एनसिसीसँग चार विकास बैंक मर्ज हुँदै, इन्फ्रास्ट्रक्चर, सुप्रिम, इन्टरनेशनल र एपेक्सवीच समझदारी

बिजमाण्डू
२०७२ मंसिर ११ गते ००:०० | Nov 27, 2015
एनसिसीसँग चार विकास बैंक मर्ज हुँदै, इन्फ्रास्ट्रक्चर, सुप्रिम, इन्टरनेशनल र एपेक्सवीच समझदारी

काठमाडौं। एनसिसी बैंक र चारवटा विकास बैंकबीच मर्ज हुने भएको छ। एनसिसीले इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैंक, सुप्रिम डेभलपमेन्ट बैंक, इन्टरनेशनल डेलपमेन्ट बैंक र एपेक्स डेभलपमेन्ट बैंकसँग मर्ज गर्न लागेको हो। मर्ज सम्वन्धी सम्झौतामा शुक्रवार साँझ एनसिसि बैंकको प्रधान कार्यालमा हस्ताक्षर समेत भएको छ।

Tata
GBIME
Nepal Life

दुई अर्ब दुई करोड रुपैयाँ चुक्ता पुँजी भएको एनसिसी बैंकसँग चार विकास बैंक मर्ज भएपछि बन्ने बैंकसँग पाँच  अर्ब ३ करोड ८३ लाख रुपैयाँको पुँजी हुनेछ । नयाँ बन्ने संस्थालाई आर्थिक वर्ष २०७४ को अन्त्यसम्ममा चुक्ता पुँजी ८ अर्ब पुर्‍याउन अझै दुई र्अब ९७ करोड रुपैयाँ आवश्यक पर्छ।

पाँचवटा बैंक तथा वित्तीय संस्थाबीच भएको सहमतिमा एनसीसी बैंकका व्यवस्थापन समितिका संयोजक लक्ष्मीप्रपन्न निरौला, इन्फ्रास्ट्रक्चरका अध्यक्ष इमानसिंह लामा, एपेक्स डेभलपमेण्ट बैंकका अध्यक्ष विष्णुप्रसाद धिताल, सुप्रिम डेभलपमेन्ट बैंकका अध्यक्ष चन्द्रप्रसाद बास्तोला र इन्टरनेशनल डेभलपमेण्ट बैंकक अध्यक्ष माधवप्रसाद भट्टले हस्ताक्षर गरेका छन्। 

चार वटा विकास बैंकमध्ये सबैभन्दा धेरै चुक्ता पुँजी इन्फ्रास्ट्रक्चर बैंकको छ। उसको पुँजी ८२ करोड ७५ लाख रुपैयाँ छ। यस्तै सुप्रिम डेभलपमेन्ट बैंकको ८१ करोड १६ लाख, इन्टरनेशनल बैंकको ७० करोड ४ लाख तथा एपेक्स डेभलपमेन्ट बैंकको ६६ करोड ६५ लाख रुपैयाँ छ।

गत आर्थिक वर्षसम्ममा यी पाँचवटा संस्थामध्ये एपेक्स डेभलपमेन्ट बैंक बाहेक सबै संस्था नाफामा छन्। एपेक्सको भने रिजर्व पनि ७ करोड ७० लाख रुपैयाँले ऋणात्मक छ।

पाँचवटा संस्था मर्जपछि बन्ने नयाँ बैंकको निक्षेप ४७ अर्ब ७० करोड रुपैयाँ पुग्ने छ। यस्तै कर्जा पनि ३७ अर्ब ८० करोड रुपैयाँ पुग्ने छ। अहिले एनसिसीको मात्रै निक्षेप २६ अर्ब ६६ करोड रुपैयाँ छ भने कर्जा लगानी २१ अर्ब ४४ करोड रुपैयाँ छ।

एनसिसी बैंकले राष्ट्र बैंकमा बुझाएको आफ्नो क्यापिटल प्लानमा पनि मर्जरबाट तीन अर्ब ७७ करोड रुपैयाँ पुँजी थप्ने उल्लेख गरेको थियो। उसले चालु आर्थिक वर्षको अन्तिमसम्ममा मर्जर तथा बोनस सेयरमार्फत ७ अर्ब १४ करोड रुपैयाँ पुर्‍याउने उल्लेख छ ।

राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत वाणिज्य बैंकहरुको चुक्ता पुँजी दुई र्अब रुपैयाँबाट बढाएर आठ अर्ब रुपैयाँ पुर्‍याउने व्यवस्था गरेसँगै बैंकहरुले मर्जरलाई जोड दिएका हुन्।

व्यवस्थापनमा समस्या भएपछि एनसिसी बैंकको व्यवस्थापन अहिले राष्ट्र बैंकले सम्हालि रहेको छ। राष्ट्र बैंकका कार्यकारी निर्देशक लक्ष्मीप्रपन्न निरौलाको टोलीले अहिले एनसिसीको व्यवस्थापन गरिरहेको छ। नयाँ बन्ने बैंकमा नाम, बोर्ड र सिइओ एनसिसि बैंकबाटै हुनेछ।

मर्जका लागि सेयर स्वाप रेसियो भने डिडिएबाट आएको अंकमा समझदारी गरेर टुङ्गो लगाउने सहमति भएको छ। त्यसैगरी डिडिएमा कुनै पनि संस्थाको सेयर स्वाप अनुपात ५० प्रतिशतभन्दा तल आए त्यसलाई बाहिर राखेर बाँकी संस्थाबीच पनि मर्ज गर्ने गरी सहमति भएको छ।

यो मर्जपछि एनसिसी बैंकमा एनबी समूहको सेयर स्वामित्व भने अझ कम हुनेछ। यस अघि एनबी समूह र निर्मल प्रधान समूहबीच बैंक व्यवस्थापनमा समस्या भएपछि राष्ट्र बैंकले व्यवस्थापनमा हस्तक्षेप गरेको हो। केन्द्रीय बैंकले मर्ज गरेपछि मात्रै व्यवस्थापन लगानीकर्तालाई हस्तान्त्रण गर्ने रणनीतिमा काम गरिरहेको छ।

राष्ट्र बैंकका प्रवक्ता त्रिलोचन पंगेनीले पाँच संस्थाबीच मर्जरको सहमति भएको जानकारी दिँदै अब राष्ट्र बैंकले प्राविधिक पक्षको विश्लेषण गरी मर्जरको स्वीकृति दिने बताए।