उद्योगबाटै तेलको कालोबजारी, एकै दिन उत्पादन भएको तेलको मूल्य पनि फरक

बिजमाण्डू
२०७२ कात्तिक २४ गते ००:०० | Nov 10, 2015
उद्योगबाटै तेलको कालोबजारी, एकै दिन उत्पादन भएको तेलको मूल्य पनि फरक
विज्ञान अधिकारी/बिजमाण्डू
काठमाडौं । भारतबाट कच्चा पदार्थ नआएको मौका छोपी केही उद्योगले खाने तेलको मूल्य दोब्बर पारेका छन् । ती उद्योगले ट्याक्सीको मिटरजस्तै खानेतेलको मूल्य दैनिक बढाइरहेका छन् ।
 

Tata
GBIME
Nepal Life

मुलुकमा रहेको १६ ठूला खाने तेल उद्योगमध्ये अधिकांशको रक्सौंल नाकामा कच्चा पदार्थ रोकिएको मौका छोपी मूल्य वढावढमा बिक्री गरेका हुन् । १६ उद्योगमध्ये अहिले विराटनगर र भैरहवाका तीन वटा उद्योग मात्रै संचालनमा छन् । बाँकी ठप्प छन् ।
 
बिजमान्डूलाई प्राप्त प्रमाणका आधारमा एक महिना अघिसम्म केएल दुगड ग्रुपको खानेतेलको मूल्य दोब्बर पारिएको छ । यो कम्पनीले एकै दिन उत्पादन भएका तेलको मूल्य पनि फरक फरक राखेको छ । सनफ्लो ब्रान्डको सनफ्लवार तेलको मूल्य प्रतिलिटर २ सय ३५ रुपैयाँ पुगेको छ, जबकी त्यही दिन उत्पादन गरिएको अर्को प्याकेटमा मूल्य १९५ रुपैयाँ ५ ।
 
नाकाबन्दी अघि यो ब्रान्डको तेलको मूल्य  प्रतिलिटर १ सय २५ रुपैयाँ मात्रै थियो । यही कम्पनीको धारा हेल्थ सनफ्लवार तेलको मूल्य २ सय ७० रुपैयाँ कायम गरेको छ । एक महिनाअघि यो तेलको मूल्य १ सय ७० रुपैयाँ थियो । धारा तोरीको तेलको मूल्य १ सय ८० बाट बढेर २ सय ८० रुपैयाँ प्रतिलिटर कायम गरिएको छ । उद्योगमा कार्यरत कर्मचारीका अनुसार दैनिक उत्पादन हुने तेलको मूल्य फेरिने गरेको छ ।

‘दैनिक तेल उत्पादन हुँदा खोलमा अधिकतम बिक्री मूल्य फेरिने गरेको छ । उद्योगले अभावको मौकामा मूल्य दैनिक रुपमा बढाएर प्याकिङ गरिरहेको छ,’ ती कर्मचारीले भने, ‘मुलुकमा यस्तो संकटमा परेको बेलामा देखादेखी लुट्ने काम भएको छ ।’ यो विषयमा बुझ्न खोज्दा केएल दुगड समूहकका संचालक विकास दुगडले प्रतिक्रिया दिन चाहेनन् ।
 
‘मलाई सन्चो नभएकोले कुरा गर्न सक्दिन,’ उनले बिजमान्डूसँग भने, ‘म क्षमा माग्छु अहिले केही कुरा गर्नसक्ने अवस्थामा छैन ।’
 
भारतको अघोषित नाकाबबन्दीपछि विरगञ्जमा रहेको उद्योगको कच्चा पदार्थ रक्सौंलमै रोकिएको छ । ती उद्योगको उत्पादन ठप्प भएपछि विराटनगर र भैरहवामा रहेको उद्योगले तेल उत्पादन गरिरहेका छन् । ठूला खानेतेल उद्योग विरगञ्जमा बढी छन् । नेपाल वनस्पती घीउ उत्पादक संघका अनुसार ८० प्रतिशत उद्योग वारा–पर्सा औद्योगिक कोरिडरमा छन् ।
 
मधेश आन्दोलनका समयमा वारा–पर्सा औद्योगिक कोरिडरका उद्योगको समेत उत्पादन हुँदा तेलको मूल्य स्थिर रहेको थियो । ती उद्योगको उत्पादन ठप्प भएपछि यो समूहले दैनिक रुपमा तेलको मूल्य बढाएर थोक बिक्रेतालाई बिक्री गर्न थालेको हो । यो समूहको काठमाडौंको जडीवुटीमा डिपो रहेको छ । विरगञ्जको उत्पादन कम हुन थालेपछि त्यही डिपोमा खुद्रा मूल्य भन्दा बढी पैसा लिएर थोकलाई तेल बिक्री गरेको थियो ।
 
‘एमआरपीको मूल्य भन्दा बढी मूल्य हामीसँग उद्योगले लिने गरेको थियो । तर विल भने एमआरपी बराबरको मात्रै दिने गरेको थियो,’ एक थोक बिक्रेताले बिजमान्डूलाई भने, ‘उद्योगले तेल प्रर्याप्त भएपनि कम मात्रै दिएर अभाव भएको देखाइरहेको थियो । तर अहिले उद्योगले दैनिक रुपमा तेलको मूल्य बढाएर बिक्री गरिरहेको छ ।’  ती व्यापारीका अनुसार तेलको अभाव देखाएर महँगो मूल्यमा बिक्री गर्ने योजना उद्योगीहरुले बनाएको र उनीहरु त्यसमा सफल भएका छन् । तेल किन्न गएका व्यापारीलाई एडभान्समा पैसा भुक्तानी गरे मात्रै दिने गरेको उनले बताए ।
 
अन्तर्राष्ट्रिय बजारमा स्थिर
तेलको मूल्य बढ्नुमा कुनै अन्तर्राष्ट्रिय कारण देखिदैन । नेपालमा रिफाइन हुने तेलको ८० प्रतिशतभन्दा बढी कच्चा पदार्थ मलेसिया, अर्जेटिना लगायतका मुलुकबाट आउने गर्छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा पदार्थको मूल्य बढेको छैन । यो समयमा अमेरिकी डलरको भाउमा पनि कुनै वृद्धि भएको छैन ।
 
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य नबढ्दा यहाँ किन बढ्यो छ ? विरगञ्जका तेल उद्योगीहरु कम आपूर्ति हुँदा मूल्य बढ्नु स्वभाविक भएको बताउँछन् ।
 
‘९० प्रतिशत उद्योग बन्द भएपछि सामानको अभाव भयो । यही मौकामा केही उद्योगीले मूल्य बढाएर बिक्री गर्न थाले,’ ती उद्योगीले नाम नबताउने शर्तमा भने, ‘असमान्य परिस्थितीमा कुनै उद्योगीका लागि चाँदी कटाई भइरहेको छ । उनीहरुले अस्वभाविक नाफा कमाइरहेका छन् ।’
 
 नाकाबन्दीका कारण तेल आपूर्तिमा समस्या हुँदा अतिरिक्त लागत भने लाग्ने गरेको छ । ती व्यवसायीका अनुसार नाकाबन्दीका कारण डिजेलको अभाव भएको भन्दै ढुवानी व्यवसायीले भाडा तेब्बर सम्म बनाएका छन् । विराटनगरदेखि काठमाडौंसम्मको ट्रकको भाडा तेब्बर बढेको छ ।
 
नाकाबन्दीका कारण केही समय कच्चा पदार्थ बोकेका कन्टेनर भारतीय सीमामा रोकिँदा अतिरिक्त शुल्कका कारण लागत महँगो भएको छ । तर यही कारणले तेलको मूल्य दोब्बर हुन नपर्ने ती उद्योगी बताउँछन् ।
 
‘यी सबै कारणले एक लिटर तेलको मूल्य अधिकतम बढे एक लिटरमा ५० रुपैयाँसम्म बढ्ला तर यहाँ हाकाहाकी दोब्बर मूल्यमा थोक बिक्रेतालाई बिक्री गरिरहेको छ,’ ती उद्योगीले भने, ‘यो भनेको अभावमा बढी मुनाफा कमाउने तरीका मात्रै हो ।’
 
सरकारी निकाय मौन
कुनै एउटा उद्योगले दैनिक ट्याक्सीको मिटर जस्तो गरी तेलको मूल्य बढाउँदा समेत अनुगमन गर्ने निकाय मौन रहेर बसेको छ । वाणिज्य विभागका अधिकारीहरुले जडीवुटीमा रहेको डिपोमा पुगेर अनुगमन नगरी फर्किएको स्रोतले बतायो ।
 
‘आइतबार विभागका कर्मचारी आउनुभएको थियो । तर उहाँहरु लड्डु खाएर फर्किनुभयो,’ त्यही कार्यरत उद्योगका एक कर्मचारीले भने, ‘यस्तो अवस्थामा उपभोक्ताले सर्वसुलभ मूल्यमा सामान पाउने कल्पना पनि गर्न सकिदैन ।’