मार्केट डेप्थ, सेयर बजार र प्रविधि, नीरव पुडासैनीको लेख

बिजमाण्डू
२०७२ असोज ७ गते ००:०० | Sep 24, 2015
मार्केट डेप्थ, सेयर बजार र प्रविधि, नीरव पुडासैनीको लेख
सर्वाधिक उच्च अंकमा पुगेको नेप्सेमा आपुर्ति कम मनोविज्ञान र यसको साथै राष्ट्र बैंकको सुझबुझ सहितको साहसीक निर्णयले काम गरेको देखिन्छ । जुन स्वभाविक पनि हो । बजार पुँजीकरणको हिसाबले १२ खर्बभन्दा केही माथि पुगिसकेको हाम्रो पुँजीबजारमा थप पुँजी यसै  बर्ष बृद्घि हुँदैछ । तसर्थ लगानीकर्ताहरुको हितलाई ध्यानमा राख्दै  नितिगत तहमा केही निर्णयहरु गर्न अब ढिला गर्नु हुन्न ।

Tata
GBIME
Nepal Life

१२ खर्बभन्दा माथिको पुँजीकरण भएको बजारमा कारोवार गर्ने लगानीकर्ताहरु सामु वित्तीय तथ्याङ्क र राजनितिक फन्डामेन्टल बाहेकका अरु औजार छैन भनेर भन्दा अन्यथा नहोला । तर वास्थविकता यही हो । कतै च्याखेथापे सरह कारोवार गरिरहेका त छैनौं हामी ?  यहाँ सम्म कि हाम्रा आमलगानीकर्ताहरु बजारको साधारण माग र आपुर्तिको चाप कति छ भनेर जान्नबाट पनि बन्चित देखिन्छन् ।

साधारणतया खरिदकर्ता र बिक्रीकर्ताको अनुमान वा भनौ प्रष्ट संख्या जान्ने आधार भनेको मार्केट डेप्थ हो । बजारमा पर्याप्त तरलता छ कि छैन भनेर जान्न पनि यसको अध्ययन गर्नु पर्ने हुन्छ । जुन हाम्रा लगानीकर्ताहरुले गर्न पाइरहेका देखिँदैन । मार्केट डेप्थमा आम लगानीकर्ताहरुको पहँुच हुनु उनीहरुको अधिकार हो । बजारको तरलता अनि माग र आपूर्तिबिचको दुरीले मूल्य निर्धारण गर्न सहयोग गर्छ । मार्केट डेप्थलाई दुई भागमा बिभाजन गरेर हेरीन्छ, एक विक्री गर्न इच्छुकहरुको प्रतिशत अर्को खरिद गर्न चाहनेहरुको प्रतिशत । यसरी दुई लगानीकर्ताहरुको मूल्यको आधारमा बजारमा म्याचिङ गरिन्छ र कारोवारलाई राफसाफ गराइन्छ । तसर्थ त्यस्तो मार्केट डेप्थको अध्ययन आम लगानीकर्ताहरुले गर्न पाए भने बजारमा अनाधिकृत रुपमा फैलाएको हल्लाबाट आम लगानीकर्ताहरु जोगिन सक्छन्  ।

हालको उदाहरणबाट पनि यो प्रष्ट हुन्छ । हिजो आज राष्ट्र बैंकले बैंकहरुलाई पुँजी बृद्घि गर्न दिएको निर्देशनको आधारमा, बैंकहरु एक आपसमा गाभीने अपुष्ट र भ्रामक समाचारहरुको आधारमा बजारमा रहेको सुचिकृत सेयरहरुको मूल्यलाई  अनावश्यक बढाउने घटाउने प्रयत्न भहिरहेको देखिन्छ । यदि यस्तो अवस्थामा मार्केट डेप्थमा आम लगानीकर्ताहरुको पहुँच भएको भए, यस्ता निराधार हल्लाहरुबाट आम लगनीकर्ताहरु सर्तक हुन सक्थे । यसको साथै आम लगानीकर्ताहरुले मार्केट डेप्थको माध्यमबाट समर्थन (सपोर्ट) र प्रतिरोध (रेसिस्टेन्ट) को आँकल पनि गर्न सक्छन् । जसको सिधा असर  उनीहरुको कारोवारमा निश्चित पनि सकारात्मक रुपमा पर्नेछ ।

जब मार्केट डेप्थको माध्यम बाट लगानीकर्ताहरुले विक्री चाप र खरिद चापको अनुपात पत्ता लगाउँछन् । त्यस अनुरुप लगानीकर्ताहरुले धेरै सरल प्रकृया मार्फत बजारको समर्थन मूल्य पाउँछन्, जब खरिदकर्ताको चाप बजारमा धेरै हुन्छ र उनीहरु पनि बजारको समर्थन विन्दुलाई सजिलै पहिल्याउँछन् । यसको साथै मार्केट डेप्थमा उल्लेख भएको मूल्यको आधारमा पनि बजारको अनुमान गर्न लगानीकर्ताहरुलाई सजिलो हुन्छ ।

नेप्सेको पुँजीकरण १२ खर्बभन्दा माथि क्रमिक रुपमा पुग्नु हाम्रो अर्थतन्त्रको लागि लाभदायक नै हुन्छ । अर्थतन्त्रको ऐनाको रुपमा हेरीने धितोपत्र बजारको बिकास र आधुनीकरण चाँही शुन्य गतिमा चल्नु भनेको त्यही अर्थतन्त्रलाई उल्टो बाटोमा हिडाउनु नै हो भन्दा फरक पदैन । हिजो आज नियोजित रुपमा पुँजी बजारलाई कमजोर बनाउने खेलहरु भहिरहेको देखिन्छ । चाहे त्यो राष्ट्र बैंकको निर्णयलाई राजनितिक आडमा उल्टाउने प्रयास युक्त खेल होस् । वा विना ठोस निर्णय र अध्ययन धितोपत्र दलालले उठाउने दलालीमा भ्याटको भार लगाउने अपुष्ट निर्णय युक्त हल्ला होस् । यि र यस्ता निर्णयहरु अथवा भनौं हल्लाहरुले बजारलाई थप कमजोर त गर्छनै यसको अलावा केही गर्ने सुझबुझ र अध्ययनका साथ भित्रिएका युवा लगानीकर्ताहरुलाई हतोस्साहीत गरिदिन्छ । नियामक निकायहरुमा बसेकाहरु थप प्रष्ट हुन जरुरी छ, उनिहरु के चाहन्छन् यस बजारलाई कुन गतिमा लिएर जान चाहन्छन् ।

प्रविधिका सन्दर्भमा विश्व पुँजि बजारले धेरै फट्को मारिसकेको छ, तर हामी हाम्रा लगानीकर्ताहरुलाई कारोवार गर्न चाहिने न्युनतम सुचना, आधारहरु लुकाइ राखेका छौं । प्राविधिक रुपमा मार्केट डेप्थको उपलब्धता आम लगानीकर्ताहरु लाई गराउनु आजको प्राविधिक युगमा त्यती ठूलो कुरो होइन । तर किन यस किसिमको अवसरहरुबाट बन्चित गरिदै छ , यसको उत्तर नियामकहरुले दिन पर्छ । यति मात्र होइन, प्रविधिको हिसावले १२ खर्बको पुँजीकरण भएको बजारका लगानिकर्ताहरुलाई सुलभ र्टेडिङ, प्लाटर्फम उपलब्ध  गराउन किन कन्जुसाई गरिदै छ । के हाम्रा लगानीकर्ताहरु सधै दलाल मार्फत अनि दलालले इच्छाएको मूल्यमा नै कारोवार गर्न सधै बाध्य हुनु पर्ने हो ? के काठमाडौं बाहिरका लगानीकर्ताहरु सानो तिनो कामको लागी धाएर सधैं काठमाडौं आउनु पर्ने हो ? यति ठुलो पुँजीकरण भएको बजारको लागी ब्यक्तिगत टेडिङ प्लाटफर्मको सुरुवात गर्नु ठूलो कुरो होइन । यदि यस्तो हुन सकेमा आम लगानिकर्ताहरु आ—आफ्नो स्थानमा बसेर दलाल मार्फत आफ्नो कारोवार आफैं गर्ने सक्थे । यो धेरै ठूलो कुरो होइन । यसको प्रत्यक्ष सकारात्मक असर हामो बजारमा सिधै पर्छ । यदि यस किसिमको कारोवारको थालनी गर्न सकियो भने , सर्वसाधरण लगानीकर्ता देखी सरकारी राजस्व सम्म सबै ठाउँमा सकारात्मक प्रभाव पर्छ ।

समग्रमा धितोपत्र बजारको हितको लागी अबिलम्ब नयाँ प्रविधिको सहयोग लिनु अत्यावश्यक भहि सकेको देखिन्छ ।