‘संविधान विरोधी ​आन्दोलन’ को प्रतिरोध गर्न कार्यकर्तालाई सत्तारुढ दल एमालेले दियो निर्देशन

बिजमाण्डू
२०७२ भदौ १६ गते ००:०० | Sep 2, 2015
‘संविधान विरोधी ​आन्दोलन’ को प्रतिरोध गर्न कार्यकर्तालाई सत्तारुढ दल एमालेले दियो निर्देशन

मनोज सत्याल/बिजमाण्डू

Tata
GBIME
Nepal Life

काठमाडौं । सत्तारुढ नेकपा एमालेले विभिन्न जिल्लामा 'संविधान निर्माण रोक्न भएको आन्दोलन' को प्रतिरोध गर्न जनवर्गीय संगठनहरुलाई निर्देशन दिएको छ।

आन्दोलनमा एमालेलाई 'टार्गेट' गरिएको तथा संविधान निर्माणमै अवरोध सिर्जना गर्न खोजिएको भन्दै एमालेले त्यस्ता आन्दोलनको प्रतिरोध गर्न निर्देशन दिएको हो।



एमाले पार्टी केन्द्रीय कार्यलय धुम्बाराहीमा बुधबार २० वटा जनवर्गीय संगठनका नेताहरुलाई बोलाएर एमाले अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालले 'मुकदर्शक' नबन्न निर्देशन दिएका हुन्।

'विभिन्न ठाउँमा अचाक्ली भएको छ, यस्तो अवस्थामा तपाईँहरु बैठक गरेर निर्देशन दिनुहोस्, मुकदर्शक नबन्नुहोस्, एमाले बाख्राको घाँटीमा पलाएको लुर्का होइन काम न काजको, हामी प्रभावहीन ढंगले जानु हुँदैन, एमाले छ कि छैन जस्तो देखिएको छ', ओलीले निर्देशन दिँदै भने, 'गाउँ कमिटी, जिल्ला कमिटी, अञ्चल कमिटीले वक्तव्य समेत दिँदैनन्, काममा जानुहोस्।'

तत्काल खटिन निर्देशन

ओलीले पार्टीका कार्यकता राष्ट्रिय आवश्यकताका बेला परिचालन नभए काम नलाग्ने बताए। 'कार्यकर्ता दुध दिने भैँसी त होइन, रौँ दिने बाख्रा पनि त होइन, यत्रो जनमत भएको पार्टी ट्वाँ परेको छ, टाउकोमा काग कराउँदा चुप लाग्नु हुँदैन, त्यस्तो हुनु हुँदैन', ओलीले निर्देशन दिँदै कार्यकर्तालाई तत्काल परिचालन हुन निर्देशन दिए। उनले जनवर्गीय संगठनहरुलाई बैठक डाक्ने कुनै औपचारिकतामा नलाग्न निर्देशन दिँदै तत्काल खटिन समेत निर्देशन दिए।

एमालेले साठी वर्षदेखि मधेसी, महिला र जनजातिको आवाज उठाएको तर अरुले बल्ल बोल्न थालेको भन्दै आपत्ति जनाए। बारा, पर्सा, महोत्तरीमा एमाले कार्यलयमा षड्यन्त्रपूर्वक ढंगबाट तोडफोड भएको र एमाले नेताहरुको घरलाई निशाना बनाइएको भन्दै उनले भयाबहको भ्रम छर्नेहरुलाई रोक्ने ढंगले अगाडि बढ्नुपर्ने उल्लेख गरे।

'एमाले कुनै घरपालुवा त होइन, बिरालो जस्तो, जसले जुङ्गा ताने पनि एक गाँस भातका लागि म्याउँ गर्ने', ओलीले उदाहरण दिँदै भने, 'पार्टी कार्यलय तोडफोड गर्न आए रोक्नुपर्छ, सम्झाउनुपर्छ, ४०/५० जनाले आन्दोलन गरेका छन्, एमालेले आन्दोलन गर्नु हुँदैन तर जुलुस त गर्न पाइन्छ, संविधान निर्माणका लागि।'

सीमाङ्कन आयोगले गर्न एमालेले प्रस्ताव गर्दा विभिन्न ठाउँको दुरुपयोग गरेर समेत दबाब सिर्जना गरिएको ओलीले आरोप लगाए। त्यसैले पहिला ६ प्रदेशको सीमाङ्कन गरियो', उनले भने।

जनताको सुझावका आधारमा भौगोलिक सुगमता, सुरक्षा र जनताको सुविधालाई ध्यान दिएर सात प्रदेश बनाइएको उनले बताए। पार्टी संविधान निर्माण र गणतन्त्र संस्थागत गर्न लागेको भन्दै त्यसको प्रचारप्रसार गर्न ओलीले कार्यकर्तालाई निर्देशन दिए।

भारत, चीन अमेरिका लागयतका देशका राजदुतहरुसँग आफूले कुरा गरेको उल्लेख गर्दै ओलीले उनीहरु संविधान निर्माण र स्थायीत्वको पक्षमा रहेको आफूले पाएको जानकारी दिए। तर बाहिर भने संसार नै नेपालमा संविधान बन्न नदिने गरी लागेको जस्तो गरी प्रचार गरिएको ओलीले दाबी गरे।

एमाले अहिले इन्जिन

उनले अहिले एमालेले इन्जिनको रुपमा डब्बाहरु तानिरहेको उल्लेख गर्दै धेरै अगाडि गए टुट्न सक्ने अवस्था रहेको बताए। उनले जनतासँग जोडिएर र्‍याली निकाल्न तथा कलाकारहरुलाई मादल बजाएर गाउँ जान निर्देशन दिए।

उनले विभिन्न मुलुकमा जाति र धर्मको नाममा राजनीति हुँदा हिंसा भएको उल्लेख गर्दै पछाडि परेका जाति र समुदायका निम्ति विशेष नीति, बजेट तर्जुमा गरेर अगाडि बढिने बताए। उनले चार जातिका मान्छे ओर्लँदैमा नेपाल ओर्लिएको भन्न नमिल्ने भन्दै एमालेले राष्ट्रिय ढंगले सोचेकोमा गर्ब गर्नुपर्ने जिकिर गरे। नेता तथा कार्यकर्ताहरुलाई जातीय सद्‍भावमा असर पर्ने कुनै पनि अभिव्यक्ति नदिन समेच सचेत गराएका छन्।

के भन्छन् माधव नेपाल?

एमाले नेता माधवकुमार नेपालले पनि एमालेलाई मधेसमा असफल बनाउने खेल भएको भन्दै स्थानीय पार्टी संगठनलाई सक्रिय बनाउन निर्देशन दिए। 'कार्यकर्तालाई आक्रमण हुँदा जोगाउन नसके मनोबल घट्छ, उनीहरुको परिवार जोगाउन नसके पलायन हुन्छन्', नेता नेपालले भने, 'एमालेका शुभेच्छुक, कार्यकर्ता र आम जनताको रक्षाको जिम्मा एमालेको काँधमा आएको छ।' 

'हामी मुठभेड गर्न जाँदैनौँ तर एमाले पनि मैदानमा शक्ति हो भनेर देखाउनुपर्छ', नेता नेपालले निर्देशन दिए।