साउदी अरवमा लागु भयो तलब सम्वन्धी नयाँ व्यवस्था, ६ लाख नेपाली कामदार लाभान्वित हुदै

बिजमाण्डू
२०७२ कात्तिक १८ गते ००:०० | Nov 4, 2015
साउदी अरवमा लागु भयो तलब सम्वन्धी नयाँ व्यवस्था, ६ लाख नेपाली कामदार लाभान्वित हुदै

एनपी  प्रधान
साउदी अरब । साउदी अरबमा कार्यरत कामदारका लागि साउदी सरकारले श्रम संरक्षण योजनाअन्र्तगत तलबसम्बन्धी नयाँ व्यवस्था सार्वजनिक गरेको छ ।
 
साउदी अरबको श्रम मन्त्रालयले तीन हजार ५९५ निजी कम्पनीमा कार्यरत झण्डै चार लाख पाँच हजार ५९० कामदारको तलब सुनिश्चततालाई लक्षित गरी सो व्यवस्था सार्वजनिक गरेको हो ।
 
यो योजना सार्वजनिक गरिएसँगै साउदी अरबमा रोजगारीका लागि आएका झण्डै छ लाख नेपाली कामदार लाभान्वित हुने आशा गरिएको छ । तलब पाउन नसकेका र सम्झौता अवधि सकिएर पनि स्वदेश फर्किन नपाएका नेपाली कामदारका लागि यो व्यवस्थाले राहत पुग्ने विश्वास लिइएको छ ।
 
निजी कम्पनीमा कार्यरत कामदारले निश्चित समयमै तलब पाउने गरी ल्याइएको यो व्यवस्था लागू गर्न सरकार प्रतिबद्ध रहेको साउदीका श्रम निरीक्षण तथा वातावरण विकास मन्त्री अब्दुल्लाह अबुले बताए।
 
सार्वजनिक गरिएको नयाँ व्यवस्थाअनुसार सबै निजी कम्पनीले आफ्ना कामदारलाई समयमै तलव भुक्तान गर्नुपर्ने अरब न्यूजमा प्रकाशित समाचारमा उल्लेख गरीएको छ । यो व्यवस्थाले रोजगारदाता कम्पनी र कामदारका बीचमा देखिएको समस्या समाधान गर्ने विश्वास लिइएको छ ।
 
यो व्यवस्थाको उल्लङ्घन गर्ने कम्पनीलाई प्रतिकामदारका आधारमा तीन हजार साउदी रियल जरिवाना गरिने बताइएको छ । नयाँ नियमअनुसार कामदारलाई निरन्तर तीन महिनासम्म तलबभत्ता उपलब्ध नगराएको खण्डमा कम्पनी बन्दसमेत गरिनेछ र उक्त कम्पनीमा कार्यरत कामदारले स्वतः अन्य कम्पनीमा काम गर्न पाउनेछन् ।
 
यो व्यवस्था दुई महिनापछि सबै निजी कम्पनीमा लागू हुने भएकाले आफ्नो कम्पनीमा कार्यरत कामदारको विवरण पठाउन मन्त्रालयले आग्रह गरेको छ । रासस

Tata
GBIME
Nepal Life