अर्थमन्त्रीले आफ्नो दल निकट कर्मचारीको आर्थिक माग पुरा नगर्न गभर्नरलाई सुझाए

बिजमाण्डू
२०७२ मंसिर ६ गते ००:०० | Nov 22, 2015
काठमाडौं । तलब तथा भत्ता बृद्धिको माग राख्दै केन्द्रीय बैंक ठप्प पारेका नेकपा एमाले निकट कर्मचारीहरुको आर्थिक माग पुरा नगर्न उनीहरुकै पार्टीबाट अर्थमन्त्री बनेका विष्णु पौडेलले गभर्नर डा. चिरञ्जिबी नेपाललाई सुझाव दिएका छन् ।

Tata
GBIME
Nepal Life

केन्द्रीय बैंकमा एमाले कर्मचारीले आन्दोलन गरेर दैनिक कार्यसम्पादनमा वाधा पारेको जानकारी दिँदै गभर्नर नेपालले– यस्तो बेलामा तलब सुविधा वढाउन माग राखेको अर्थमन्त्रीलाई जानकारी गराएका थिए ।

गभर्नरको गुनासोपछि अर्थमन्त्री पौडेलले अहिलेको बेलामा आर्थिक माग पुरा गर्न नसकिने भन्दै त्यसै अनुसार अगाडि वढ्न सुझाव दिएका हुन् । ‘यस्तो बेलामा पनि तलब भत्ता वढाउन आन्दोलन गर्ने हो?,’ अर्थमन्त्रीको भनाइ उदृत गर्दै उनका एक सहयोगीले भने ।

भर्नरले आन्दोलनरत कर्मचारीहरुलाई आर्थिक वाहेक सम्पूर्ण माग पुरा गर्न सकिने जानकारी दिएका थिए ।

गभर्नरले वैशाखको भुकम्पले अर्थतन्त्र थिलथिलो भएका बेला अहिलेको नाकाबन्दीले अर्थतन्त्र खुम्चिएको तथ्य बारे अवगत गराउँदै आर्थिक माग पुरा गर्न नसकिने बताएका थिए ।

गभर्नरको भनाइबाट आक्रोशित भएका एमाले कर्मचारीहरुले डा. नेपाललाई अवेर रातीसम्मै कार्यालयमा बन्धक बनाएका थिए । उनीहरुले अहिले पनि आन्दोलनलाई निरन्तरता दिइरहेका छन् ।

नेपाल राष्ट्र बैंक कर्मचारी संघका अध्यक्ष बसन्तराज पाण्डेले आर्थिक माग पुरा गराएर आगामी अधिवेसनमा पुनः अध्यक्ष जितिने विश्लेषणका साथ आन्दोलनलाई थप उग्र बनाउँदै लगिरहेका छन् ।

सत्तारुढ दल एमाले निकट कर्मचारी संघका अध्यक्ष पाण्डेले सञ्चार माध्यमसँग भने संस्थाग सुधार आफ्नो माग रहेको बताउँदै आएका छन् ।

तर डेपुटी गभर्नर गोपाल काफ्ले नेतृत्वको वार्ता टोलीसँग भने पाण्डेले आर्थिक माग पुरा नभएसम्म आन्दोलन जारी राख्ने बताउने गरेका छन् । उनकै अडानका कारण वार्ता अगाडि वढ्न सकेको छैन ।

केन्द्रीय बैंक ठप्प पारेको प्रति प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सत्तारुढ दलसँग जवाफ माग गरेको छ । केन्द्रीय बैंकको आन्दोलन र अहिलेको नाकाबन्दी उस्तै रहेको भन्दै कांग्रेसले सत्तारुढ दलका तर्फबाट भएका यस्ता आन्दोलले एमालेलाई सोभा नदिने बताएको छ ।