चुक्ता पुँजी १ अर्ब मात्रै हुनुपर्ने बीमाका सञ्चालकको माग, बीमा समितिमा बुझाए फरक मत

बिजमाण्डू
२०७२ भदौ १५ गते ००:०० | Sep 1, 2015
चुक्ता पुँजी १ अर्ब मात्रै हुनुपर्ने बीमाका सञ्चालकको माग, बीमा समितिमा बुझाए फरक मत


सविन मिश्र/बिजमाण्डू
काठमाडौं । प्रस्तावित बीमा ऐनको मस्यौदामा बीमा कम्पनीको चुक्ता पुँजी १६ गुणासम्मले बढाउने प्रस्ताव बीमा समितिले गरेपछि सञ्चालकहरु त्यसको विरोधमा उत्रिएका छन् । सञ्चालकहरुले मंगलबार बीमा समितिका अध्यक्षलाई भेटेर औपचारिक रुपमै आफ्नो असहमति व्यक्त गरेका छन् भने अर्थमन्त्रीलाई पनि भेट्ने तयारी गरिरहेका छन् ।
 
बीमा कम्पनीका सञ्चालकहरुले निर्जीवन बीमा कम्पनीको चुक्ता पुँजी ४ अर्ब र जीवन बीमा कम्पनी तथा पुनर्बीमा कम्पनीको चुक्ता पुँजी ५ अर्ब पुर्‍याउने प्रस्तावको विरोध गरेका छन् । बीमा समितिका अध्यक्ष प्राडा फत्तबहादुर केसीलाई भेटेर उनीहरुले चुक्ता पुँजी १ अर्ब र २ अर्ब रुपैयाँ मात्रै बनाउन आग्रह गरेका हुन् ।

Tata
GBIME
Nepal Life

'उहाँहरुले निर्जीवन कम्पनीको चुक्ता पुँजी १ अर्ब र जीवन बीमा कम्पनीको चुक्ता पुँजी २ अर्ब रुपैयाँ गर्नुपर्छ भनेर लिखित सुझाव दिनु भएको छ,' बीमा समितिका एक अधिकारीले भने, 'हामीले अब हाम्रो हातमा केही छैन, ऐनको मस्यौदा मन्त्रालयमा पुगिसकेको छ भन्ने जवाफ दियौं ।'
 
सञ्चालकहरुले चुक्ता पुँजी वृद्धि कम गर्न आग्रह गर्नुका साथै समय बढाउन पनि आग्रह गरेका छन् । उनीहरुले चुक्ता पुँजी १ अर्बमा सिमित गर्न र वृद्धि गर्ने समय ५ वर्ष दिन पनि आग्रह गरेका हुन् । अहिले निर्जीवन बीमा कम्पनीको चुक्ता पुँजी २५ करोड र जीवन बीमाको ५० करोड रुपैयाँ रहेको छ ।
 
बीमा ऐनको मस्यौदा अहिले अर्थमन्त्रालयबाट सैद्धान्तिक स्वीकृतिका लागि कानुन मन्त्रालयमा पठाइएको छ । कानुनको स्वीकृतिपछि अर्थले ऐनको मस्यौदामा आवस्यक परिमार्जनसहित मन्त्रिपरिषदमा पठाउने छ ।
 
बीमा समितिका अध्यक्ष केसीले पनि बीमाका सञ्चालकहरुले आफूलाई भेटेपनि अब आफूहरुले केही गर्न नसक्ने बताए । 'हामीले अब केही गर्न सक्दैनौ, सबै कुरा मन्त्रालयमा पुगिसकेको छ,' उनले भने ।
 
बीमा कम्पनीका सञ्चालकहरुले प्रस्तावित नयाँ ऐनमा ७ जना सञ्चालक मध्ये २ जना स्वतन्त्र सञ्चालकको व्यवस्था गरिएकोमा पनि विरोध जनाएका छन् । उनीहरुले स्वतन्त्र सञ्चालक १ जनामात्रै हुनुपर्ने सुझाव समितिलाई दिएका हुन् । 'स्वतन्त्र सञ्चालक २ जना राख्ने विषयमा हाम्रो पनि त्रुटी भएको हो,' समितिका ती अधिकारीले भने, 'यो विषयमा मन्त्रालयबाट पुनर्बिचार हुन सक्छ ।'
 
निर्जीवन बीमा संघका तर्फबाट गएको टोलीले प्रमुख कार्यकारी अधिकृत(सिइअो) र सञ्चालकको कार्यकाल पनि बजारको अवस्था मूल्यांकन नगरी तोकिएको भन्दै त्यसमा पनि पुनर्बिचार गर्न आग्रह गरेको छ । प्रस्तावित ऐनमा सिइओ र सञ्चालकले दुई कार्यकाल भन्दा धेरै काम गर्न नपाउने उल्लेख छ ।
 
संघले मंगलबार नै अर्थमन्त्री डा रामशरण महतलाई भेट्न खोजेपनि मन्त्री महतको समय नमिलेपछि बुधबार वा विहीबार उनलाई भेटेरै आफ्नो फरक मत प्रस्तुत गर्ने तयारी गरेको छ । संघका उपाध्यक्ष कुश मल्लीले अर्थमन्त्रीलाई पनि भेटेर आफ्नो असहमति प्रस्तुत गर्ने जानकारी दिए ।