घाटा कम गर्ने गरी काम गर्न पर्यटनमन्त्रीको निर्देशन, छिट्टै नयाँ गन्तव्यमा जाने कंसाकारको भनाइ

बिजमाण्डू
२०७२ मंसिर ८ गते ००:०० | Nov 24, 2015
घाटा कम गर्ने गरी काम गर्न पर्यटनमन्त्रीको निर्देशन, छिट्टै नयाँ गन्तव्यमा जाने कंसाकारको भनाइ
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री आनन्द पोख्रेलले निर्धारित समयमा विमान उडाउने र मैत्रीपूर्ण व्यवहारले यात्रुको मन जित्ने प्रयास गरे निगमका विमान सिट भरिएर उड्ने बताएका छन् । विमान ढिलो उड्दा वित्तीय नोक्सानका साथै प्रतिष्ठा पनि गुम्ने भएकाले निगमको हितका लागि प्रभावकारी काम गर्न निर्देशन दिए । 
 
संस्थालाई योजनाबद्धरुपमा अगाडि बढाउन व्यावसायिक योजना तयार गरेर अगाडि बढ्न पनि उनले निर्देशन दिए । ‘संस्थालाई अगाडि बढाउने हो भने व्यवसायिक योजना आवस्यक पर्छ,’ उनले भने, ‘त्यस्तो योजना निगमले प्रस्तुत गरे आवश्यक सहयोग गर्न सरकार पछि पर्दैन ।’


 
उनले भूपरिवेष्ठित देशका लागि विमान जत्तिको विकल्प अर्को नहुने पनि बताए । ‘भूपेरिवेष्ठित देशका लागि विमान जस्तो अर्को विकल्प हुन नसक्ने तथ्य हामीले नै भोगेका छौं,’ उनले भने, ‘अहिलेको परिस्थितिमा राष्ट्रिय ध्वजावाहकसँग पर्याप्त विमान भए यति कठिनाई नपर्ने तथ्य हामीले बुझेका छौं ।’
 
पोखरेलले निष्ठापूर्वक आफ्नो दायित्व पूरा गर्न पनि निर्देशन दिए । उनले निगमको आम्दानी बढाउने विषयमा सबै मिलेर काम गर्नुपर्नेमा जोड दिए । 
 
कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव एवं निगम संचालक समितिका अध्यक्ष दिनेशकुमार थपलियाले जुन संस्थासँग आशा र भरोसा गरिएको हुन्छ त्यसैको बढी चर्चा र आलोचना हुने भन्दै नेपाल वायुसेवा निगमसँग आम जनताको प्रत्यक्ष सम्वन्ध भएकोले टीकाटिप्पणी हुनु स्वाभाविक नै रहेको बताए ।

Tata
GBIME
Nepal Life