खाडी वा सिंगापुरको मूल्यमा चीनले नेपाललाई तेल दिन्छ, वाणिज्यमन्त्री पुनको अन्तर्वार्ता

बिजमाण्डू
२०७२ मंसिर २ गते ००:०० | Nov 18, 2015
खाडी वा सिंगापुरको मूल्यमा चीनले नेपाललाई तेल दिन्छ, वाणिज्यमन्त्री पुनको अन्तर्वार्ता

तिहार बिदाको बीचमा चीन पुगेका वाणिज्य तथा आपूर्तिमन्त्री गणेशमान पुनले चीनका आपूर्ति मन्त्रालय र पेट्रोलियम अधिकारीसँग भेटघाट गरे। नेपालको तत्कालको संकट टार्ने र दीर्घकालमा पनि चीनबाट नै पेट्रोलियम पदार्थ ल्याउने विषयमा उनले आफ्नो समय खर्चिएका थिए। चीनबाट फर्किएको भोलिपल्ट अर्थात बुधबार बिजण्माडूका विज्ञान अधिकारीले मन्त्री पुनलाई सोधे, चीनले रिजनेवल मूल्यमा नेपाललाई पेट्रोलियम पदार्थ दिन्छ?

Tata
GBIME
Nepal Life

चीन पुगेर आउनु भयो, के के भयो त्यहाँ ?
खासगरी अनौपचारिक हिसाबले केही राजनीतिक र केही आपूर्तिसँग सम्बन्धित सरकारी अधिकारीहरुसँग भेटघाट गर्‍यौं । त्यो भेटघाटपछि के देखियो भने चीनबाट आपतकालका लागि इन्धन जति पनि ल्याउन सकिने देखियो । उनीहरुले आपतकालीन समयका लागि जति पनि दिन सक्ने भन्ने देखियो । दोस्रो कुरा, मूल्यको हकमा के गर्ने भन्ने विषयमा पनि कुरा भयो । कर हुनु हुँदैन भन्ने कुरा मौखिक रुपमा मैले त्यहाँ भनेको छु । उहाँहरुले पनि त्यो कुरा के कति दिन सकिन्छ हेर्छौं भनिराख्नु भएको छ।

यो कुरा आपतकालीन भयो, दीर्घकालीन रुपमा चीनबाट तेल ल्याउने कुरा कत्तिको संभव छ?
दीर्घकालीन रुपमा पनि ल्याउने भन्ने कुरामा संझौता गरिसकेका छौं। हामीले गरेको कुराकानी भनेको संझौताको फलोअप पनि हो । संझौता गरिसकेपछि चाइना आयलले कैयौं कुराहरुमा होमवर्क गरिराखेको स्थिति थियो र उसले सरकारसँग पनि विभिन्न कुराकानी गरिराखेको थियो। त्यसलाई छिटो गर्ने गरी उहाँहरुको उच्च तहबाट नै कतिपय कुराहरु गर्नु पर्ने भएकाले त्यसलाई पनि छिटो अगाडि बढाउन र केही दिनमा नै एनओसीको टोली बोलाउने कुरा भयो। त्यही अनुसार संभवत विहीबार हाम्रो टिम चीन जान्छ । यसले दीर्घकालीन हिसाबले व्यापारिक तहमै खरीद गर्ने कुराहरु टुंगो लगाउँछ।

यो यति ठुलो कुरा थियो तर विवादित व्यापारी नरेन्द्र उलकलाई लिएर तिहारको बिदाको बेलामा किन सुटुक्क जानु भयो?
मसँग त्यस्ता विवादास्पद व्यापारी थिएनन् । एसियाली युवा राजनीतिज्ञरुसँग मेरो आफ्नै राजनीतिक सम्बन्ध थियो । त्यही अनुसार म गएको हुँ । त्यसमा चीनका साथीहरुसँग पनि कुराकानी भयो । यस्तो बेलामा इन्धन कहाँ पाइन्छ, केमा पाइन्छ भनेर खोज्ने कुरा भयो । बिदाको बेलामा पनि, एक प्रकारले भन्नुस न नेपालीको ठुलो चाडमा पनि इमर्जेन्सी र दीर्घकालीन रुपमा नै केही गरौं भनेर मैले पहल गरेको हुँ।

नरेन्द्र उलक गएको होइन?
उहाँ मसँग गएको होइन । मसँग अरु नै केही साथीहरु जानुभएको हो । त्यहाँ पुगेपछि विभिन्न नेपालीहरुसँग पनि भेट भयो । उहाँ पनि भेटिनु भयो होला त्यो फरक कुरा हो । अरु व्यापारी साथीहरु भेटिनु भयो, त्यो कुरा अलग हो। केही अन्य क्षेत्रका मानिस भेटिनु भयो । तर मसँग उहाँ जानु भएको होइन।

चीनबाट दीर्घकालीन रुपमा पेट्रोलियम पदार्थ ल्याउने कुरा गरिरहँदा चीनले चाँही व्यापारिक रुपमा यसलाई कसरी हेरेको छ?
पेट्रोल उसको निकासीयोग्य वस्तु होइन । तर उसले व्यापारका हिसाबले हामी नेपालीसँग नजिक पनि छौं र त्यो तपाईंहरुले राखेको प्रस्तावमा हामी गम्भीर छौं भनेका छन् । उनीहरुले दीर्घकालीन रुपमा नेपालमा व्यापार गर्ने कुरा, स्टोरेज बढाउने कुरालगायतमा हामी सकारात्मक छौं भनेका छन् ।

नेपालमा डिपो बनाउने कुरामा चीनको के भनाइ छ? उनीहरुको प्रतिबद्धता के छ?
पाइपलाइन, डिपो लगायतका विषयमा पनि उहाँहरु तयार हुनुहुन्छ। उनीहरुले आवस्यकता अनुसार हामी दिन्छौं भन्ने कुरा गरेका छन्। धेरै पनि दिन सक्ने देखिएन। दोस्रो कुरा दीर्घकालीन हिसाबले नै सोच्ने हो र त्यो अनुसारको हाम्रो 'एट्टिच्यूड' हुने हो भने यति नै भन्ने होइन तर आवस्यकता अनुसार दिन सकिन्छ भन्ने उहाँहरुको भनाइ छ । दीर्घकालीन सम्झौता गर्ने हो कि होइन नेपालले भन्ने प्रश्न उहाँहरु सामू छ । तर यस अघिको संझौता र व्यवसायिक सम्झौताका लागि हामीले जुन तत्परता देखाएका छौं त्यसपछि उहाँहरुले अब चाँही साँच्चिकै गर्ने नै हो रहेछ भन्ने सोच्नु भएको छ । त्यसो भइसकेपछि जुनसुकै परिमाणमा भन्दा पनि अधिकतम र न्यूनतम उहाँहरुले दिन सक्ने देखिन्छ।

हामीलाई अनुदानकै तेल ल्याउन पनि महिनादिन लाग्यो। केरुङको बाटो अप्ठेरो र हिउँ पनि परिरहेको हुन्छ। तातोपानी नाका खोल्ने विषयमा भने उहाँहरुको धारणा के छ?
यो बीचको विकास भनेको एउटा यो पनि हो । उहाँहरुसँग यो विषयमा पनि निरन्तर कुराकानी भइरहेको छ । संभवत आज पनि यो विषयमा केही भएको छ जस्तो मलाई लाग्छ । म त्यता गइसकेपछि एउटा टिम आयो। उहाँहरुले हेरेर जानु भएको छ । हामीले त्यो नाका खोल्दा सहज हुन्छ भन्ने कुरा राखेका छौं । खासाको भौगोलिक, जनसंख्या र राजनीतिक समस्याका कारण त्यहाँ उहाँहरुले नराखेकै हो । सिगात्सेबाट नै भन्सार क्लिएर गरिदिएर हामीलाई सहयोग गर्नु पर्छ भनेर हामीले भनेका छौं । उहाँहरुले त्यसको पनि अध्ययन गर्नु भएको हुनुपर्छ । त्यसो भयो भने दुवै नाकाबाट पेट्रोलियम पदार्थ आउन सक्छ ।

चीनले पेट्रोलियम पदार्थको मूल्य उच्च हुँदा रसियासँग डिल गरेको थियो । चीनले पनि आफूले किनेर नेपाललाई दिनुपर्छ । नेपाललाई सहुलियत मूल्यमा तेल दिनसक्ने आधार के छ?
उनीहरुले कर बाहेक गल्फमा हुने दर वा सिंगापुरमा हुने दरमा हामीलाई पेट्रोलियम पदार्थ दिने विषयमा अनौपचारिक कुराकानी भएको छ । औपचारिक कुराकानी हुँदा त्यो विषय कसरी टुंगिन्छ हेर्न बाँकी छ । उनीहरुले हामीलाई रिजनेवल मूल्यमा दिन्छौं भनेका छन् ।

कर पनि हट्छ?
उनीहरुको जुन स्थानीय कर छ त्यो हटाउछौं भनेका छन् । अहिले मेरो पछिल्लो भेटघाटमा त्यो कुरा भएको छ । दोहोरो कर हटाउने विषयमा उहाँहरु सकारात्मक छन् । अहिलेको अवस्थामा हामी कर लिदैनौं भन्ने कुरा उनीहरुले भनेका छन् । तर अब लोकल लेभलमा कुरा हुँदा पनि यही हुन्छ भन्ने हामीलाई लागेको छ ।

चीनबाट पेट्रोलियम पदार्थ ल्याएर नेपालमा वितरण गर्न सकिन्छ भन्ने कुरामा कत्तिको आशावादी हुनुहुन्छ?
तात्कालीक अवस्थामा हाम्रा लागि यो अन्तिम विकल्प हो। चीनसँग हाम्रो सीमा जोडिएको छ । धेरै कठिनाइहरु यसमा पनि छन् तर यो एउटा राम्रो उपाय हो । कठिनाइ छ तर चीनबाट ल्याउने प्रक्रिया अगाडि बढिसकेको छ । दीर्घकालीन हिसाबमा पनि यो बाटो उपयुक्त हुनसक्छ । यताबाट तेल ल्याउन थालेपछि पूर्वाधार पनि बन्न थाल्छन् । चीनले २०२० सम्ममा केरुङसम्म रेल ल्याउने कुरा पनि छ । त्यो रेलवे को कुरा बाहेक पनि अरु पूर्वाधार पनि बन्ला । त्यसको संभावना पनि छ । त्यसको संभावना रहँदासम्म हामीले तीव्र गतिमा नै काम गर्न सक्छौं ।

मान्छेलाई चीनबाट ग्यास आउँछ कि आउँदैन भन्ने पनि छ । ग्यासको बारेमा के पाउनु भयो?
हामीलाई सबै कुराको समस्या नै छ । नेपालमा अहिले दक्षिण तिरबाट जुन ग्यास आइरहेको छ त्यही गुणस्तरको ग्यास ल्याउन कठिनाइ छ । तर त्यो भन्दा राम्रो गुणस्तरको ग्यास ल्हासा, छिन्दू, ग्वांजाओ र छिनाङ आसपासबाट ल्याउन सकिने र त्यो केरुङ न्यालम लगायतका ठाउँमा आइरहेको अवस्था छ । ती ठाउँमा ठुला बुलेट आएका छन् । अहिलेको समस्या भनेको सानो आकारको बुलेट मात्रै ल्याउन सकिन्छ भन्ने हो ।