पौरखी युवा, जो विदेशमा भन्दा नेपालमै च्याउ खेतीमा रमाए, एकै दिनमा ६० किलोसम्म च्याउ बिक्री

बिजमाण्डू
२०७२ मंसिर १२ गते ००:०० | Nov 28, 2015
पौरखी युवा, जो विदेशमा भन्दा नेपालमै च्याउ खेतीमा रमाए, एकै दिनमा ६० किलोसम्म च्याउ बिक्री


कृष्ण खनाल-
बुटवल : तराई क्षेत्रका च्याउ उत्पादक किसानलाई अहिले काम भ्याई नभ्याई छ। पहाडी क्षेत्रमा जुनसुकै महिनामा खेती हुने भएपनि तराईका किसानले च्याउ खेती गर्न चिसो मौसम नै कुर्नुपर्छ। चिसो मौसम सुरु हुने बित्तिकै रुपन्देहीका ग्रामीण तथा सहरी क्षेत्रका किसान ब्यक्तिगत र सामुहिक च्याउ खेतीको सुरसारमा छन्।

Tata
GBIME
Nepal Life

गत वर्षदेखि बुटवल–१४ कलुवामा च्याउ खेती सुरु गरेका युवाहरुलाई हिजोआज च्याउ खेतीकै चटारो छ। भाडामा लिएको पाँच कठ्ठामा रहेको लुम्बिनी च्याउ तथा कृषि फर्ममा अर्घाखाँची, गुल्मी र कपिलबस्तुका ५ युवा जना साझेदार छन्। विदेशमा काम गरेर फर्किएर उद्यम सुरु गरेका उनीहरु कोही पराल उसिन्ने, कोही च्याउ टिप्ने, कोही प्याकिङ गर्ने र कोहीले उत्पादित च्याउ बजार लैजाने गर्छन्।

च्याउको मौसम सुरु भएयता उनीहरुले अहिले दैनिक ५० देखि ६० किलो च्याउ बिक्री गर्दै आएका छन्। बुटवलमा नै उनीहरुले होलसेल र खुद्रा रुपमा च्याउ बिक्री गर्दै आएका छन्। च्याउ खेतीका लागि उनीहरुले करिब साढे ८ लाख रुपैयाँमा तयार भएको भौतिक संरचना खरिद गरेका थिए। बर्षिक ६० हजार रुपैयाँ  जमिनको भाडा तिर्दै आएका उनीहरुले  गत बर्षमा करिब ४० क्विन्टल च्याउ बिक्री गरेर साढे ३ लाख रुपैयाँ आम्दानी गरेका थिए ।

विदेमा सेक्युरिटी गार्ड काम गरेका अर्घाखाँचीका रिसव पोखरेल भन्छन् 'धेरै बर्ष विदेशका भूमिमा पसिना बगाइयो, अब आफ्नै देशमा केही गरौं भनेर सानो लगानीबाट यो व्यवसाय सुरु गरेका हौं।’ यी युवा उद्यामीहरुले सुरु गरेको यो फर्मलाई आगामी दिनमा बहुउद्देयीय फर्मको रुपमा विकास गर्ने योजना बनाएका छन्। ‘भविष्यमा पशुपालन, लेयर्स कुखुरापालनतर्फ पनि अघि बढ्ने योजना रहेको छ’अर्का सञ्चालक हेमराज मरासेनीले भने। उनीहरुले च्याउ होलसेलमा प्रतिकिलो २ सय रुपैयाँ र खुद्रा २ सय ४० रुपैयाँमा बिक्री गर्छन्।

किताबमा पढेको र सुनेको आधारमा च्याउ खेती गर्न थालेको बताउने उनीहरुलाई अहिले भने राम्रो काममा नै हात हालेको अनुभूति भएको छ।
दाउरा महङ्गिएर समस्या
किसानले च्याउ उत्पादनको लागि उसिनेको पराल प्रयोग गर्नुपर्दछ। जसको लागि पराललाई मसिनो पारेर काटेर ठूला भाँडाहरुमा पकाइन्छ। यसरी पकाएको पराललाई प्लाष्टिकमा राखेर च्याउको बीउ छरिन्छ। भारतले गरेको नाकाबन्दीको कारण दाउरा समेत अभाव हुँदा किसानहरु समस्यामा परेका छन्।

अहिले बजारमा एक किलो सालको दाउरालाई १४ रुपैयाँ देखि १७ रुपैयाँसम्म पुगेको छ। रुपन्देहीको ग्रामीण क्षेत्र र सहर नजिक रहेका स्थानहरुमा च्याउ खेती हुदै आएको छ। च्याउ खेतीको यकिन तथ्यांक नभएपनि रुपन्देहीका करिब ५ सय किसानले ब्यवसायिक रुपमा च्याउ खेती गर्दै आएका छन्।
 
बीउको अभाव
च्याउ खेती लगाउने समय भएपनि किसानले पर्याप्त बीउ पाएका छैनन्। बुटवलको लुम्बिनी च्याउ बीउ उत्पादन केन्द्रका सञ्चालक कृष्ण पौडेलले नाकाबन्दीमा केमिकल र ग्यासको अभावका कारण माग अनुसार बीउ उत्पादन गर्न नसकेको बताए। दुई बर्षदेखि च्याउको बीउ मात्रै उत्पादन गर्दै आएको उक्त केन्द्रले पुराना ग्राहकलाई जेनतेन दिएपनि नयाँ ग्राहकलाई बीउ दिन सकेको छैन।

जिल्ला कृषि विकास कार्यालयले यस बर्ष ५ हजार प्याकेट बीउ ५० प्रतिशत अनुदानमा वितरण गरेको छ। इन्धन अभावको कारण काठमाडौंमा तयार हुने च्याउको बीउको अभाव भएको कारण थोरै मात्र वितरण गर्न सकेको कृषि विकास कार्यालयका बाली संरक्षण अधिकृत रामबहादुर खत्रीले बताए।