मन्त्रीको निर्देशनमा गरिएको सुरुवा विर्तामोड डिपो प्रमुखले अवज्ञा गरे, आरोप पुष्टी नभइ आउँदिन

बिजमाण्डू
२०७२ मंसिर ९ गते ००:०० | Nov 25, 2015

काठमाडौं । नेपाल आयल निगमका विर्तामोड डिपो प्रमुख वासुदेव भण्डारी काठमाडौं आउन अस्विकार गरेका छन् । वाणिज्यमन्त्री गणेशमान पुनको निर्देशनमा अनियमितताको आरोप लगाउँदै काठमाडौं तानिएका डिपो प्रमुख भण्डारीले काठमाडौं आउन अस्विकार गरेका हुन् ।
 
उनले आफुलाई लगाइएको अनियमितताको आरोप पुष्टी गरे मात्रै काठमाडौं आउने अड्डी लिएको निगमको केन्द्रीय कार्यालय स्रोतले जानकारी दिएको छ । ‘भण्डारीले आफुलाई अनियमितताको आरोप लगाएर काठमाडौं तानिएकोमा आपति जनाउँदै कुनै हालतमा नआउने जानकारी दिएका छन्,’ निगमका एक अधिकारीले उनको भनाई उद्धृत गर्दै , ‘अनियमितताको आरोप पुष्टी भए मात्रै काठमाडौं आउँछु नभए यही बसेर काम गर्छु ।’

Tata
GBIME
Nepal Life

  
उनले मन्त्री पुनले केही व्यक्तिको भडकाउमा परेर आफ्नो काठमाडौं सरुवा गरिएको भन्दै कुनै हालतमा काठमाडौं नआउने जानकारी निगमलाई दिएको ती अधिकारीले बताए । ‘मन्त्रीको आदेश म मान्न तयार छैन । मैले गरेको अनियमितताको पुष्टी मन्त्रीले गर्नुपर्छ अनि मात्रै काठमाडौं आउँला,’ उनले केन्द्रीय कार्यालयमा भनेका छन् , ‘के कारणले सरुवा भएको हो त्यसको सबै जवाफ आएपछि मात्रै काठमाडौं आउनसक्छु ।’
 
 
भण्डारीले आफुलाई विना कारण काठमाडौं तानिएको भन्दै चितवुझ्दो जवाफ नआई काठमाडौं नआउने जानकारी बिजमान्डूलाई दिए । ‘मलाई अहिलेसम्म कुनै काठमाडौं तानिएको चिठ्ठी आएको छैन । चिठ्ठी आएपछि प्रक्रिया पूरा गर्नुपर्छ,’ उनले बिजमान्डूसँग टेलिफोनमा भने, ‘चिठ्ठी आएपछि सात दिनसम्मको प्रक्रिया पुगेपछि के गर्ने हेरौला । अहिले मलाई अनियमितता गरिएको भनिएको छ । त्यसको पुष्टी भएमा म आफै स्वत काठमाडौं आइहाल्छु ।’
 
भण्डारीलाई दशैको अष्टमीको दिनमा विराटनगर डिपोबाट विर्तामोड सरुवा गरिएको थियो । विराट पेट्रोलियमलाई तेल ल्याउन दिने निर्णयलाई सहजीकरणका लागि भण्डारीलाई विर्तामोड सरुवा गरिएको निगम स्रोतले बतायो । भण्डारी पटक÷पटक विभिन्न विवादमा मुछिएपनि आरोप प्रमाणित हुन नसकेर उन्मुक्ती पाउँदै आएका छन् ।
 
उनलाई काठमाडौं तानेपनि शक्तिको प्रयोग गरेर पूर्वाञ्चल डिपोमै जाने गरेका छन् । मन्त्री पुनले निगमको डिपो प्रमुखहरु अभावको मौकामा महँगो मूल्यमा डिपोबाटै तेल बिक्री गरेको आरोपमा काठमाडौं तानेका थिए । निगमका भलवारी डिपो प्रमुख दिनेशकुमार यादब, नेपालगञ्ज डिपो प्रमुख श्रीचन्द्र श्रेष्ठलाई समेत काठमाडौं तानिएको छ ।
 
स्रोतका अनुसार नेपालगञ्ज डिपो प्रमुखले समेत एकीकृत माओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठको शक्ति प्रयोग गर्दै काठमाडौं तान्ने निर्णय रोक्न लगाएका थिए । तर मन्त्री पुनले सबै भनसुनलाई रोकेर काठमाडौं तान्ने निर्णय गरेका थिए ।