पम्पमा चिप्स जोड्ने गिरोहका नाइके आलमबाट खुल्यो पोल, भारतबाट लखेटेपछि नेपालमा धन्दा

बिजमाण्डू
२०७२ मंसिर ७ गते ००:०० | Nov 23, 2015
पम्पमा चिप्स जोड्ने गिरोहका नाइके आलमबाट खुल्यो पोल, भारतबाट लखेटेपछि नेपालमा धन्दा
विज्ञान अधिकारी/बिजमाण्डू
काठमाडौं । दुई वर्षअघि भारतमा विशेष प्रहरी अपरेशनबाट लखेटिएको गिरोहको सहयोगमा प्रविधि जोडेर नेपालका पेट्रोल पम्प संचालकले ठगी गरेको पाइएको छ ।
 
यो गिरोहका नाइके आयोब आलमसहितका चार जना मिस्त्रीलाई प्रहरीले पक्राउ गरेको हाे । नसिम रावल सिद्धिकी भन्ने व्यक्तिको फर्म अायलको सर्भिस सेन्टरले  उपत्यका भरिका पेट्रोल पम्प मर्मतको जिम्मा पाएको थियो । आलम सहितकाे गिरोह यही फर्ममा कार्यरत थिए ।२०६८ साल मं‌सिरमा यो फर्मले पम्प मर्मतको जिम्मा पाएको थियो । २०७१ साल मंसिरमा यो फर्मको म्याम सकिएको थियो । 
 

गुणस्तर तथा नापतौल विभागका उच्च अधिकारीको निर्देशनमा क्षेत्रीय कार्यालयले नसिवको वर्कसपलाई उपत्यकाको पम्प मर्मतको जिम्मा दिएको थियो ।  त्यसबेला नापतौल कार्यालय काठमाडौका क्षेत्रीय प्रमुख रामअाधार साह थिए । 
 
नेपाल आएर पम्प व्यवसायीलाई ‘चिप्स’मार्फत कम परिमाणको तेल दिने प्रविधिका बारेमा सिकाएका थिए । आलम गोरखपुरका हुन् । उनलाई शनिबारनै कोटेश्वरमा पानी किन्न जाँदा प्रहरीले पक्राउ गरेको थियो । स्रोतका अनुसार प्रहरीले यो गिरोह बारे पेट्रोल पम्पका कर्मचारीबाटै सूचना पाएको हो । 
 
विहार लगायतका सीमावर्ती क्षेत्रमा भारतीय प्रहरीको विशेष अपरेशनबाट असफल भएको प्रविधिलाई नेपालका पेट्रोल पम्प व्यवसायीले प्रयोगमा ल्याउँदै डेढ वर्षदेखि ठग्दै आएको पाइएको छ । सीमावर्ती क्षेत्रमा विशेष अपरेशनपछि सोही गिरोह नेपाल प्रवेश गरेको थियो ।
 
तीस हजारमा पाइने यो मेशिन र रिमोटमार्फत तेलको परिमाण घटबढ गर्न मिल्छ । कोटेश्वरमा बस्दै आएका उनले वर्कसप संचालन गर्दै आएका थिए । कोटेश्वरमा रहेको पेट्रोलियम व्यवसायीको छाता संगठन नेपाल पेट्रोलियम डिलर्स एसोसिएसन नजिक रहेर धेरैजसो व्यवसायीसँग सम्वन्ध विस्तार गर्न आलम सफल भए । स्रोतका अनुसार उपत्यकामा उपभोक्ता ठग्ने पम्पले यो प्रविधि राखेका थिए । 
 
महानगरीय प्रहरी अपराध महाशाखाले आइतबार उपत्यकाको विभिन्न पेट्रोल पम्पको विशेष अपरेशन गर्दा सोही प्रविधि नेपालमा प्रयोग भएको पाइएको हो । डेढ वर्षअघि नै गुणस्तर तथा नापतौल विभागले गरेको अनुगमनमा विशेष प्रकारको ‘चिप्स’ प्रयोग गरेर उपभोक्ता ठगी गरेको पाइएको थियो । तर उक्त विभागका तात्कालिन उच्च अधिकारीको ‘सेटिङ’बाट यो संस्थागत भएको एक पेट्रोलियम व्यवसायीले बिजमान्डूलाई बताए ।
 
‘यो अपराधलाई तात्कालिन गुणस्तर तथा नापतौल विभागकै उच्च अधिकारीको सेटिङमार्फत संस्थागत भएर मौलाउने काम भयो,’ एक व्यवसायीले भने, ‘यो काण्डमा व्यवसायी मात्रै होइन उच्च अधिकारीहरुको समेत संलग्नता रहेको छ ।’

Tata
GBIME
Nepal Life
गुणस्तर तथा नापतौल विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले पम्प मर्मतको जिम्मा पाएका मिस्त्रीको नियत राम्रो नदेखिएपछि स्पष्टीकरणका लागि निर्देशन दिएको जानकारी दिए । 
 
‘पम्प मर्मतको जिम्मा पाएको भन्ने व्यक्तिलाई तत्कालै बोलाएर स्पष्टीकरणसहित कारवाहीको लागि क्षेत्रिय कार्यालय काठमाडौंलाई निर्देशन दिएको थिए,’ उनले बिजमान्डूसँग भने । महानिर्देशक पुडासैनीले दुई महिना अघि दिएको निर्देशन अहिलेसम्म पनि कार्यान्वयनमा आएको थिएन । 
 
पेट्रोल पम्प व्यवसायी भागाभाग
प्रहरीले आइतबारदेखि विशेष अपरेशन थालेपछि पेट्रोल पम्प व्यवसायीको भागाभाग भएको छ । प्रहरीले आइतबार रातभरी पम्पमा छापा मारेर कम परिमाणको तेल बिक्री गर्ने संचालकलाई पक्राउ गरेको छ । 
 
‘रातभरी प्रहरी अपरेशनपछि व्यवसायी भागाभाग भएको छ । कतिपय पम्प संचालक मोबाइल स्वीच अफ गरेर सम्पर्कविहिन बनेका छन्,’ एक व्यवसायीले भने, ‘कति व्यवसायी पक्राउ परे अहिलेसम्म पनि थाहा छैन ।’ महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख प्रहरी बरिष्ठ उपरीषक सर्वेन्द्र खनालले रातभरी अपरेशन गरेर झन्डै एक दर्जन पम्पका सञ्चालक पक्राउ गरेको जानकारी दिए । 
 
‘हामीले उपत्यकाका विभिन्न पम्पमा रातभरी अपरेशन गर्यौं,  दोषी देखिएका ८÷१० जना पक्राउ परेका छन्,’ उनले भने, ‘यो अपरेशनको बारेमा पत्रकार सम्मेलन गरेर आजै (सोमबार) जानकारी दिँदैछौ ।’ तर व्यवसायीका अनुसार यो अपरेशनमा दुई दर्जन पम्प संचालक पक्राउ परेका छन् । 
 
व्यवसायी लबिङमा
प्रहरी अपरेशनपछि आफ्ना सदस्य पक्राउ परेपछि नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनले छुटाउन लबिङ थालेको छ । प्रहरीको अपरेशनको बारेमा बुझ्दै छुटाउन पहल गर्ने निष्र्कषमा पुगेको एसोसिएसनका एक पदाधिकारीले बताए । 
 
स्रोतका अनुसार आयल निगमको डिपोबाटै कम तेल आउने भन्दै व्यवसायीले ‘सरभाइभ’ गर्न यो प्रविधि अपनाएको भन्दै छुटाउन पहल गर्न लागेको ती पदाधिकारीले बताए । एसोसिएसनले डिपोबाटै कम तेल आएको भन्दै आयल निगममा उजुरी दिएको आधारमा छुटाउन पहल गर्न लागिएको उनले बताए ।