नाकाबन्दीका कारण पेट्रोलियम पदार्थ र खाद्यान्न अभाव हुन थालेपछि अनौपचारिक माध्यमबाट त्यसको आपुर्ति गर्दा भुक्तानी गर्नु पर्ने भएकाले भारुको सटही दर बढेको हो ।
‘सामान्य अवस्थामा पनि सय भारुका लागि १६० तिरेर पुग्दैन थियो, १६२ देखि १६५ सम्म नेपाली रुपैयाँ तिर्नु पर्थियो,’ एक उद्योगी नेताले भने, ‘अहिले १०० भारु लिन दुई सय नेपाली रुपैयाँ तिर्नु पर्ने अवस्था आएको छ ।’
खासगरी व्यापारिक नाकाहरुमा भारुको माग वढेर सटही दरमा बृद्धि भएको हो । रक्सौल, रुपेडियातिर १०० भारुको २०० रुपैयाँसम्म पर्न थालेको छ भने जोगवनीमा १७५ सम्म तिर्नु पर्छ । उता काकडभित्ता नाकामा १८५ रुपैयाँसम्म खर्चिनु पर्ने भएको छ ।
नेपाल राष्ट्र बैंकले भने एक सय भारुका लागि १६० नेपाली रुपैयाँ सटही दर तोकेको छ । नेपाल राष्ट्र बैंकले भारु सटहीमा कडाइ गर्दै दैनिक कोटा नै तोकेको छ । तर बजारमा भने सटही दर बढाउँदा मागेजति भारु पाइन्छ ।
भारुको माग वढ्नुमा अनौपचारिक माध्यमबाट सामान ल्याउनका लागि भारतीय बजारमा नगदै भुक्तानी गर्नु पर्ने हुन्छ । बैंकले अनौपचारिक व्यापारका लागि भारु सटही गर्दैनन्, तैपनि बजारमा मागेजति भारु पाइन्छ ।
‘कसरी भारु आउँछ भन्ने थाहा छैन, रेट बढाउनुस् जति पनि पाइन्छ,’ ती व्यवसायीले बिजमाण्डूसँग भने, ‘एकै पटक पाँच लाखभन्दा वढी भारु चाहिएमा भने दुई÷तीन घन्टा अगाडि खवर गर्नु पर्छ, त्यो भन्दा कम भए उतिनै खेर पाइन्छ ।’
यता नेपाल राष्ट्र बैंकसँग पनि भारतीय मुद्राको सञ्चिती घट्दै गइरहेको छ । असोज मसान्तसम्म भारतीय मुद्रा सञ्चिति ०.९ प्रतिशतले कमी आएको छ । अहिले केन्द्रीय बैंकसँग ११८ अर्ब ७१ करोड भारु छ । गत बर्ष यतिबेला भारुको मात्रा १.४ प्रतिशतले बढेको थियो ।
विगतमा सुनका लागि ठूलो मात्रमा भारुको अवैध कारोबार हुने गरेकोमा अहिले पेट्रोलियम पदार्थ र खाद्यान्नका लागि भारुको माग वढेको छ । औपचारिक व्यापारका लागि भने राष्ट्र बैंकले प्रकृया पुर्याएर सजिलै भारु उपलब्ध गराउने गरेको छ ।