काठमाडौं । नेपाल राष्ट्र बैंकले तोकेको पुँजीवृद्धि योजनाको विरुद्धमा पाँच बैंकले ‘स्ट्रङ्ग लविङ’ सुरु गरेका छन् । व्यवस्थापिका संसदको अर्थसमितिमा पुँजी वृद्धिको ‘एजेण्डा’ पुर्याएका सभासद इच्छाराज तामाङले शनिवार थप ‘लविङ’का लागि अर्थसमितिका सभापति प्रकाश ज्वालालाई होटल र्याडिसनमा भेट गरे ।
सिभिल बैंकका व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका सभासद तामाङको नेतृत्वमा सिभिल, लुम्बिनी, सेञ्चुरी, जनता र कुमारी बैंकका प्रवद्र्धक ज्वालालाई भेट गर्न होटल र्याडिसन पुगेका थिए ।अपरान्ह तीन बजेदेखि सभापति ज्वालासँग पाँच बैंकका प्रवद्र्धकले छलफलमा पुँजी वृद्धि योजनालाई पछि धेकेल्ने गरी निर्देशन जारी गर्न आग्रह गरेका थिए । अर्थ समितिका सभापति ज्वालाले शनिवार केही बैंकका प्रवद्र्धकसँग भेट भएको स्वीकार गरे ।
ज्वालाले संसद सार्वभौम भएको र केन्द्रिय बैंकलाई पुँजी वृद्धिका लागि समय थप गर्न निर्देशन दिने आश्वासन दिए
—-
—-
हो । उहाँहरु, पाँच, छ, सात बैंकका प्रवद्र्धकसँग भेट भएको थियो । उहाँहरुले पुँजी वृद्धि गर्दाका असजिलाका विषयमा छलफल गर्नुभएको थियो, ज्वालाले बिजमाण्डूसँग भने । प्रवद्र्धकहरुले पुँजी वृद्धिका लागि दिइएको समय छोटो भएको भन्दै कम्तिमा त्यसलाई पाँच वर्ष पुर्याइदिन आग्रह गरेका थिए ।
त्यसको जवाफमा ज्वालाले संसद सार्वभौम भएको र केन्द्रिय बैंकलाई पुँजी वृद्धिका लागि समय थप गर्न निर्देशन दिने आश्वासन दिएका थिए । पुँजी वृद्धिविरुद्ध तामाङ र जनता बैंकका अध्यक्ष उदय नेपाली श्रेष्ठ गरी दुई सभासदले संसदमा ‘स्ट्रङ्ग लविङ’ गरिरहेका छन् । अर्थसमितिका सभापति रहेका ज्वाला पनि एमालेका सभासद हुन् ।
पुँजी वृद्धि विरुद्ध लविङ गरिरहेका पाँच बैंकलाई दुई वर्ष भित्र तोकिएको पुँजी पुर्याउन कठिन छ ।
अहिले लुम्बिनी बैंकको चुक्ता पुँजी दुई अर्ब रुपैयाँ मात्रै छ ।
त्यसैगरी कुमारी बैंकको दुई अर्ब ४३ करोड, सिभिल बैंकको दुई अर्ब ८८ करोड रुपैयाँ चुक्ता पुँजी छ । त्यसैगरी जनता बैंकको दुई अर्ब छ करोड रुपैयाँ र सेञ्चुरी बैंकको दुई अर्ब १२ करोड रुपैयाँ छ । यी बैंकसँग चुक्ता पुँजी मात्रै होइन जगेडा कोष पनि सानो छ ।










