जलविद्युत आयोजनालाई इन्धन उपलब्ध गराउने सरकारको तयारी, पाँच दिनभित्र संकटकाल घोषणा हुने

बिजमाण्डू
२०७२ मंसिर १२ गते ००:०० | Nov 28, 2015

सविन मिश्र/बिजमाण्डू
काठमाडौं। सरकारले निर्माणाधीन जलविद्युत आयोजनाको काम अगडि बढाउन इन्धन उपलब्ध गराउने भएको छ। निर्माण सम्पन्न हुने चरणमा रहेका जलविद्युत आयोजनाको काम अगाडि बढाउन प्राथमिकीकरण गरेर इन्धन उपलब्ध गराउने तयारी सरकारले थालेको हो।
 

Tata
GBIME
Nepal Life

'विद्युतसँग सम्बन्धित आयोजनालाई पहिलो प्राथमिकतामा राखेर अगाडि बढ्ने योजनास्वरु हामीले काम गरिरहेका छौं।'
…………………

टोपबहादुर रायमाझी
उपप्रधानमन्त्री एवं ऊर्जामन्त्री

 

भूकम्पका कारण काम ठप्प भएका आयोजनाहरु नाकाबन्दीपछि झन मारमा परेको र तिनिहरुको निर्माण सम्पन्न हुने मिति लामो समय धकेलिने देखेपछि ऊर्जा मन्त्रालयले आयोजनालाई इन्धन उपलब्ध गराउने तयारी अगाडि बढाएको उपप्रधान तथा ऊर्जामन्त्री टोपबहादुर रायमाझीले जानकारी दिए।
 
'विद्यालय, स्वास्थ्य क्षेत्र, प्रसलगायतलाई जसरी नै निर्माण सम्पन्न हुन लागेका जलविद्युत आयोजनालाई इन्धन दिने गृहकार्य हामीले गरिरहेका छौं,' रायमाझीले बिजमाण्डूसँग भने, 'विद्युतसँग सम्बन्धित आयोजनालाई पहिलो प्राथमिकतामा राखेर अगाडि बढ्ने योजनास्वरु हामीले काम गरिरहेका छौं।'
 
सरकारले माथिल्लो तामाकोशी, माथिल्लो मर्स्याङ्दी ए लगायतका जलविद्युत आयोजनालाई विशेष रुपमा इन्धन उपलब्ध गराउने तयारी अगाडि बढाएको उनले जानकारी दिए। ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोशी आयोजनाको काम वैशाखमा भूकम्प गएयता रोकिएको छ। असोजबाट काम थाल्ने तयारी गरेपनि इन्धन नभएपछि यो आयोजनाको सबै काम रोकिएको छ।
 

इन्धन अभावका कारण निर्माणाधीन कुनै पनि जलविद्युत आयोजनासहित अन्य विकास आयोजनाको काम हुन सकेको छैन। सरकारले राष्ट्रिय गौवरका आयोजनाका रुपमा अगाडि बढाएका आयोजनाहरुको काम पनि ठप्प छ।
 
यसैबीच सरकारले आगामी पाँच दिन भित्रमा ऊर्जा संकटकाल घोषणा गर्ने भएको छ। संकटकाल घोषणाको तयारी अन्तिम चरणमा पुगेको भन्दै मन्त्री रायमाझीले पाँच दिन भित्रमा संकटकाल घोषणा गर्ने तयारी भइरहेको जानकारी दिए।
 
'ऊर्जा संकटकाल किन आवस्यक भयो र यो अवधिमा के के काम गर्न सकिन्छ भन्ने योजनाका साथ हामी अगाडि बढेका छौं,' उनले भने, 'जलविद्युत र ऊर्जाका अन्य स्रोतको विकासका काम प्रभावकारी रुपमा अगाडि बढाउने नै हाम्रो मुख्य योजना हो।'
 
उनले संकटकालपछि अर्को विस्तारित कार्ययोजना पनि अगाडि ल्याउने बताए। संकटकालको बेलामा के गर्ने र कसरी काम गर्ने भन्ने ठोस योजनासहतिको कार्य योजना ल्याउने रायमाझीले जानकारी दिए।