पुँजी बृद्धिमा राष्ट्र बैंक अडिग, गभर्नरले भने-सभासदले प्रश्न उठाउनु ‘कन्फ्लिक्ट अफ इन्ट्रेस्ट’



बिजमाण्डू
२०७२ भदौ ३० गते ००:०० | Sep 16, 2015

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवि नेपालले बैंक तथा वित्तीय संस्थाको चुक्ता पुँजी बढाउन योजनाबाट राष्ट्र बैंक पछि नहट्ने बताएका छन् ।

Tata
GBIME
Nepal Life


राष्ट्र बैंकले लामो अध्ययन पछि मात्रै पुँजी बढाउने निर्णय गरेको भन्दै नेपालले निर्णयमाथि पुनर्बिचार नहुने प्रष्ट पारेका हुन् । 'मैले मौद्रिक नीति सार्वजनिक गर्दा खल्तीबाट प्रस्ताव ल्याएको जस्तो लागेको होला,' गभर्नर नेपालले भने, 'राष्ट्र बैंकले ६/७ दिनको छलफलपछि यो निर्णय गरेको हो त्यसकारण फिर्ता हुन सक्दैन ।'

गभर्नर नेपालले संसदीय समितिमा सभासदहरुले प्रश्न उठाउनु 'कन्फ्लिक्ट अफ इन्ट्रेस्ट' भएको पनि बताए । 'मानिसको इच्छा त धेरै हुन्छन्, उसको लगानी पनि धेरै थरीमा हुन्छ,' उनले भने, 'सभासदहरुको पनि कन्फ्लिक्ट अफ इन्ट्रेस्ट हुन्छ नि !' बैंकिङ क्षेत्रको स्थायित्वका लागि आफूले यो नीति लिएको भन्दै नेपालले आफूले पुनर्बिचार नगर्ने पनि प्रष्ट पारे ।

'यसमा अवरोध गर्नु वित्तीय क्षेत्रको सुधारको गतिलाई रोक्नु हो,' उनले भने, 'राष्ट्र बैंकले दीर्घकालीन सोचका साथ नीति अगाडि सारेको हुन्छ त्यसकारण यसलाई रोक्न खोज्नु हुन्न ।'

नेपाल आर्थिक पत्रकार समाजको नवनिर्वाचित कार्यसमितिसँगको भेटमा गभर्नर नेपालले संसदीय समितिमा भइरहेका छलफलका बेला आफू विदेशमा भए पनि त्यसबारेमा अपडेट भएको भन्दै डेपुटी गभर्नरहरुले केन्द्रीय बैंकको नीति अनुसार नै संसदीय समितिमा धारणा राखेको बताए ।

पुँजी वृद्धिका विषयमा केन्द्रीय बैंकमा निकै गम्भीर र गोप्य छलफल भएको भन्दै उनले पुँजी बढाउने विषय आफूले परिवारका सदस्यसँग पनि नभनेको दावी गरे । 'मैले घरमा पनि यो कुरा भनिन, यो कुरा बाहिर गएको भए सेयर बजारम ठुलो चलखेल हुन सक्थ्यो,' उनले भने, 'सेयरमा मेरो लगानी छैन, बैंकहरुको पुँजी बढाउने विषयले व्यक्तिगत रुपमा मलाई कुनै फाइदा हुँदैनथियो तर मैले राष्ट्रका लागि यो निर्णय लिएको हुँ ।'

नेपाल राष्ट्र बैंकले गत साउनमा मौद्रिक नीति सार्वजनिक गर्दै वाणिज्य बैंकहरुको २ वर्षमा पुँजी ८ अर्ब पुर्या उने निर्णय गरेको थियो । यो विषयमा बैंकमा लगानी गरिरहेका सभासदले संसदीय समितिमा समेत छलफल गराएका थिए । संसदीय समितिमा छलफल हुँदा विदेशमा रहेका गभर्नरले त्यसपछि पहिलो पटक औपचारिक रुपमा मुख खोलेका हुन् ।