कामदारको अधिकारका लागि मानवअधिकार आयोगले कतारको मानवअधिकार समितिसँग गर्‍यो समझदारी

बिजमाण्डू
२०७२ कात्तिक ३० गते ००:०० | Nov 16, 2015

काठमाडौँ। राष्ट्रिय मानवअधिकार आयोग र राष्ट्रिय मानवअधिकार समिति कतारबीच नेपाली आप्रवासी कामदारको अधिकार संरक्षणका लागि समझदारीपत्रमा हस्ताक्षर भएको छ । 
 
समितिको आमन्त्रणमा आयोगका अध्यक्ष अनुपराज शर्माको नेतृत्वमा अधिकृतद्वय कमल थापा क्षेत्री र कल्पना झासहितको तीन सदस्यीय टोली यही कात्तिक २८ गते कतार पुगेको थियो । सोही अवसरमा सोमबार उक्त सम्झौता भएको हो ।
 
आप्रवासी नेपाली कामदारको अधिकार संरक्षणका सम्बन्धमा द्विपक्षीय सहयोग आदानप्रदानका सम्बन्धी समझदारीपत्रमा आयोगका अध्यक्ष शर्मा र समितिका अध्यक्ष डा अलिविन अलमारीले हस्ताक्षर गरेको आयोगका कामु सचिव वेदप्रसाद भट्टराईले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । समझदारीको अवधि चार वर्षको रहनाका साथै आपसी सहमतिबाट अवधि नवीकरण गर्न सकिने जनाइएको छ ।
 
आयोगको टोलीले कतारमा रहेको नेपाली आप्रवासी कामदारको अवस्थाको सम्बन्धमा विभिन्न पेसा तथा व्यवसायमा आबद्ध नेपाली प्रतिनिधिसँग भेटघाट तथा छलफल गरेको थियो । भ्रमणकै क्रममा टोलीले समिति, कतार फाउन्डेसन, आन्तरिक मामला मन्त्रालय कतारका मानवाधिकार विभागका प्रमुखसँग छलफल पनि छलफल गरेको थियो । रासस

Tata
GBIME
Nepal Life