बाबुरामको नयाँ शक्ति र उनले प्रमाणित गर्न नसकेको जुवाघर, नीरव पुडासैनीको लेख

बिजमाण्डू
२०७२ मंसिर १० गते ००:०० | Nov 26, 2015
बाबुरामको नयाँ शक्ति र उनले प्रमाणित गर्न नसकेको जुवाघर, नीरव पुडासैनीको लेख
‘नौ सौ चूहे खा के बिल्ली हजको चली’

Tata
GBIME
Nepal Life

देशमा चलिरहेको विषम परिस्थितिको बाबजुद माथिको भारतीय भनाइलाई चरितारर्थ गदै बाबुराम भट्टराईले नयाँ शक्तिको उदय गराउने कोशिष गर्दैछन् ।

क्षेत्रीय विकास योजनामा पिएचडी गरेर अर्थतन्त्रको ज्ञाता स्वरुप अर्थमन्त्री अनि प्रधानमन्त्री भएका डा. भट्टराई, कहिले दिल्लीका मुख्यमन्त्री अरविन्द्र केजरीवालको सिको गर्छन् त कहिले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भाषणलाई पच्छ्याउँछन् ।

अर्थमन्त्री भइसकेका उनलाई देशको मूल्य वृद्धिदर ०.८० अंकले बढेको जानकारी पक्कै होला । यस्तो अवस्थामा भाषणको भरमा टिकेको उनको राजनीति कसरी अघि बढ्छ ? कि त उनको अभिष्ट अरु नै हुनुपर्‍यो ।

राष्ट्र बैंकको तथ्यांक अनुसार काठमाडौंमा मात्रै ९.१ प्रतिशतले मूल्य बृद्धि भएको छ । कहिले सहकारीलाई तीन खम्बे अर्थनीतिमा राख्नु पर्छ भन्छन् त कहिले दुई खम्बे अर्थनीतिको वकालत गर्छन्, आखिर उनले चाहेको के हो ?
 
सेयर बजारलाई जुवाघरको रुपमा चित्रण गरेर सेयर कारोबारीहरु माझ खलपात्रको रुपमा आफूलाई उभ्याएका उनले, सेयर बजारलाई अर्थतन्त्रको ऐना  भन्ने कूरा बुझ्न अझै केही समय लाग्ला । तर बेला यही हो सेयर बजार बुझ्ने आदरणीय डाक्टर साप, हेर्नुस अर्थतन्त्रको गति शून्यताले सेयर बजारमा क्रमिक गिरावट आइरहेको छ ।

जुवा हुँदो हो त यसको चित्र बिल्कुल अलग हुने थियो । डा भट्टराईलाई यही बिट मारौं । यस्ता पात्रहरु नेपालमा अरु पनि छन्, जसको चर्चा गरिरहनु पर्दैन ।

कुटिल कूटनीतियुक्त नाकाबन्दीले सबै क्षेत्रमा असर परिरहेको छ । सेयर बजारले अर्थतन्त्रको ऐना स्वरुप त्यसको प्रतिबिम्ब देखाउन सुरु गरीरहेको छ । निक्षेपमा साधारण गिरावट भए पनि  बैंक तथा अन्य वित्तीय संस्थाले गर्ने लगानीमा धेरै असर देखिन थालिसकेको छ ।

प्रारम्भिक तथ्याङ्क अनुसार गत आर्थिक वर्षको भन्दा यस अवधिसम्म कर्जाको लगानी ३ प्रतिशतले घटेको देखिन्छ, जुन यो क्षेत्रका लागि अत्यन्त प्रतिउत्पादक हुनेछ । यति हुँदा हुँदै पनि केही पण्डितहरु आयातमा आएको गिरावट तथा रेमिट्यान्समा भएको वृद्धिलाई आधार मानेर सकारात्मक हुने आँकलन गरिरहेका छन् । आयात ३१.१ प्रतिशतले घटेको छ भने निर्यात २५.४  प्रतिशतले घटेको छ। त्यसको विपरीत रेमिट्यान्स २४ प्रतिशतले बढेको छ।

तथ्यांकका पहाडहरु जे जस्ता भए पनि उपभोक्ता आत्मविश्वास सूचकांक तीव्ररुपमा घटिरहेको आँकलन गर्न सकिन्छ । जसको दीर्घकालीन असर नेपालको अर्थतन्त्रमा देखिने निश्चित छ । उपभोक्ता आत्मविश्वास सूचकांकले सम्पूर्ण अर्थतन्त्रलाई प्रतिविम्बित गर्ने हुँदा यसको असर दीर्घकालसम्म रहिरहन्छ ।

मानव जीवनलाई चाहिने आधारभूत वस्तुहरुको अभाव र मूल्यबृद्धिले घटाएको उपभोक्ता आत्मविश्वासलाई क्रमिक रुपमा सकारात्मक दिशातर्फ लान नाकाबन्दीको तीन महिना बितिसक्दा पनि अर्थ विज्ञ तथा कर्मचारीतन्त्रबाट प्रयास नगरिनु अत्यन्तै लज्जास्पद कुरा हो । साथै बढ्दो बेरोजगारी र त्यसको असरको आँकलन त हामीले गर्न सकेकै छैनौं ।

यही नाकाबन्दीको प्रभावले तराई तथा पहाडबाट काठमाडौं हुँदै खाडी तथा अरु मूलूकमा जाने युवाहरुको दर, यो तीन महीनामा तुलनात्मक रुपमा कमी आएको छ । तसर्थ रेमिट्यान्समा हौसियकाहरुले अबको केही समय त्यो मौका पनि पाउँदैनन् भन्ने अनुमान गर्न सकिन्छ ।

आर्थिक कृयाकलापहरुमा देखिन थालेको गति शून्यता बढ्दो बेरोजगारी दर र घट्दो उपभोक्ता आत्मविश्वासका कारण अर्थतन्त्र निराशातर्फ उन्मुख हुने अनुमान गर्न थालिएको छ । जसको सम्भावनालाई नकार्न सकिन्न ।

आयातमुखी अर्थतन्त्र भएको हाम्रो जस्तो देशको लागि हाल बढ्दो रुपमा रहेको अमेरीकी डलरले पनि भविष्यमा नकारात्मक असर पार्नेछ । कतै हामी 'बनाना रिपप्लिक'को मार्गतर्फ त उन्मुख भइरहेका छैनौं ?


निर्यात गरेर कमाउन वैदेशिक  रोजगारीबाहेक अरु केही उल्लेख्य छैन भन्दा त्यती फरक नपर्ला । तसर्थ निर्यात गर्ने वस्तुहरुको अभावमा आयात मात्र गर्ने 'बनाना रिपप्लिक' हुन बेर छैन हाम्रो मुलुक र अर्थतन्त्र । यस्तै किसिमको राजनितिक अराजकता तथा आर्थिक गति शून्यता बढ्दै जाने हो भने 'बनाना रिपप्लिक'को मार्गतर्फ उन्मुख हुन हामीलाई पनि समय लाग्दैन ।

सम्पूर्ण आर्थिक  सूचकांकहरु नकारात्मक दिशातर्फ उन्मुख भइरहेको आजको अवस्थामा भट्टराईको नयाँ शक्तिको तुक र औचित्य त्यती धेरै देखिन्न । विवेकी राजनेता हुने हो भने उनले तत्काल नयाँ शक्ति वा पार्टिको हठ त्यागेर देशको अर्थतन्त्र बलियो बनाउने मार्गतर्फ आफ्नो गतिविधिलाई केन्द्रित गर्नु नै उत्तम हुन्छ ।

बाबुरामले जुवाघर प्रमाणीत गर्न खोजेको सेयर बजारले उनलाई झुठो ठहर्‍याइ सक्यो । यसै सन्दर्भमा हालको कारोबार हेर्ने हो भने आम उपेक्षाकृत निरासाजनक भावनालाई पनि बजारले केही सच्चाएको मान्नु पर्छ ।

दुई ठुला राष्ट्रिय संकटको बाबजुद पनि सेयर बजारले डाक्टर सापको जुवाघरे प्रवृतिलाई हावी हुन दिएको छैन र कदापी दिने पनि छैन । तत्कालका लागि कारोबार रकममा केही कमी आए पनि करिब बीस करोडको दैनिक कारोबार भइरहेको छ । बैंकिङ क्षेत्रको नाफामा पनि अप्रत्यासीत वृद्धि भएको देखिन्छ, जुन आगामी दिनहरुमा स्वभाविक कमी आउने छ, यद्यपि यसले बजारलाई त्यति ठुलो असर नपार्ला ।

सेयर बजार निकै सन्तुलित र स्वभाविक रुपमा चलिरहेको प्रष्ट देखिन्छ । जसको आधारमा हामी भन्न सक्छौ कि सम्पूर्ण नकारात्मक गतिविधिको तत्काल अन्त्य हुने हो भने चाडैं नै सेयर बजारले पुनः एक पटक नयाँ उचाई छुने छ । तसर्थ आमलगानीकर्तालाई धैर्य साथ कारोबार गर्न आग्रह गर्दछु ।