अर्थतन्त्र कमजोर भएपनि अझै संभावना देख्दैछन् लगानीकर्ता, ठुला लगानीकर्ता सेयर होल्ड गर्दै

बिजमाण्डू
२०७२ मंसिर ११ गते ००:०० | Nov 27, 2015
अर्थतन्त्र कमजोर भएपनि अझै संभावना देख्दैछन् लगानीकर्ता, ठुला लगानीकर्ता सेयर होल्ड गर्दै

सविन मिश्र/बिजमाण्डू
काठमाडौं । एक साता अगाडि नेपाल राष्ट्र बैंकले अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै भन्यो, 'यस्तै अवस्था रहिरहे भुक्तानी सेवा अवरुद्ध हुन्छ।' त्यति मात्रै होइन उसले आर्थिक वृद्धिदर ऋणात्मक हुनसक्ने आफ्नो प्रक्षेपण पनि सार्वजनिक गर्‍यो।
 
राष्ट्र बैंकको जति 'निराषाजनक' नभए पनि स्वेतपत्र जारी गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पनि भने, '६ प्रतिशतको पूर्वअनुमानित आर्थिक वृद्धिदर २ प्रतिशतमा सिमित हुन्छ। भारतको अघोषित नाकाबन्दी लम्बिँदै गए यो अनुमान अझै तल झर्न पनि सक्छ।' यसको अर्थपनि मुलुकको आर्थिक अवस्था निकै कमजोर भयो भन्ने नै हो ।
 
देशको अर्थमन्त्री र केन्द्रीय बैंकले अर्थतन्त्रमाथि गम्भीर चुनौतिपूर्ण रहेको बताइरहँदा सेयर बजारका जानकारले भने त्यसलाई खासै वास्ता गरेका छैनन्। सेयर बजारले अर्थमन्त्री र राष्ट्र बैंकको भनाइपछि पनि धेरै गुमाएन । पछिल्ला दिनमा दैनिक १ प्रतिशतको हाराहारीमा बजार ओरालो लागेपनि यस क्षेत्रका जानकारहरु भने त्यो गिरावटलाई प्राकृतिक मान्दै लगानीकर्ताको धैर्यता र होल्ड गर्ने क्षमता बढेको बताउँछन् ।
 
'राजनीतिक रुपमा भारतसँगको सम्बन्ध बिग्रिएको होला तर गैर राजनीतिक सम्बन्ध बिग्रिएको छैन, यो अस्थायी समस्या भएकाले लगनीकर्ताले छिट्टै पुनर्जीवनको आशा गरेका छन्,' सेयर बजारका लगानीकर्ता निरञ्जन टिवरेवालाले बिजमाण्डूसँग भने, 'यसलाई बजारमा देखिएको सकारात्मक संकेतको रुपमा लिनुपर्छ।'
 
भदौमा 'अल टाइम हाइ' भएको सेयर बजार त्यसयता झण्डै २ सय अंकले घटेको छ। आर्थिक परिदृष्य गतिलो नभएपनि बजारका आन्तरिक उपकरणले सेयर बजारलाई स्थिरजस्तै बनाएको छ।
 
होल्ड गर्ने मुडमा ठुला लगानीकर्ता
संविधान निर्माणअघि बजार बुलिस ट्रेण्डमा अगाडि जाँदा धेरैले महँगोमा सेयर किने। तर महँगो किनेको त्यो सेयरको भाउ कम हुँदापनि अहिले लगानीकर्ताहरु आफूसँग भएको सेयर होल्ड गर्ने अवस्थामा छन्। विहीबार एकदिनलाई छाड्ने हो भने सेयर बजारमा भएको कारोबार रकम हेर्दा त्यही देखिने बताउँछन् स्टक ब्रोकर एसोसिएसनका पूर्व अध्यक्ष नरेन्द्र सिजापति।
 
'ठुला लगानीकर्ताले सेयर बेचेका छैनन्, छिटपुट कारोबारबाट नै २० करोड पुगेको छ,' उनले भने, 'बजारमा अहिले पर्याप्त तरलता छ। त्यसैले बैंकमा राख्ने बचतबाट भन्दा बजारबाटै केही राम्रो प्रतिफल आउने आशाले लगानीकर्ताले सेयर होल्ड गरेका छन्।'
 
टिवरेवालाले पनि लगानीकर्ताले बचतको पैसा नै खर्च गर्न सक्ने अवस्था भएको र बैंकले दिने प्रतिफल भन्दा ढिलै भएपनि सेयर बजारबाट पाइने प्रतिफल केही राम्रो भएकाले लगानीकर्ता आशावादी देखिएको बताए।
 
बैंकको पुँजी वृद्धि
नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको पुँजी वृद्धिको योजना माग्दा अधिकांश बैंकहरुले बोनसमार्फत पुँजी बढाउने योजना पेश गरेकाले दीर्घकालीन फाइदा हुने सोचमा लगानीकर्ता रहेका छन्। 'पुँजी बढाउँदा मर्जर पहिलो लक्ष्य देखिएको छ तर बोनस र राइट सेयर पनि दिने भएकाले लगानीकर्ताले त्यसैलाई हेरिरहेका पनि छन्।' टिवरेवालाले भने।
 
उनीहरुले सेयर बजारमा सबैभन्दा ठुलो हिस्सा ओगट्ने बैंकिङ क्षेत्रमा उतारचढाव कम हुनुको कारण पनि यसैलाई मानेका छन्। सेयर बजारमा कारोबार रकम बढ्न पनि बैंकिङ क्षेत्रमा नै ठुलो उतारचढाव हुनुपर्छ।
 
छिटो सकारात्मक वातावरण बन्ने आशा
भारतसँगको सम्बन्ध छिट्टै सुध्रन सक्ने भन्दै लगानीकर्ता अहिले नै हतोत्साही हुन नपर्ने बताउँछन् टिवरेवाला। नेपाल र भारतबीच लामो समय यो अवस्था नरहने भन्दै त्यसपछि सराकात्मक दिन आउने उनको भनाइ छ।
 
'वातावरण सुल्टने बित्तिकै अर्थतन्त्रमा पनि सकारात्मक प्रभाव पर्छ, लगानीको केही वातावरण पनि बन्ला,' उनले भने, 'त्यसले पनि बजारमा केही आशा बाँकी राखेको छ।'

Tata
GBIME
Nepal Life