राहुल चौधरी: कसरी पूरा हुँदैछ सन् २०२० सम्म १२० होटलको लक्ष्य

बिजमाण्डू
२०७२ भदौ ६ गते ००:०० | Aug 23, 2015
राहुल चौधरी: कसरी पूरा हुँदैछ सन् २०२० सम्म १२० होटलको लक्ष्य


विज्ञान अधिकारी/बिजमाण्डू
काठमाडौं । राहुल चौधरी, नेपालका डलर अर्वपति विनोद चौधरीका माइला छोरा । उनका अधिकांश फेसबुकमा लामो स्ट्याटस हुँदैन्, मात्र लेख्छन्, ‘इज इन नैरोवी’ (केन्या), ‘इज इन कम्पला’ (युगाण्डा), ‘इज इन फुक्सियन लेक’ (चीन), इज इन अवधि खुम्वगड (राजस्थान) इण्डिया ।
 
राहुलको फेसबुकमा हुने यी स्ट्याटसमा अहिले पनि परिवर्तन त भएको छैन्, तर उनी अफ्रिका, मध्यपूर्व, फिलिपिन्स, थाइल्याण्ड, चीन, भारत, श्रीलंका पुगेको फेसबुक स्ट्याटसको फ्रिक्वेन्सीमा भने कमि आएको छ । आजभोली उनका अधिकांश फेसबुक स्टाटसमा लेखिन थालेको छ, ‘इज इन काठमाडौं’, ‘इज इन चितवन’ ।
–––
नेपालमा केन्द्रित राहुल

 

काठमाडौंमा चौधरी समूहको ‘हेडक्वाटर’ झम्सिखेलमा छ । विश्वभर बढ्दै गएको चौधरी समूहको प्रभाव, नेपालको एक मात्र डलर अर्वपती, काठमाडौंमा बढ्दै गएको ‘हाइराइज’ संस्कृतीलाई हेर्दा चौधरी समूहको यो हेडक्वाटर साँघुरो लाग्छ । त्यसमाथि राहुलका हजुवबुबाले ठड्याएको यो ‘हेडक्वार्टर’ भुकम्पको सिकार पनि भयो ।

 
भुकम्प अघि विनोद चौधरी र तीन भाई छोराको यो ‘हेडक्वाटर’ भुकम्पपछि अहिले ‘रेट्रोफिट’ हुँदैछ । त्यसैले सबै झम्सिखेलबाट लाखापाखा लागेका छन् । विनोद आफै, छोरा निर्वाण र वरुण कलंकी पारीको सतुंगलमा कार्यालय खडा गरेर बसेका छन् । 
 
तर राहुलले भने भुकम्पपमा क्षती भएको पुरानो हेडक्वाटर छाडेका छैनन्, उनले अहिले त्यही हेडक्वाटरको गार्डरुमलाई आफ्नो कार्यालय बनाएका छन् । राहुलले होटलमा देखेको सम्भावनाका विषयमा ‘स्टोरी’ लेख्छौं भने पछि उनका सहयोगीले सुरुमा हामीलाई भेट गर्न यही गार्डरुमको ठेगाना दिए । अन्तिम समयतिर उनलाई भेट्ने ठेगाना परिवर्तन भयो । हामीले नयाँ ठाउँ पायौं, कुपण्डोल हाइटमा रहेको होटल समिट ।
 
–––
समिट होटलको स्थापना डच नागरिक विलियम गल्चरले गरेका थिए । दुई वर्ष अघि उनले समिट स्थानीय राजकृष्ण श्रेष्ठलाई बेचे । १६ रोपनी जग्गामा फैलिएको यो होटलको बहुमत स्वामित्व अहिले चौधरी र एनई समूहका रविभक्त श्रेष्ठसँग छ । ८३ कोठाको यो होटलको व्यवस्थापन राहुल र उनको टीमले हेर्न थालेको छ ।
 
समिटमा राहुलले आफूसहित हामीलाई ‘मसाला टि’ अर्डर गरे । प्रसङ्ग समिट होटलमा आयो । भुकम्पले होटल व्यवसाय प्रभावित छ । धेरै पाँच तारे होटल आधा क्षमता पनि चलेका छैनन् । यो बेला होटलले ‘रेट’ बढाए अवस्था के होला? तर समिटको ‘रेट’ बढ्यो ।
 
यो बुटिक होटल हो, राहुलले भने । बत्तिसपुतलिको द्वारिकामा पर्यटक एउटा कोठाको तीन सय डलर तिर्न तयार छन् । हामीले समिट लिएपछि रेट बढिसकेको छ । यसलाई स्तरोन्नती गर्यौं भने काठमाडौंमा सबैलेभन्दा राम्रो रेट लिन सक्छौं, उनले जानकारी दिए ।
 
अर्को सोफामा बसेकी श्रीमती सुरभी खैतान र आफ्नो टीमलाई देखाउँदै भने, समिटको पुर्नसंरचनाको काम भैरहेको, त्यसका लागि मुम्बईबाट प्राविधिक र प्रोजेक्ट टिम नेपाल आएको छ । सुरभी ‘इन्टेरियर डिजाइनर’ पनि हुन् । उनले त्यसका लागि काम गरिरहेकी छिन्, राहुलले भने । समिटमा अर्को एक सय कोठा थपिंदैछ । 
 
–––
मेघौलीमा स्तरीय रिसोर्ट
म नेपालमा सात प्रोजेक्ट गर्न खोजिरहेको छु, राहुलले आफ्नो फेसबुक स्ट्याटस ‘इज इन काठमाडौं’को अर्थ सम्झाए । समिट स्तरोन्नतीमा छ, हाम्रा अरु तीनमध्ये मेघौली सञ्चालनको अन्तिम चरणमा छ । दुई होटल निर्माण चरणमा छन् भने बाँकी तीन मेरो दिमागमा, राहुलले भने ।

Tata
GBIME
Nepal Life

उनी अब फेसबुक स्टाटस ‘इज इन चितवन’मा लागे । चितवनको मेघौलीमा चौधरी समूहको रिसोर्ट तयार हुँदैछ । अक्टोवरदेखि सञ्चालन गर्ने गरी हामीले काम गरिरहेका छौं, राहुलले भने । ३० वटा ‘कि’ (होटल क्षेत्रमा कोठालाई ‘कि’का रुपमा बुझिन्छ)को यो रिसोर्टको व्यवस्थापन भने ताजले गर्नेछ ।
 
भारतमा पहिलेदेखि नै हाम्रो ताजसँग ताज सफारीमा साझेदारी छ । त्यही भएर उनीहरु नेपालमा ‘इन्ट्रेष्टेड’ भए, हामीहरुले उनीहरुलाई स्वागत गर्यौं । मेघौलीमा स्थापना गर्न लागिएको रिसोर्टका १८ वटा भिल्ला हुनेछन् । सबै रुममा स्विमिङ पुल हुन्छ । प्रेसिडेन्सियल भिल्लामा ठूलो स्विमिङ पुल हुनेछ । राहुलले प्रष्ट पारे, यो रिर्सोट नेपालमै ‘वान अफ दी बेस्ट रिर्सोट’ हुनेछ ।
 
उनले यो रिसोर्टमा एउटा रुमको सात सय डलर पर्ने जानकारी दिए । नेपालमा द्वारिका र धुलिखेल रिसोर्टले एउटा कोठाको चार सय डलरसम्म लिएका छन्, हाम्रो रिसोर्ट त्योभन्दा महँगो हुनेछ, उनले स्पष्ट पारे । 
 
ताजको टीम आएर मेघौलीमा हेरिसकेको छ । त्यही टीमले दिएको डिजाइन अनुसार काम पनि अन्तिम चरणमा पुगिसकेको छ, राहुलले भने । ताजको ग्लोबल हेड २९ सेप्टेम्बरमा नेपाल आउँदै हुनुहुन्छ । उहाँलाई हामीले पहिलो गेस्टको रुपमा राख्दैछौ । राप्तीको किनारामा रहेको मेघौलीको रिसोर्टमा चौधरी समूहले करिब ५० करोड रुपैयाँ लगानी गरिसकेको छ ।
 
हामीले सफारी विजनेशलाई ‘हाइएन्ड’मा सोचिरहेका छौ । विश्वभरी अहिले संचालनमा रहेका र निर्माणको क्रममा यस्ता झन्डै डेढ सय होटल मात्र छन् । नेपाल भन्दावाहिर त्यति धेरै होटल छन् तर सफारीका लागि विश्वको सबैभन्दा उत्कृष्ट गन्तव्य नेपालमा एउटा पनि होटल छैनन् भन्ने लागेपछि हामीले यो निर्माण सुरु गरेका हौं, राहुलले मेघौली सुरु गर्नुको अर्थ सम्झाए । 
 
पहिला मेघौलीको एयरपोर्टमा जहाज नै जान्थ्यो । अहिले बन्द अवस्थामा छ । हामीले पुन संचालनको तयारी समेत गरिरहेका छौ । हामीले एयरलाइन्सहरुसँग कुराकानी गरिरहेका छौ त्यो संचालनमा आउनेवितिकै त्यहाँको पर्यटनले ठूलो फड्को मार्छ, उनले भने । 
 
–––
नेपालमा सात होटल
मेघौलीपछि राहुलको तेस्रो प्रोजेकट झमेल हुनेछ । झमेलको विल्डिङ पहिलै बनिसकेको छ । योजनाहरु पनि बनिसकेको थिए ।  काम सुरु गर्न लागेका थियौ भूकम्प आयो । हामीले भवनको स्ट्रक्चर, पर्खाल लगायतका प्राविधिक जाँच गरिरहेका छौ । प्राविधिकको प्रतिवेदन आउनेवितिकै काम तीब्र रुपमा अघि बढ्छ, राहुलले भने । 

 
झमेलको होटल १ सय ५० कोठाको चार तारे स्तरको होटल हुनेछ । यो होटल अर्को वर्षको जुलाईसम्म संचालनमा आउने जानकारी उनले दिए । यो परियोजनामा एक अर्बदेखि १ अर्ब १० करोड रुपैयाँ लगानी हुने पनि उनले बताए । 
 
राहुलको चौथो प्रोजेक्ट भरतपुर हुनेछ । पहिला किम्यान होटल भएको ठाउँमा होटल आउनेछ । यो अर्को वर्षको अगस्टमा संचालनमा आउने जानकारी उनले दिए । मल पनि रहने यो परियोजनामा ४२ कोठाको होटल हुनेछ । नारायणगढको होटल बजेटभन्दा माथिको होटेल हुनेछ । यो नारायणगढको बेस्ट होटल हुनेछ, उनले भने । किम्यान हाईटमा छ । नारायगढ सहर तल छ । त्यसमाथि स्विमिङ पुल नै पाँचौ तल्लामा हुन्छ । स्विमिङ पुलबाटै पूरै सहर देख्न सकिन्छ ।
 
राहुलको दिमागमा थप तीन परियोजना पनि छन् । पाँचौ प्रोजेक्ट पनि पक्कै गर्छु । उनले त्यसका लागि चार वटा जग्गा पोखरामा हेरेको जानकारी दिए । पोखरामा होटल गर्नैपर्छ । एक÷दुई महिनामा जग्गा पनि फाइनल हुन्छ, उनले भने ।
 
उनको अर्को योजना भनेको हिमाली क्षेत्रमा होटल निर्माण हो । त्यो मुस्ताङ होला वा अरु कुनै ठाउँ अहिले नै निर्णय भएको छैन तर त्यो बन्छ उनले भने । उनले अर्को परियोजना लुम्बिनी हुने बताए । लुम्बिनी मैले पहिला पनि हेरेको ठाउँ हो । लुम्बिनीको मार्केट अहिले अझै ‘म्याच्युर्ड’ भएको छैन । दुई हजार रुपैयाँ तिर्ने होटल बनाएर हामीलाई कामै छैन । पाटनमा सानो होटल बनाउने योजना पनि उनले सुनाए । त्यो टिपिकल नेपाली स्टाइलको हुनेछ, उनले जानकारी दिए । 
 
सन् २०१७/१८ भित्र नेपालभित्र चौधरी समूहका छदेखि सात वटा होटल सञ्चालनमा हुनेछन् । नेपालमा हुने सबै होटल ‘रिकगनाइजेबल’ होटल हुने पनि उनले बताए । सानो-सानो काम सबैले गरिरहेकै छन् । मेरो योजना हो, केही फरक गर्ने , त्यसमा सिजीको ‘रेपुटेशन’ पनि जोडिएको छ ।
–––
सन् २०२० को लक्ष्य

नेपालमा मात्रै होइन राहुल विश्वभर होटल बनाउँदैछन् । सिजीले २०२० सम्ममा दुई सय होटल बनाउनेछ, उनले आफ्नो महत्वाकांक्षी योजना सुनाए । उनले भने, यी सबै सिजीले प्रवद्र्धन गर्ने ब्रान्डमा सञ्चालन हुनेछन् ।

 
अहिले पनि सिजीसँग आफ्ना, साझेदारी, व्यवस्थापनका गरेर १ सय १० होटल छन् । त्यमध्ये ताज, अलिलासँग साझेदारीका होटल पनि हुन् । सिजी आफैले प्रवद्र्धन गर्ने ‘द जिन्क’, द फर्न, जिंक जर्ने, जिंक सिटी, जिंग लिभिङ, ग्लो, बियकन ब्रान्डका ८८ वटा होटल  सञ्चालनमा छन् । 
 
चौधरी समूहको लगानीमा सन् २००२ सम्म जम्मा तीन वटा होटल मात्रै थिए । राहुलले सन् २००६ मा चौधरी समूहको ‘हस्पिटालिटी’ उद्योग ज्वाइन गर्दा पाँच वटा होटल । यो दश वर्षको बीचमा कसरी ११० भन्दा बढी होटल निर्माण सम्भव भयो ? 
 
राहुल जवाफ दिन्छन्, यो क्षेत्रमा हाम्रो फोकस थियो । त्यसले हामीलाई ‘ग्रोथ’ गर्न पनि सजिलो भयो । नेपालपछि अहिले पनि उनको फोकश भनेको अफ्रिका र दुबई हो । दुवईमा चौधरी समूहले ताजसँगको साझेदारीमा ‘भिभियन्ता’ होटल बनाउँदै छ । 
 
–––
बुबाबाट प्राप्त इनर्जी
होटल विस्तार गर्ने मेरो ‘इनर्जी’ भनेको मेरो बुबा हो ।  कुनै पनि ग्रुपको सफलता भनेको ‘लिडर’बाट हुन्छ । यदि मेरो बुबाको भिजन ठूलो हुँदैन्थ्यो भने हाम्रो पनि भिजन त्यस्तै हुन्थ्यो । हामी पनि तल नै हुन्थ्यौं, राहुलले विश्वबजारमा आफ्नो पहुँचको व्याख्या गरे ।

 
मेरो बुबाले १९९९ मा टाटाजस्तो कम्पनीसँग नेपाली कम्पनीका रुपमा साझेदारी गर्नुभयो । त्यो बेलामा कहाँ टाटा र नेपालको कम्पनी कहाँ ? त्यो भिजनबाट नै हामीलाई अघि बढ्ने प्रेरणा मिल्यो । नेपाली भनेको दुनियाँको प्लेटफर्ममा जान सक्दैन भन्ने पनि छन् ।  नेपाली कम्पनी भएर हामीलाई धेरैले कम आंकलन गरेका पनि छन् । तर त्यसलाई हामीले फरक ढंगबाट चिर्यौं राहुलले बताए । 
 
उनी भन्छन्, हामी दक्षिण पूर्वी एसियामा होटल क्षेत्रमा सबैभन्दा विविधीकरण भएर लगानी गर्ने समूह हो । ताजको पनि यतिधेरै विविधीकरण छैन । ताजको भारतमा १ सय २१ होटल छन् । हाम्रो पनि विश्वव्यापी रुपमा १ सय १५ होटल छन् । एउटा नेपाली कम्पनी भएर विश्वव्यापी रुपमा यति धेरै होटल हुनु निश्चिय पनि गौरवको विषय हो ।
ताजसँगको साझेदारीमा दुवर्इमा बन्न लागेको भिभियन्ता होटल
–––
फेरिएको मानसिक्ता
एउटा नेपालीका रुपमा काम गर्न कति अफ्ठ्यारो छ ? बिजमाण्डूको प्रश्नमा उनले भने, नेपाली भएर विश्व बजारमा काम गर्दा सहज पक्ष धेरै हुँदैनन् ।  विश्वका मान्छेले नेपालीलाई ‘अन्डरडग’को रुपमा हेरिरहेका हुन्छन् । नेपालको रंगशालाले कहिल्यै पनि म्यारोडोना जन्माउन सक्दैन । कम प्रभावशाली भएको देशबाट विश्वबजारमा जाँदा ‘डाउन अ प्वाइन्ट’ हुन्छौ । तर हामीले त्यो मानसिकतालाई परिवर्तन गर्न सक्यौ । 

 
हामीले उनीहरुसँगै बसेर प्रभावशाली भएर देखाउन सक्यौ । अल्पविकसित मुलुकको एउटा कम्पनीले विश्वबजारमा उत्कृष्ट भएको प्रमाणित नै गरिसकेका छौ । सामाजिक, आर्थिक रुपमा धेरै चुनौति हुँदाहुँदै हामीले आफ्नो व्यवसाय विस्तार गरेर देखाइदियौ, उनले आफ्नो आत्मविश्वास देखाए । 
 
अहिले मैले हस्पिटालिटीको मात्रै कुरा गररहेको छु । फूडमा हामीले अझ ठूलो विस्तार गरिरहेका छौ । व्यवसाय विस्तारमा हामीलाई कल्पना(अनएजुमिङ) गरेकोले धेरै फाइदा पुग्यो । विश्वका व्यवसायीले हामीसँग धेरै अपेक्षा नगरेकोले व्यवसाय विस्तारमा फाइदा भयो, राहुलले भने । 
 
तर लगानीका लागि स्रोत जुटाउनु पनि त समस्या होला नी ? हाम्रो प्रश्नमा उनले भने, व्यवसाय भनेको तपाईसँग के छ भन्ने होइन । जतिपैसा पनि मान्छेसँग होला तर त्यसलाई नेटवर्कसँग जोडेर पुँजीकरण गर्न सकियो भने सोचेभन्दा बढी सफलता प्राप्त गर्न सकिन्छ । 
 
मेरो बुबाको सबैभन्दा ठूलो सम्पत्ति भनेको नेटवर्क नै हो । नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ लगायतको अध्यक्ष हुँदा विभिन्न फोरममार्फत विश्वव्यापी रुपमा नेटवर्क विस्तारमा सफलता मिलेको हो । उहाँले विस्तार गर्नुभएको नेटवर्क अत्यन्तै बलियो थियो । त्यही नेटवर्कमार्फत होटल विस्तार गर्न सहज भयो । विश्वको कुनैपनि ठाउँमा नेटवर्क भएकै कारण सजिलोसँग होटलमा लगानी गर्न बाटो खुलेको हो । 
 
नेपालमा त होटल खोल्न गाह्रो छ विदेशमा झन कति गाह्रो होला ? उनले जवाफ दिए, अफ्रिकाको रुवान्डाको होटल मार्चमा खोल्न लागेका छौ । हामीले युगान्डाको ठूलो व्यवसायीसँग साझेदारी गरेर रुवान्डामा होटल खोल्दैछौ । यो एकदमै गाह्रो तर राम्रो साझेदार भेटिएमा सजिलो व्यवसाय हो । ताजकै कुरा गर्ने हो भने हाम्रो सबैभन्दा राम्रो साझेदार हो । ताजसँगको साझेदारीमा दुवईमा होटल गरिरहेका छौ । ताजसँगै मिलेर फुकेटमा होटल खोल्न लागेका छौ ।
 
सुरुवातमा एउटा नेपाली कुनै पनि कन्फ्रेरेन्समा हुँदा केही सरप्राइज हुन्थ्यो । तर केही समयमै सबैजसोले हाम्रो बारेमा थाहा पाइसकेका छन् । अहिले उनीहरुले यो क्षेत्रकै ‘लार्ज होटेलिएयर’ भनेर हेर्ने गर्छन् । यो मेरा लागि गर्बको कुरा हो । विभिन्न बहुराष्ट्रिय कम्पनीका सिईओ भएको स्थानमा म हुने गर्छु ।

मेरो बुबालाई फोब्र्सले बक्ताको रुपमा बोल्न बोलाउँछ । मलाई विश्वकै ठूलो हस्पिटालिटी सम्मेलनमा बोल्न बोलाउँछ । उनीहरुले मसँग ‘प्रस्पेक्टिभ’ देखेर सम्मेलनमा बोलाएका हुन् । विश्वमै होटलमा एम्पाएर खडा गर्ने नेपाली भनेर केही अनुभव साटासाट गर्न मलाई बोलाएका होलान, होटलमा आफ्नो सफलता उनले सुनाए । 
 

हामी नेपाली भएर पनि ‘फस्ट विलेनियर फेमली’मा पुगेकै छौ । हाम्रो भिजन भनेको होटललाई पनि सबैभन्दा ठूलो कम्पनीको रुपमा विकास गर्ने हो, राहुलले भने त्यही भिजनबाट हामी फोब्र्सको सूचीमा अघि बढिरहेका छौ । हाम्रो कम्पनीको ‘भ्यालुएसन’ समेत बढ्दो क्रममा छ । यही हिसाबले व्यवसाय पनि विस्तार भएको छ । 
 
राहुले आफ्नो फेसबुक स्टाटसमा, अब अझ बढी ‘इज इन काठमाडौं’ लेखिने बताए । म अब नेपालमै बस्न सुरु गर्छु । मेरो हस्पिटालिटी विजनेशलाई एकीकृत (कन्सोलिडेड) गर्छु । कुराको बिट मार्दै उनले भने आई वान्टु वी विलेनियर होटेलिएर इन २०२५ ।