नेपाली बजारमा भित्रियो अप्रिलियाको २४ लाखको मोटरसाइकल, लञ्च नहुँदै दुर्इ वटा बुकिङ

बिजमाण्डू
२०७२ भदौ १० गते ००:०० | Aug 27, 2015
नेपाली बजारमा भित्रियो अप्रिलियाको २४ लाखको मोटरसाइकल, लञ्च नहुँदै दुर्इ वटा बुकिङ


काठमाडौं । इटालियन ब्रान्ड अप्रिलियाको प्रिमियम सेगमेन्टको स्पोर्टस् बाइक नेपाली बजारमा भित्रिएको छ । अप्रिलिया डोर्सोड्युरो ७५० सिसीको मोटरसाइकल नेपालमा ल्याएको हो । 
 
यसको मूल्य नेपाली बजारमा २४ लाख रुपैयाँ पर्ने छ । नेपालका प्रिमियम बाइक पारखीलाई लक्षित गर्दै ‘हेभी बाइक’ ल्याइएको अप्रिलियाको आधिकारिक विक्रेता जेएनएजे इन्टरनेशनलले जनाएको छ । 


 
यो मोटरसाइकल औपचारिक रुपमा सार्वजनिक हुनु अघि नै दुईवटा बुकिङ भैसकेको र यो वर्ष १० वटा बेच्ने लक्ष रहेको अप्रिलियाका मार्केटिङ प्रमुख सन विल्सनले बताए । 
 
कम्पनीका अनुसार यसले नेपाली सडकमा प्रतिलिटर १५ किलोमिटर माइलेज दिनेछ । यसमा १२ लिटरको ट्यांकी रहेको छ । यसको सबैभन्दा उत्कृष्ट फिचरका रुपमा पावर मोड रहेको छ । स्पोर्ट, टुरिन र रेन गरी यसमा तीनवटा मोड रहेका छन् । बढी पावरमा चलाउँदा स्पोर्ट मोडमा लैजान सकिन्छ । यसको अधिकतम गती २४० किलोमिटर प्रतिघण्टा रहेको छ । 
 
कम्पनीले प्रिमियम बाइकका पारखीलाई लक्षित गर्दै एप्रिलिया डोर्सोड्युरो १२ सय सीसीमा समेत भित्राउन लागेको जनाएको छ । यसको मूल्य नेपाली बजारमा ४० लाखको हाराहारीमा पर्ने अनुमान गरिएको छ ।
 
अप्रिलियाले १५० सीसीको बाइक सार्वजनिक गरेर नेपाली बाइक बजारमा प्रवेश गरेको हो । अहिले अप्रिलियाका करिव ४० वटा बाइक नेपाली सडकमा गुडिरहेका छन् । 

Tata
GBIME
Nepal Life