एमाले नेतृ विद्यादेवी भण्डारी राष्ट्रपतिमा विजयी, भण्डारीको ३ सय २७ र कुलबहादुर गुरुङको २१४ मत

बिजमाण्डू
२०७२ कात्तिक ११ गते ००:०० | Oct 28, 2015
एमाले नेतृ विद्यादेवी भण्डारी राष्ट्रपतिमा विजयी, भण्डारीको ३ सय २७ र कुलबहादुर गुरुङको २१४ मत


मनोज सत्याल/बिजमाण्डू
काठमाडौं । नेकपा एमाले उपाध्यक्ष विद्यादेवी भण्डारी नेपालको राष्ट्रपति निर्वाचित भएकी छन्।

Vigo
GBIME
Tata

बुधबार संसदमा भएको निर्वाचनमा उनले नेपाली कांग्रेसका उम्मेदवार कुलबहादुर गुरुङलाई हराउँदै नेपालको दोश्रो राष्ट्रपति निर्वाचित भएकी हुन्। उनी नेपालको राष्ट्रप्रमुख हुने पहिलो महिला पनि हुन्।

बुधबार साँझ भएको संसद बैठकमा सभामुख ओनसरी घर्तीले राष्ट्रपति निर्वाचनको मत परिणाम सार्वजनिक गर्दै भण्डारी निर्वाचित भएको घोषणा गरेकी हुन्। भण्डारीले ३ सय २७ मत प्राप्त गरेर विजयी भएकी हुन्।

संसदमा ५ सय ४९ जनाले मतदान गरेका थिए भने ८ मत बदर भएको थियो।

भण्डारीलाई उनको पार्टी नेकपा एमालेसँगै सत्ता गठबन्धनमा रहेका एकीकृत नेकपा माओवादी, राप्रपा नेपाल, मधेशी जनाधिकार फोरम लोकतान्त्रिक, राप्रपा, नेकपा माले लगायतका दलले मतदान गरेका थिए। राष्ट्रपति पदका अर्का प्रत्याशी नेपाली कांग्रेसका केन्द्रीय सदस्य कुलबहादुर गुरुङले भने २ सय १४ मत पाएका थिए।

२०३५ सालमा तत्कालीन नेकपा (माले) निकट युवा लिगबाट राजनीतिक यात्रा सुरु गरेकी ५४ वर्षीया भण्डारी नेपालको दोस्रो र पहिलो महिला राष्ट्रपति बनेकी हुन्। भोजपुरको मानेभन्ज्याङ गाविस वडा नम्बर २ मा जन्मिएकी भण्डारी नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारीकी पत्नी हुन्। नेकपा एमालेकी उपाध्यक्ष भण्डारी २०५४ सालमा जनसंख्या तथा वातावरण मन्त्री र २०६७ सालमा रक्षा मन्त्री बनेकी थिइन्।