२१ दिनमा आठ रुपैयाँ उक्लियो डलर, रेमिटेन्स आयवाहेक घाटैघाटा, चीनीयाँवाहेक अन्य सामान महँगो हुने

बिजमाण्डू
२०७२ भदौ १६ गते ००:०० | Sep 2, 2015
काठमाडौं । चीनले आफ्नो मुद्रा युआनलाई अमेरिकी डलरसँगको विनिमय दर परिवर्तन गरेपछि त्यसको असर नेपाली बजारमा समेत देखिएको छ । दुई साताअघि विनिमय दर परिवर्तन गरेपछि त्यसयता नेपाली रुपैयाँ लगातार कमजोर भएको छ ।
 
विनिमय दर परिवर्तनअघि एक अमेरिकी डलरको मूल्य ९८/९९ रुपैयाँको हाराहारीमा रहेकोमा त्यसपछि क्रमश यो बढेर १०७ रुपैयाँसम्म पुगेको छ । मंगलबारका लागि राष्ट्र बैंकले एक डलरको मूल्य १०६.४८ रुपैयाँ तोकेको छ । 
 
पिपुल्स बैंक अफ चाइनाको निर्णयले युआन डलरसँग एकैदिन १.९ प्रतिशतले कमजोर भएको थियो, जुन तीन बर्षयताकै कमजोर हो । १९९४ ताका चीनले बजार विनिमय दरलाई एकीकरण गरेका बेला पनि यस्तै गिरावट देखिएको थियो ।
 
विनिमय दर परिवर्तन हुँदा डलर बलियो भएको हो । अमेरिकी डलरसँग नेपाली रुपैयाँको विनिमय दर भारुका आधारमा निर्धारण हुन्छ । १४ बर्षअघि सरकारले एक सय भारु बराबर एक सय ६० रुपैयाँ नेपाली रुपैयाँ हुने निर्धारण गरेपछि त्यही अनुसार भारु कमजोर हुँदा नेपालमा पनि डलरको मूल्य बढ्छ ।
 
दुई बर्षअघि भदौ २० गते अमेरिकी डलरको मूल्य ११० रुपैयाँसम्म पुगेको थियो । त्यसयता घटेर ९६ रुपैयाँसम्म डलरको मूल्य झरेको थियो । डलरको मूल्य लामो समयसम्म ९७÷९८ रुपैयाँको हाराहारीमा बसेको थियो । 
 
डलरको मूल्य वढ्दा विदेशमा काम गर्ने नेपालीले पठाउने पैसा रेमिट्यान्स आयमा वृद्धि हुन्छ । गत आर्थिक बर्ष ६१७ अर्ब २८ करोड रुपैयाँ रेमिटेन्स भित्रिएको थियो ।
 
डलरको वृद्धिले निर्यात व्यापारलाई राहत मिल्ने छ । बस्तु तथा सेवा विक्रीबाट हुने आम्दानीका साथै पर्यटन क्षेत्रको आयसमा समेत सुधार हुने छ । हस्तकला लगायत नेपाली समानका निकासीकर्ताको आम्दानी बढ्छ । गत बर्ष निर्यात ७.३ प्रतिशतले घटेर ८५ अर्ब ३२ करोड रुपैयाँको भएको  िथयो ।
 
डलरको मूल्य वृद्धिले जति नेपाललाई फाइदा छ त्योभन्दा वढी नोक्सान छ । आयातमा निर्भर अर्थतन्त्र भएका कारण डलरको मूल्य वृद्धिले नेपाली बजार प्रभावित हुन्छ । डलर तिरेर विदेशबाट आउने सामानको मूल्य बढी पर्ने छ । 
 
भारतबाहेकका देशबाट आउने मोटर, मोबाइल फोन, इलेक्ट्रोनिक्सका सामान, लत्ताकपडा लगायत सामान महँगो पर्ने छन् । चीनबाट आउने सामानको भाउ भने केही घट्ने छ । गत आर्थिक बर्ष ७७४ अर्ब ६८ करोड रुपैयाँको बस्तु आयात भएको थियो ।
 
सबैभन्दा वढी असर पेट्रोलियम पदार्थको आयातमा पर्ने छ । कुल आयातको २८ प्रतिशत ओगट्ने पेट्रोलियम पदार्थ आयात हुन्छ । विदेशबाट कच्चा पदार्थ ल्याएर उत्पादन गर्ने उद्योगको लागतमा वृद्धि हुने छ । उत्पादित बस्तुको लागत वृद्धि भएपछि यसको असर केही दिनमै उपभोग्य वस्तुको मूल्यमा देखिन थाल्छ । 
 
डलर वढ्दा सरकारलाई विदेशी ऋण र साँवा भुक्तानीमा अतिरित्त भार पर्छ । डलर वृद्धिले बजेट घाटा बढ्ने छ । गत बर्ष बजेट घाटा ३८ अर्ब ६२ करोड रुपैयाँ भएको थियो ।
 
सरकारले डलरमा ऊर्जा खरिद गरेको जलविद्युत् आयोजनाहरुलाई समेत वढी पैसा तिर्नु पर्ने हुन्छ । विदेशी कलेजमा पढ्न जाने, औषधि उपचार, पर्यटक भएर विदेश भ्रमण जानेहरुलाई पनि डलर वृद्धिले समस्या पार्छ । 

Tata
GBIME
Nepal Life