पाँच हजार बढी गाडी भारतीय भूमिमा अलपत्र, भारततर्फ ३० किलोमिटरसम्म लाम, जाँचपास भएन

बिजमाण्डू
२०७२ असोज १० गते ००:०० | Sep 27, 2015
पाँच हजार बढी गाडी भारतीय भूमिमा अलपत्र, भारततर्फ ३० किलोमिटरसम्म लाम, जाँचपास भएन

लुम्बिनी (रुपन्देही) । नेपालको जारी संविधानप्रति असन्तोष पोख्दै आएको भारतले पछिल्लो समय नेपाल–भारत सीमा नाका बेलहिया ठप्प पारेको छ ।
  
जसका कारण भारतका विभिन्न स्थानबाट माल लिएका ट्रकहरु भारतीय बजार सुनौली ३० किलोमिटर टाढासम्म लामबद्ध भएका छन् । भारतीय भन्सारले सामान लिएर नेपाल आउन लागेका ट्रकमा समयमै सामान जाँचपास नगरिदिँदा भारतमा अलपत्र परेका हुन् ।

Tata
GBIME
Nepal Life

 

भारतीय पक्षले सुरक्षाका नाममा घन्टौँसम्म एउटै गाडीमाथि गरिएको चेकजाँचले सीमा नाका सुनौलीमा अघोषित रुपमा नाकाबन्दीको आभाष गराएको नेपाली भन्सार अधिकारीहरुले जनाएका छन् । भारतबाट नेपाल भित्रने मालबाहक ट्रक नेपाल प्रवेश गर्न नपाउँदा राज्यलाई अहिलेसम्म अर्बौं रुपैया नोक्सानी परेको छ भने समग्र क्षेत्र तहसनहस भएको बेलहियास्थित भैरहवा भन्सार कार्यालयका प्रमुख लावण्य ढकालले जानकारी दिए ।
 
भारतीय सुरक्षाकर्मीहरूले सुनौली नाका हुँदै रुपन्देहीको बेलहिया भएर नेपाल प्रवेश गर्ने फलफूल, तरकारी र मार्बलका गाडीबाहेक अन्य अत्यावश्यक सामानसहितका मालबाहक गाडी नेपाल आउन दिएका छैनन् ।
 
भारतीय पक्षले तीन दिनअगाडि बेलहिया भन्सार कार्यालयमा आएर भन्सार काटिएका पेट्रोलिएम पदार्थ लिएर बेलहियास्थित भन्सार कार्यालयको गेट अगाडि आएका गाडीसमेत फिर्ता लगेर गएको भन्सार प्रमुख ढकालले जानकारी दिए ।
 
बेलहिया नाकामा आएका पेट्रोलियम पदार्थ, ग्यास र खाद्यान्न नेपाल जान नदिने भन्दै सीमा सुरक्षा बल एसएसबीले भारततर्फ फर्काएको उनले बताए । भारतको बैतालपुरबाट ग्यास र पेट्रोलियम पदार्थ बोकेका नेपाल आयल निगमका ९४ वटा ट्याङ्करसमेत नेपाल प्रवेशमा रोक लगाइएपछि अलपत्र अवस्थामा रहेको उनले बताए ।
 
दैनिक करिब ३५० देखि ४०० मालबाहक गाडी आउने सुनौली नाकाबाट अहिलेसम्म १५/२० वटा गाडी मात्र नेपाल प्रवेश गरेका छन् । जसमा चारवटा खाली थिए भने दुईवटा मार्बल, दुईवटा टायल, पाँचवटा फलफूल र केही तरकारीका गाडी रहेको प्रमुख ढकालले जानकारी दिए । रासस