यसरी गरिरहेको छ आयल निगमले संस्थागत रुपमा कालोबजारी, खड्काको तोकमा दिइयो तेल

बिजमाण्डू
२०७२ मंसिर ४ गते ००:०० | Nov 20, 2015

विज्ञान अधिकारी/बिजमाण्डू
काठमाडौं । सरकारले कालोबजारी नियन्त्रण गर्न उच्चस्तरीय समिति बनाएकै दिन आयल निगमले कालोबजारीलाई प्रोत्साहन गर्दै पेट्रोलियम पदार्थ वितरण गरेको रहस्य खुलेको छ ।

Tata
GBIME
Nepal Life

वाणिज्य तथा आपूर्ति मन्त्रालय कालोबजारी छानबिन गर्न सहसचिव जीवराज कोइरालाको संयोजकत्वमा समिति बनाएकै समयमा कुनै एउटा फर्मको नाममा १२ हजार लिटर डिजेल दिइएको प्रमाण भेटिएहो हो । निगमले पम्पमार्फत त्यसरी डिजेल दिएको छ ।

निगमको भलवारी डिपोले चक्रपथ विस्तार गर्ने कम्पनी संघाई ग्रुपको नाममा स्वयम्भुमा रहेको हामा पेट्रोल पम्पलाई यो परिमाणको डिजल दिएको हो । निगम आफैंले चरम अभाव भएको भन्दै कुनै पनि पम्पलाई आफ्नो सिफारिसबाहेक ग्यालिनमा डिजेल नदिन परिपत्र जारी गरेको छ ।


हामाको पत्र।

निगमका प्रवक्ता मुकुन्दप्रसाद घिमिरेका अनुसार तीन हजारसम्मको पेट्रोलियम पदार्थ निगम केन्द्रीय कार्यालयको सिफारिशमा स्वंय फर्मलाई मात्रै दिइएको छ । ‘हामीले सिफारिश गरेको आधारमा पम्पबाट दुई/चार सय लिटर पेट्रोलियम पदार्थ पम्पले दिनसक्छ । तर धेरै परिमाणको तेल सम्वन्धित फर्मकै नाममा दिइन्छ । पेट्रोल पम्पबाट ठूलो परिमाणको तेल दिन मिल्दैन,’ उनले बिजमाण्डूसँग भने ।

तर निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्काको तोक आदेशमा निगमका भलवारी डिपो प्रमुख दिनेश यादवले हामा पम्पको नाममा १२ हजार लिटर डिजेल पठाएका थिए । उनले जिल्ला प्रशासनलाईसमेत जानकारी नदिई १२ हजार लिटर डिजललाई प्रहरीले विहीबार राती नवलपरासीबाट बरामद गरेपछि यो तथ्य खुलेको हो ।
बिजमाण्डूलाई प्राप्त गोप्य पत्रमा हामा पम्पले चक्रपथ विस्तारको काम गरिरहेको संघाई ग्रुपले पेट्रोलियम पदार्थ नहुँदा काम ठप्प भएको भन्दै आवश्यक इन्धन उपलब्ध गराउन आग्रह गरेको थियो ।

निगममा संघाईको कुनै पत्र विना निगमका कार्यकारी निर्देशक खड्काले कात्तिक १५ गते भलवारी डिपो प्रमुखलाई १२ केएल(१२ हजार लिटर) डिजेल दिन निर्देशन दिएका थिए । निगमका अनुसार सम्बन्धित फर्मको निवेदन विना तेल दिनै मिल्दैन ।

‘सम्बन्धित फर्मको निवेदन विना तेल दिनै मिल्दैन । अझ कुनै पम्पलाई यसरी फर्मको नाममा तेल दिने निर्णयले निगमले कालोबजारी गरिरहेको स्पस्ट प्रमाणसमेत हो,’ निगमका एक कर्मचारीले भने, ‘अहिलेसम्म तथ्य थिएन तर विहीबारको घट्नाले तथ्य र प्रमाणसमेत फेला परिसकेको छ ।’


आयल निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्काको तोक (रातो घेरामा)

यही निर्देशनका आधारमा डिपो प्रमुख यादवले विहीबार हामा पेट्रोल पम्पलाई डिजेल दिएका हुन् । उनले हामाको नाममा दिएको तेलको चलानीमा ‘एनओसीका श्रीमान एमडी साहेबको कातिक १५ पत्रको तोक बमोजिम उपलब्ध गराएको’ उल्लेख छ ।

प्रहरीले डिजेल बरामद गरेर जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा राखेको छ । स्रोतका अनुसार यो डिजेल बरामद भएपछि निगमभित्र हल्लीखल्ली मच्चिएको थियो । डिपो प्रमुख यादवले प्रमुख जिल्ला अधिकारी सामु कार्यकारी निर्देशकको दबाबमा डिजेल दिनुपरेको बताएको स्रोतले बतायो ।

‘उहाँले १५ दिनको अवधिमा धेरै पटक दबाब दिनुभयो । अस्ती फोन गरेर तिमीले त्यतिपनि काम गरेनौ भने म अबदेखि फोन गर्दिन भन्नुभयो,' उनको भनाई उधृत गर्दै एक कर्मचारीले भने, ‘जागिरकै लागि पनि मैले गैरकानुनी काम भएपनि डिजल पठाएको हुँ ।’

स्रोतका अनुसार आयल निगम र पम्पको मिलेमतोमा आएको डिजेल महँगो मूल्यमा बिक्री गर्न ल्याइएको हो । थानकोट डिपोबाटै दिन सकिने तेल भलवारीबाट दिन लगाएर कालोबजारी गर्न लागिएको स्रोतले बतायो । स्रोतका अनुसार यो बाहेक कन्जुमरको नाममा महँगो मूल्यमा तेल बिक्री भइरहेको छ । ठूला व्यवसायिक घरानाहरुले महँगो मूल्यमा निगमको डिपोबाटै तेल किनिरहेका छन् ।