हवाई इन्धनमा एनओसी र एनएसी विवाद, आयल निगम भन्छ पाइलटले कम भत्ता पाउँदा रोकियो इन्धन

बिजमाण्डू
२०७२ मंसिर ८ गते ००:०० | Nov 24, 2015
हवाई इन्धनमा एनओसी र एनएसी विवाद, आयल निगम भन्छ पाइलटले कम भत्ता पाउँदा रोकियो इन्धन

सविन मिश्र/बिजमाण्डू
काठमाडौं। हवाई इन्धनको चर्को अभाव भएपछि नेपाल आयल निगम (एनओसी)ले भारतबाट एयरलिफ्ट गरेर हवाइ इन्धन भित्र्याउने जिम्मा नेपाल आयल निगम (एनएसी)लाई दियो। एनएसीले कलकत्ताबाट हवाई इन्धन भित्र्याउने जिम्मा पाएको केही दिनपछि नै दुई संस्थाबीचको विवादले तेल आयात प्रभावित हुँदै आएको छ।
 
समयमै पर्याप्‍त हवाई इन्धन भित्र्याउने जिम्मा एनएसीकै भएकाले उसले जसरी पनि ल्याउनु पर्ने जीकिर एनओसीका अधिकारीको छ। 'हवाइ इन्धन ल्याउने जिम्मा उनीहरुको नै हो, व्यवस्थापन गरेर उसैले ल्याउनु पर्छ,' एनओसीका एक अधिकारीले भने।
 
तर एनएसीको भनाइ अर्कै छ। एनएसीका प्रवक्ता रामहरि शर्माले भने, 'हामीले नियमित उडानको साटो अतिरिक्त उडान गरेर ल्याउने भनेका हौं,' उनले भने, 'कहिले पाइलटको बिदा पर्छ, कहिले नियमति उडान। यात्रु नबोकेर तेल ल्याउने भनेर हामीले भनेका छैनौं।'
 
नयाँ विवाद पाइलट भत्ता
एनओसीका अधिकारीहरुले भने एनएसीले पाइलटलाई भत्ता कम दिएकाले कलकत्ताबाट हवाइ इन्धन पर्याप्त नभित्रिएको बताउँदै आएको छ। 'पाइलटलाई उनीहरुले पर्याप्त भत्ता दिएका छैनन्, कलकत्ता उडान गरेको १३ सय भत्ता दिएपछि कसले ल्याउँछ?' एनओसीका अधिकारीले भने, 'हङकङ उडान गर्दा २५ हजार पाउने भएपछि पाइलटहरु किन कलकत्ता जान्छन् ?'
 
तर एनएसीका प्रवक्ता शर्माले भने भत्ताको विवादका कारण इन्धन ल्याउन नसकेको अस्वीकार गरे। उनले भने, 'कहिले जहाजको नियमित मेन्टिनेन्स पर्छ कहिले पाइलटको विदा,' उनले भने, 'एयरक्राफ्ट उडान सेफ्टीका विभिन्न मापदण्ड पुरा गर्नुपर्छ। त्यसैले केही समस्या भएको हो।'
 
पाइलटहरुले कलकत्ता उडान गरेको १३ सय रुपैयाँ पाउने गरेका छन्। निगमकै जहाज एक ट्रिप हङकङ उडान गर्दा ७२ डलर भत्ता पाउने गरेको शर्माले बताए। 'कलकत्ता उडान गर्नेले २ घण्टा उडाए पुग्छ र हङकङ उडाउँदा ९ घण्टा उडाउनु पर्छ, त्यस अनुपातमा भत्ता धेरै थोरै त भैहाल्छ नि,' उनले भने, 'अहिले पाइलट नै कम छन्, यात्रु नउडाएर तेल ल्याउने भनेका छैनौं। यात्रु उडाएर बाँकी रहेको उडानमा इन्धन ल्याइरहेका छौं।'
 
निगमले अहिले ७ वटा अन्तर्राष्ट्रिय गन्तव्यमा उडान भर्दै आएको छ। भारतीय शहरमा लामो समयको स्थगनपछि निगमले केही समयअघि मात्रै उडान थालेको थियो। 'भारतमा हामी अहिलेका लागि नयाँ नै छौं,' उनले भने, 'त्यता उडान गर्दा भत्ता थप्नेदेखि अरु विषयमा पनि सुधारको प्रस्ताव हामीले गरेका छौं।'
 
एनएसीले ट्रिपको २५ हजार डरल भाडा तिरेर कलकत्ताबाट हवाइ इन्धन भित्र्याउने जिम्मा एनएसीलाई दिएको छ। एनएसीले एयरलिफ्ट गरेर हवाइ इन्धन भित्र्याइरहेको छ। तर पटक पटक पर्याप्त इन्धन नभित्रिँदा आन्तरिक उडान अवरुद्ध हुँदै आएको छ। 

Tata
GBIME
Nepal Life