नाकाबन्दीले सामान नआउँदा उखु मिल अझै चल्न सकेनन्, लाखौं क्विन्टल उखु खेतमै, किसान चिन्तित

बिजमाण्डू
२०७२ मंसिर १२ गते ००:०० | Nov 28, 2015

महोत्तरी। साढे तीन महिनादेखि बन्द हडतालले महोत्तरीको रामनगरस्थित एभरेष्ट चिनी मिल सञ्चालनमा नआउँदा उखु किसानमा चिन्ता बढेको छ ।
 
मिल सञ्चालनमा नआउँदा महोत्तरी,सर्लाही,सिरहा र सर्लाहीका उखु किसानले खेतमा लगाएको दुई अर्ब नौ करौड ७५ लाख ५० हजार रुपैयाँ बराबरको उखु क्रसिङ्ग हुन सकेको छैन । उखुको रस तताउने पाइप लोड गरिएको सवारी साधन नाकामै रोकिदा मिल सञ्चालनमा आउन नसकेको हो ।
 
मिलको मर्मतसम्भारको काम अन्तिम चरणमा पुगेको एभरेष्ट चिनी मिलका महाप्रबन्धक कृष्णचन्द्र दासले बताए । उनले भने,‘चिनी मिलको ९० प्रतिशत मर्मतको कार्य सम्पन्न भयो । तर जारी बन्दले आवश्यक यन्त्रका पाटपूर्जा महिनौंदेखि नाकाबन्दीले सितामडीमा रोकिएको छ ।’
 
मिलको १० प्रतिशत काम नाकामा रोकिएको पाटपूर्जा आए भन्ने १० दिनमा नै चिनी मिललाई ट्राएल चेकजाँचको अवस्थामा ल्याउन सक्ने भन्दै उनले चिनी उद्योग सञ्चालन गर्न सरकारले चासो नदिएका कारण हजारौं किसान समस्यामा पर्ने निश्चित रहेको बताए ।
 
गएको क्रसिङ्ग सिजन मङ्सिर १८ सुरु भएको थियो । तर यो वर्ष दुई महिनादेखिको नाकाबन्दी र तीन महिनाभन्दा बढिको निरन्तरको बन्दले भारत हुँदै आउने सरसमान आउन नसक्दा चिनी मिल कहिले सञ्चालनमा आउने हो निश्चित छैन ।
 
महोत्तरी,सर्लाही,धनुषा,सिरहागरी चार जिल्लाका ३३ हजार किसानले २७ हजार ६ सय बिघा क्षेत्रफलमा लगाएको उखु क्रसिङ नभएको एभरेष्ट चिनी मिल रामनगरका प्रमुख उखु प्रबन्धक पवनकुमार झाले बताए ।
 
यस वर्ष महोत्तरीका १५ हजार उखु कृषकले ११ हजार विघामा लगाएको २२ लाख क्वीन्टल उखु तयारी अवस्थामा खेतमा छ । तीन हजार विघा क्षेत्रफलमा धनुषाका उखु किसानले गरेको उखु खेतीमा चार लाख ५० हजार क्विन्टल उखु तयारी अवस्थामा छ ।
सर्लाहीका आठ हजार ६ सय किसानले १० हजार बिघामा लगाएको १५ लाख क्विन्टल उखु तयारी अवस्थामा रहेको प्रमुख उखु प्रबन्धक झाले बताए ।
 
त्यसैगरी  सिरहाका पाँच हजार किसानले तीन हजार बिघा क्षेत्र फलमा लगाएको चार लाख गरी चार जिल्लमा कुल ४५ लाख ५० हजार क्विन्टल उखु तयारी अवस्थामा रहेको एभरेष्ट चिनी मिल रामनगरको तथ्याङ्कमा उल्लेख छ ।
 
यी चारै जिल्लामा लगाएको कुल उखु खेतीमध्ये ६५ प्रतिशत खुट्टी (एक पटक काटेर अर्को पटक उत्पादन लिन सकिने) र ३५ प्रतिशत मुरहन रहेको छ ।
 
गएको वर्षको क्रसिङ्ग सिजनमा एभरेष्ट मिलले ४९ लाख ५० हजार क्विन्टल उखु क्रसिङ्ग गरेको थियो ।
 
उखु मिल सुरु नभए उखु किसानको लगानी चौपट हुने उखु उत्पादक कृषक सङ्घ महोत्तरी रामनगरका अध्यक्ष नरेश सिंह कुश्वाहाले बताए । रासस

Tata
GBIME
Nepal Life