रसुवागढी नाका केही दिनमै खुल्ने, नेपालतर्फ सबै तयारी सकियो, चिनमा पहिरो तीन दिनमा हटाइने

बिजमाण्डू
२०७२ असोज १० गते ००:०० | Sep 27, 2015
रसुवागढी नाका केही दिनमै खुल्ने, नेपालतर्फ सबै तयारी सकियो, चिनमा पहिरो तीन दिनमा हटाइने

सविन मिश्र/बिजमाण्डू

Tata
GBIME
Nepal Life

काठमाडौं । पहिरोले अवरुद्ध चीनतर्फको रसुवागढी नाका खोल्ने तयारी अन्तिममा पुगेको छ । नेपालतर्फ यो नाका सञ्चालन गर्न सबै तयारी पुरा भएपनि चीनको भागमा पहिरो गएपछि नाका खुल्न केही ढिलाइ भएको हो ।
 
नेपालमा सामान आयात गर्न वैकल्पिक मार्गका रुपमा हेरिएको यो नाका सञ्चालन गर्न चीनले नै जोड दिँदै आएको थियो । चिनियाँ भूभागमा गएको पहिरो हटाउने काम तीव्र रुपमा भइरहेको र छिट्टै नाका खोल्ने जवाफ चीनले नेपाललाई दिएको छ ।
 

'चिनियाँ भूभागमा पहिरो गएकाले बाटो अवरुद्ध भयो, उनीहरुले तीव्र रुपमा काम भइरहेको र छिट्टै नाका खोल्ने जानकारी मलाई दिएका छन्,' वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव ङइन्द्रप्रसाद उपाध्यायले बिजमाण्डूसँग भने, 'सोमबार विहान म फेरि दूतावासबाट यसको अपडेट लिन्छु । उनीहरुले सकेसम्म छिटो गर्छौं भनेका छन् ।'
 
रसुवागढी आउने चीनतर्फको नागबेली खण्डमा पहिरो गएको र एउटै पहिरोले बाटोको चार ठाउँमा क्षति पुर्‍याएकाले नाका खोल्न कठिनाइ भएको उनले जानकारी दिए । 'बाटो बन्ने बित्तिकै हामी सामान पाठउछौं भनेर उनीहरुले भनेका छन्,' उपाध्यायले भने, 'पहिले त बाटो बनाइसक्नु पर्‍यो अनि मात्रै सामान ल्याउन सकिएला ।'
 
रसुवागढी भन्सार कार्यालयले भने चीनबाट सामान आए जाँच पास गर्न कुनै समस्या नभएको जनाएको छ । भन्सार प्रमुख केदार पनेरुले चीनले जति सामान पठाए पनि जाँचपास गर्न सक्ने अवस्थामा आफूहरु रहेको जानकारी दिए ।
 
'हाम्रोतर्फ अब कुनै समस्या छैन, बाटोमा भएका समस्या पनि समाधान गरेका छौं,' पनेरुले बिजमाण्डूसँग भने, 'चीनले जति गाडी पठाए पनि काम गर्न सक्ने अवस्थामा अब भन्सार कार्यालय छ । सामान आए काठमाडौं पठाउन सक्छौं ।'
 
आइतबार रसुवाका सुरक्षा प्रमुखसहित भन्सार कार्यालयका प्रतिनिधिको बैठक बसेको थियो । यो बैठकले भन्सार तत्लका सञ्चालनमा ल्याउने र अवरोध हटाउन सबै मिलेर लाग्ने निर्णय गरेको थियो ।
 
'रसुवागढीबाट काठमाडौंसम्म बाटो सधैं सञ्चालनका लागि जलविद्युत आयोजनाको स्काभेटर तयारी अवस्थामा राख्ने र नुवाकोट खण्डको बाटोको जिम्मा सडक विगभाले लिएर काम गर्ने निर्णय भएको छ,' पनेरुले भने, 'अहिले बाटोमा कुनै समस्या छैन । एकदुई ठाउँमा भएका अवरोध पनि हटाइसकेका छौं ।'
 

रसुवागढी नाकामा चीनले बनाएको भन्सार कार्यालय
 
उनले नेपालतर्फको बाटोको बारेमा चिनियाँ पक्षलाई जानकारी गराइएको पनि बताए । स्थानीयस्तरमा समस्या नरहेकाले अब वाणिज्य मन्त्रालयले चीनसँग छलफल गरी सामान आयात थाल्नुपर्ने उनले बताए ।
 
भारतले नेपालमा सामान आउने सबै नाका बन्द गरेपछि चीनबाट सामान आयात गर्न सकिने नयाँ नाकाको खोजी भइरहेको थियो । सिन्धुपाल्चोकको तातोपानी नाका भूकम्पका कारण बन्द भएपछि रसुवागढी खुलाउन चीन र नेपाल दुवै पक्षले पहल गर्दै आएका थिए ।
 
यो नाका खुलेसँगै चिनियाँ भूमीबाट १ सय ५० किलोमिटर दूरीमा काठमाडौं सामान आइपुग्छ । रसुवागढीमा टेलिफोनको समस्या भएपछि नेपाल टेलिकमले सोमबार सिडिएमए मोवाइलको टावर स्थापनाको काम थाल्ने भएको छ ।