तेल उद्योगीले दिए सरकारलाई धम्की- कारवाही गरे उद्योग बन्द गर्छौं

बिजमाण्डू
२०७२ मंसिर ११ गते ००:०० | Nov 27, 2015
विज्ञान अधिकारी/बिजमाण्डू
काठमाडौं । अभावको मौका छोप्दै खाने तेलको मूल्य दोब्बर बनाएका केही ठूला उद्योगले कारवाही गरे उत्पादनै बन्द गर्ने धम्की दिएका छन् ।
 
कच्चा पदार्थ नआएको मौका छोप्दै दोब्बर भन्दा बढी मूल्यमा खाने तेल बिक्री गरिरहेका उद्योग संचालकले कारवाही भएमा उत्पादननै बन्द गर्ने धम्की दिएका हुन् ।
 
दोब्बर भन्दा बढी मूल्यमा खाने तेल बिक्री गरेको आरोपमा वाणिज्य विभागले स्पष्टीकरण सोध्दा ती संचालकले कारवाही अघि बढाए उत्पादन बन्द गर्ने चेतावनी दिएका हुन् । यो चेतावनीपछि विभागले कुनैपनि कारवाही अघि बढाएको छैन । कारवाही अघि नबढाएपछि त्यही उद्योगले तेलको मूल्य ट्याक्सी मिटरजस्तो दैनिक रुपमा बढाउन थालेका छन् ।
 
‘खानेतेलको मूल्य अचाक्ली बढेपछि तेल उद्योगीलाई स्पष्टीकरण सोधेका थियौ । उनीहरुले कोलकोतामा कच्चा रोकिएर अतिरिक्त शुल्क तिर्नुपरेको र इन्धन अभावका कारण महँगो ढुवानी भाडा तिरेर तेल उपभोक्तासम्म पुर्‍याउनुपरेको जवाफ दिएका थिए,’ विभागका निर्देशक हरिनारायण वेल्वासेले बिजमान्डूसँग भने, ‘यस्तो असहज अवस्थामा पनि तेल उत्पादन गरेर वितरण गरिरहेका छौ । यसमा पनि कारवाही हुने हो भने हामी लेखेर दिनोस् उत्पादननै बन्द गर्छौ भनेर जवाफ दिएका छन् ।’
 
उनका अनुसार ती उद्योगीहरुले दिएको कागजपत्रका आधारमा मूल्य बढ्नुपर्ने जायज समेत देखिएको छ । विभागलाई धम्की दिएपछि उद्योगीले तिहारपछि प्रतिलिटर तेलमा ६० रुपैयाँ मूल्य बढाइसकेका छन् ।
 
भारतको अघोषित नाकाबन्दीपछि धेरै उद्योगको कच्चा पदार्थ नआएको मौका छोप्दै केही उद्योगले अस्वभाविक रुपमा तेलको मूल्य बढाएका छन् । विराटनगर, भैरहवा र नेपालगञ्जमा रहेका उद्योगले दैनिक अधिकतम खुद्रा मूल्य बढाएर खानेतेलको मूल्य बढाएका छन् । यी उद्योगको नाकाबन्दीपछि भारतबाट कच्चा पदार्थ आएको छैन । ती उद्योगले तेलको एकाधिकार भएपछि अस्वभाविक रुपमा मूल्य मात्रै बढाएर उपभोक्ता ठगी गर्दा समेत सरकारले भने कारवाही गर्न सकेको छैन ।
 
मुलुकमा रहेका १६ ठूला उद्योगमध्ये अधिकांशको रक्सौंल नामा कच्चा पदार्थ रोकिएको मौका छोप्दै मूल्य बढाबढमा ती उद्योगले तेल बिक्री गरिरहेका छन् । बिजमान्डूलाई प्राप्त प्रमाणका आधारमा तिहारअघिसम्म केएल दुगड ग्रुपले खाने तेलको मूल्य दोब्बर बनाएको थियो । अहिले यही उद्योगको मात्रै कच्चा पदार्थ स्टक रहेकोले एकाधिकार रहेको छ ।
 
सनफ्लो ब्रान्डको तेलको मूल्य अधिकतम खुद्रा मूल्य २ सय ९५ रुपैयाँ पुर्‍याएको छ । वाणिज्य विभागले स्पष्टीकरण सोध्नुअघि यो तेलको मूल्य २ सय ३५ रुपैयाँ मात्रै थियो भने नाकाबन्दी अघि १ सय २५ रुपैयाँ लिटर मात्रै थियो । धारा हेल्थ सनफ्लवारको एमआरपी ३ सय २० रुपैयाँ पुर्‍याएको छ । विभागले कारवाहीको चिठ्ठी लेख्नुअघि यो तेलको मूल्य प्रतिलिटर २ सय ७० मात्रै थियो भने नाकाबन्दीअघि यो तेलको मूल्य प्रतिलिटर १ सय ७० रुपैयाँ मात्रै थियो ।
 
धारा तोरीको तेलको मूल्य ३ सय २० रुपैयाँ पुगेको छ । विभागको कारवाहीको धम्कीअघि तोरीको तेलको मूल्य २ सय ८० रुपैयाँ लिटर थियो भने नाकाबन्दी अघि १ सय ८० रुपैयाँ मात्रै थियो ।
 
हामीलाई कसले कारवाही गर्छ ?
महँगो मूल्यमा तेल बिक्री गर्दा कारवाही नभएपछि केएल दुगडमा कार्यरत उच्च कर्मचारीले सरकारले कुनै कारवाही नगर्ने दावी गरेका छन् । उद्योगको काठमाडौं उपत्यकाको लागि कोटेश्वरमा गोदाम छ ।
 
काठमाडौं उपत्यका हेर्ने त्यहाँ कार्यरत कर्मचारीले आफ्नो उद्योगलाई कारवाहीनै गर्न नसक्ने भन्दै दैनिक मूल्य फेर्ने शक्ति रहेको बताउने गरेका छन् । ‘हामीलाई कसैले कारवाही गर्न सक्दैन । दैनिक एमआरपी बढाएर बिक्री गर्छौ कस्ले के गर्न सक्छ ?’ त्यहाँ रहेका उच्च कर्मचारीको भनाई उद्धृत गर्दै एक कर्मचारीले भने, ‘हामीले सबै राजनीतिक दललाई मिलाएका छौ । कर्मचारी सजिलै मिल्छन् ।’
 
स्रोतका अनुसार यो समूहका कर्मचारीले वाणिज्य विभाग र उच्च नेतृत्वमा मिलाइसकेको भन्दै कुनै कारवाही नहुने दावी गर्छन् ।
 
कसरी कारवाही गर्न सक्छ ?
सरकारी इच्छाशक्ति भएमा तेल उत्पादकलाई सजिलै कारवाही गर्न सकिने विभागकै एक अधिकारीले बताए । ‘कारवाही गर्ने इच्छाशक्ति हुने हो भने यो उद्योग तत्कालै कारवाही गर्न सकिन्छ । यो उद्योगले ल्याएको सामान भन्सार विन्दुबाट हेर्न सकिन्छ ।
 
नाकाबन्दीअघि आएको भए तत्कालै उद्योगलाई कारवाही गर्न सकिन्छ,’ ती अधिकारीले भने, ‘नाकाबन्दी अघि तेल आएको भए मूल्य बढ्दैन । ढुवानी भाडाका कारण एक लिटरमा केही रुपैयाँ मात्रै मूल्य बढ्छ ।’
 
नाकाबन्दीअघि आएको तेलमा विलम्व शुल्क लाग्दैन । विगत दुई महिनायता अन्तर्राष्ट्रिय बजारमा खानेतेलको कच्चा पदार्थको मूल्य समेत बढेको छैन

Tata
GBIME
Nepal Life

यो पनि पढ्नुस्: एकै दिन उत्पादन भएको तेलको मूल्य पनि फरक