भेडा पालेरै वार्षिक ५ लाख कमाउँदै म्याग्दीका कृषक, एउटै भेडाको मूल्य १५ हजार रुपैयाँसम्म

बिजमाण्डू
२०७२ भदौ १३ गते ००:०० | Aug 30, 2015
भेडा पालेरै वार्षिक ५ लाख कमाउँदै म्याग्दीका कृषक, एउटै भेडाको मूल्य १५ हजार रुपैयाँसम्म


म्याग्दी । उत्तरी म्याग्दीको लेकाली क्षेत्रमा भेडापालन गरेका कृषकले मनग्य आम्दानी गरिरहेका छन् । 

Tata
GBIME
Nepal Life

खोप्रा र खयरलेक क्षेत्रमा भेडापालन गर्दै आएका पाउद्वारका कृषकले भेडा बिक्रीबाटै वार्षिक पाँच लाख रुपैयाँसम्म आम्दानी गरेका हुन् । जनैपूर्णिमा मेला, दसैँ तिहारलगायत अन्य चाडपर्वमा ग्राहक भेडा किन्न गोठमै आउने भेडापालक कृषक सुकबहादुर तिलिजाले बताए । 

३ सय ५० भेडा पालेका तिलिजाले वर्षमा ४० वटासम्म बिक्री गर्नुहुन्छ । एउटा भेडालाई १० हजारदेखि १५ हजार रुपैयाँसम्म मूल्य पर्छ । तिलिजा वैदेशिक रोजगारी छाडेर बुबाले गर्दै आएको भेडापालन व्यवसायलाई निरन्तरता दिएको बताउँछन् ।

'विदेश गएका साथीको कमाइ पनि उस्तै भएकाले गाउँमै काम गरिरहेको छु', तिलिजाले भने, 'खाडी मुलकमा भन्दा गाउँघरकै कमाइ राम्रो लागेर भेडापालनमा सक्रिय भएको छु ।' खयर र खोप्रालेकमा ११ जना कृषकले दुई हजारभन्दा बढी भेडा पालेका छन् । 

जिल्लाका विभिन्न गाविस, बागलुङ, पोखरालगायतका क्षेत्रमा भेडा बिक्री हुने गरेको छ । विशेष गरेर जनैपूर्णिमाका दिन खयर भारानीमा लाग्ने मेलामा बलि दिन भेडाका साँढे बिक्री हुन्छन् । यस वर्षको जनैपूर्णिमामा त्यहाँका कृषकले भेडा बेचेरै ३० लाख कमाएका कृषक तुलबहादुर पुनले बताए । 

जनैपूर्णिमाको अघिल्लो दिन शुक्रबारमात्रै ३ सय वटा भेडा बिक्री भएको थियो । 'भेडा पालेर हुर्काउन सकेमा राम्रो कमाइ गर्न सकिन्छ । ग्राहक गोठमै भेडा किन्न आउँछन् । भनेजति मूल्य पनि पाइन्छ', तिलिजाले भने, 'चरनको अभाव, वन्यजन्तुबाट असुरक्षा र रोगको प्रकोपको समस्या देखिएको छ ।' 

कृषकका अनुसार चितुवा र बाघले एकै गोठका वर्षमा ४० वटासम्म भेडाबाख्रा मारेर क्षति गरेको छ । यसैगरी लेकाली क्षेत्रमा घाँस कम पलाउने र वेशीमा संरक्षित वन क्षेत्रमा चरीचरन बन्द हुँदा कृषक समस्यामा परेका छन् । लेकाली चरन क्षेत्रमा पहिलेको तुलनामा घाँस कम उम्रन थालेको र अन्य झारपात बढेको कृषकको भनाइ छ । रासस