मूल्य बढेको हो ।

Tata
GBIME
Nepal Life

कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार शनिबार प्याजको थोक मूल्य प्रतिकिलो एकसय तीन रुपैयाँ पुगेको छ । जुन अघिल्लो शनिबार ७३ रुपैयाँ थियो । अभाव भएपछि प्याजको भाउ एक हप्तामै ३० रुपैयाँले बढेको हो । थोक बजारमा प्याजको भाउ एकसय तीन भएपनि खुद्रा पसलमा एकसय २० रुपैयाँसम्म पुगिसकेको छ ।

'भारतबाट प्यान आउन निकै कम भएको छ, माग भन्दा ज्यादै कम प्याज आयात भएकाले भाउ बढेको हो,' कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका रमेश डंगोलले भने, 'दैनिक ७० टनसम्म प्याज आउने गरेकोमा अहिले २० देखि ३० टनमात्रै आइरहेको छ, त्यसैले भाउ उच्च भएको हो ।'

गत वर्षको अहिलेकै अवस्थाको तुलनामा प्याजको थोक मूल्य एकसय ५१ प्रतिशतले बढेको छ । गत वर्षको अगस्ट २३ मा ४१ रुपैयाँ रहेको प्याजको थोक मूल्य यो वर्षको अगस्ट २२ अर्थात शनिबार एकसय तीन रुपैयाँ पुगेको छ ।

नेपाली बजारमा भित्रने प्याज भारत र चीनबाट आउने गरेका थिए । तर यो वर्ष भूकम्पका कारण बाटो भत्कँदा चीनबाट प्याज आयात हुन सकेको छैन भने भारतीय बजारमा पनि प्याज अभाव भएकाले नेपालमा निर्यात निकै कम भएको छ ।

नेपालमा उत्पादन हुने प्याज घरायसी प्रयोजनमै खपत हुने र बजारमा थोरैमात्रै पुग्ने भएकाले भारतीय प्याजकै भर पर्नुपर्ने अवस्था छ । 'हाम्रो देशमा उत्पादन हुने प्याज बजारमा एकदमै थोरै आउँछ, जति ९९ प्रतिशत प्याज भारतबाटै ल्याउनु पर्छ,' उनले भने, 'नेपालमा प्याजको सिजन सुरु भएपनि त्यसल बजारमा खासै असर पार्दैन ।' नेपालमा प्याजको भाउ घट्न भारतमै घट्नु पर्ने डंगोलले बताए ।

भारतमा के छ अवस्था ?
भारतीय बजारमा पनि पछिल्लो दुई तीन हप्तायता प्याजको भाउ उकालो लागिरहेको छ । भारतको राजधानी नयाँ दिल्लीका खुद्रा पसलमै प्याजको भाउ एकसय भारु प्रतिकिलो पुगिसकेको छ । जुन दुई हप्ता अगाडिसम्म ८० को हाराहारीमा थियो । भारतीय बजारमा प्याजको थोक मूल्य ५७ भारु पुगेको टाइम्स अफ इन्डियाले जनाएको छ ।

भारतमा अभावको बेलाका लागि भन्दै १० हजार टन प्याज भण्डारण गर्ने लक्ष्य राखिएपनि नौ हजार टन मात्रै भण्डारण भएको थियो । विहारलगायतका ठाउँमा उत्पादनमा केही ह्रास आएकाले योजना अनुसारको भण्डारण हुन सकेको थिएन ।

गएको जुलाईको अन्त्यदेखिनै भारतीय अधिकारीहरुले प्याजको मूल्यबारे चिन्ता व्यक्त गर्दै आएका थिए । भारतको प्याज भण्डार मध्येको एक महाराष्ट्रमा गत वर्ष प्याज पुगेको थियो । भारतमा प्याजको थोक मूल्य ७० प्रतिशतसम्मले बढ्ने अनुमान गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । भारतमा भण्डारण गरिएको मध्ये १५ देखि २० प्रतिशत प्याज बिक्री भइसकेकाले मूल्यबारे थप चिन्तित हुनुपर्ने अवस्था रहेको भारतीय अधिकारीहरुलाई उधृत गर्दै अन्तर्ष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

भारतमा मात्रै नभइ ब्राजिलमा पनि प्याजको भाउ बढेको छ । गत वर्षको तुलनामा अहिले ब्राजिलको बजारमा प्याजको मूल्य एकसय ५५ प्रतिशतले बढेको छ ।

अझै बढ्छ भाउ
नेपाली बजारमा प्याजको माग अझै बढ्दै जान्छ । विभिन्न चाडपर्व नजिकिएकाले प्याजको माग बढ्दै जाने र त्यसअनुसारको आपूर्ति नहुने भएकाले माग अझै बढ्ने डंगोलले बताए ।

'विभिन्न चाडपर्व नजिकिँदै छन्, खपत अझै बढ्छ तर त्यसअनुसारको आपूर्ति हुन सक्ने अवस्था छैन,' उनले भने, 'यस्तै अवस्था रहिरहे भाउ अझै बढ्छ ।' यो वर्ष चिनियाँ प्याज नआउने भएकाले मूल्य नियन्त्रण गर्न गाह्रो हुने उनले अनुमान गरे ।

काठमाडौं आसपासका जिल्लाहरु धादिङ, नुवाकोट, काभ्रेलगायतका जिल्लाबाट काठमाडौंमा प्याज आपूर्ति हुने भएपनि यो वर्ष त्यहाँबाट प्याज आएको छैन ।