भूकम्प र नाकाबन्दीले होटलको लागत बढ्यो, ८ अर्ब अनुमान गरिएको होटलको लगानी १३ अर्ब

बिजमाण्डू
२०७२ मंसिर १२ गते ००:०० | Nov 28, 2015
भूकम्प र नाकाबन्दीले होटलको लागत बढ्यो, ८ अर्ब अनुमान गरिएको होटलको लगानी १३ अर्ब

विज्ञान अधिकारी/बिजमाण्डू

Tata
GBIME
Nepal Life

काठमाडौं । गैरआवासीय नेपाली शेष घलेले निर्माण थालेका पाँच तारे होटल शेराटनको लागत पाँच अर्ब रुपैयाँ बढ्ने भएको छ । भूकम्पपछिको सुरक्षात्मक उपाय अपनाउनुपर्ने भएपछि होटलको लागत बढ्ने भएको हो ।
 
एक वर्षअघि काठमाडौंमा शिलान्यास गर्दा होटलको लागत आठ अर्ब रुपैयाँ लाग्ने घलेले घोषणा गरेका थिए । होटल शेराटनको शिलान्यास तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले गरेका थिए ।
 
शिलान्यास गरेसँगै होटलको निर्माण कार्य पनि सुरु भएको थियो। तर भूकम्प र भारतको अघोषित नाकाबन्दीपछि होटल शेराटनको लागत बढ्ने 

देखिएको हो ।
 
‘भूकम्पपछि हामीले अनुमान गरेको भन्दा धेरै बढी होटलको लागत लाग्ने देखिएको छ,’ घलेले भने, ‘मैले होटलको प्रोजेक्ट सुरु गर्दा आठ अर्ब रुपैयाँमा सक्ने भनेको थिएँ तर अहिले त्यो सजिलै १३ अर्ब पुग्ने देखिएको छ ।’
 
उनले नेपालमा गरेको लगानीमा आर्थिक पाटो मात्रै नजोडिएको भन्दै भावनासमेत जोडिएकाले होटलमा लागत मात्रै नहेरेको बताए । ‘हाम्रो लगानीको प्रतिबद्धता भनेको त्यसमा भावना पनि जोडिएको हुन्छ, विदेशीले लगानी गरेको भए उसलाई छोडेर जाने वा सस्पेन्ड गरेर जाने अप्सन हुन्थ्यो,' उनले भने, 'तर हामीसँग नेपालसँग भावनात्मक सम्बन्ध जोडिएकाले लागत मात्रै हेरेका छैनौं, त्यसैले निरन्तर काम अघि बढाएका छौं ।’
 
तर उनले अझैपनि नेपालमा नीतिगत रुपमा धेरै झझन्ट रहेकोले भावनात्मक सम्बन्धले मात्रै लगानी गर्न कठिन हुने बताए । ‘कतिसम्मको भावनाले हामी लगानी गर्न सक्छौं ? तपाईसँग क्षमता कति छ ?' घलेको प्रश्न छ, ‘म अलिकति लगानी गर्न सक्ने थिएँ र मैले गरे तर हाम्रो कति साथीहरुमा यो क्षमता ?’
 

भुकम्पसँगै भारतको नाकाबन्दीका कारण पनि होटेलको लागत बढेको छ । नाकाबन्दीपछि इन्धन अभावले समयमा होटल सम्पन्न गर्नसमेत कठिन हुने देखिएको छ ।
 
घलेले शेराटन ब्रान्डमा विश्वव्यापी चेन बनाएको स्टारवुड कम्पनीसँग साझेदारी गरिसकेका छन् । घलेले सन् २०१७ भित्रै काठमाडौंको कान्तिपथमा होटल निर्माण गरिसक्ने लक्ष्य राखेका थिए । यो होटलको व्यवस्थापन सन् २०१८ फेब्रुअरी १ बाट स्टारवुडले लिने सम्झौता भएको थियो ।
 

'शेराटन राजधानीको मुख्य केन्द्रमा छ, कान्तिपथको यो होटल पुग्न विमानस्थलबाट ४० मिनेट लाग्छ, पर्यटकीय हव ठमेलसँग जोडिएको, दूतावास, बैंक, कर्पोरेट कार्यालय र नारायणहिटी म्युजिअमले जोडिएको स्थानमा होटल खोल्दा   हामीलाई फाइदा पुग्नेछ,'  उनले भने।

 झण्डै १४ रोपनी जग्गामा बन्न लागेको होटलमा २ सय २५ वटा लक्जरी कोठा हुनेछन् । शेराटन काठमाडौंका सबै कोठामा अल ह्वाइट शेराटन स्वीट स्लिपर बेड हुनेछन् । उच्च गतिको इन्टरनेट, लक्जरियस बाथ एण्ड बोडि प्रोडक्ट पनि होटलमा हुनेछन् । शेराटनको लविमा माइक्रोसफ्टको लिंक एट शेराटन वाइफाइ हुनेछ । होटलमा चार वटा रेष्टुरेण्ट, स्पा, स्विमिङ्ग पुल, फिटनेश सेन्टर लगायतका सेवा हुनेछन् ।
 
अष्ट्रेलियाको स्थानीय पत्रिकाको र्‍यांकिङमा घले त्यहाँका १ सय ६६ औं धनी व्याक्ति हुन् । उनले अष्ट्रेलियाको उच्च शिक्षा र रियलस्टेट व्यापारमा ठूलो लगानी गरेका छन् । एमआइटी समूहका अनुसार १६ वर्षदेखि अष्ट्रेलियामा आफ्नो व्यापार विस्तार गरेका घलेको रियलस्टेटमा मात्रै साढे १७ करोड डलर अर्थात झण्डै १६ अर्ब रुपैयाँ लगानी छ ।

 

गतवर्षको विवरणअनुसार उनीसँग २३ करोड ७० लाख डलर २१ अर्ब ५६ करोड रूपैयाँ बराबरको सम्पत्ती छ । उनले अष्ट्रेलियाको मेलवर्नमा झण्डै एक दर्जन ठूला भवन सञ्चालन गरिरहेका छन् ।
 
होटलमा गर्न लागेको यो लगानीपछि नेपालमा घले दोस्रो ठूलो गैरआवासीय लगानीकर्ताका रुपमा स्थापित हुनेछन् । यसपहिले उपेन्द्र महत्तो र उनको टीमले नेपालको दूरसञ्चार, बैंक, जलविद्युत, शिक्षा र स्वास्थ्य क्षेत्रमा ठूलो लगानी गरेको छ ।

 

स्टारवुडले यसअघि पाँच तारे एभरेष्टसँगको व्यवस्थापन साझेदारीमा एभरेष्ट शेराटन होटल सञ्चालन गरेको थियो तर दुई कम्पनीको साझेदारी टुटेपछि शेराटन फेरी दोस्रोपटक घलेसँगको साझेदारीमा नेपाल आउन लागेको हो ।
 
अहिले पनि सोल्टीको व्यवस्थापन क्राउन प्लाजा, ह्यात रिजेन्सी, र्‍याडिशनमा विदेशी व्यवस्थापनले चलाइरहेका छन् । स्टारवुडले नेपालसँगै बंगलादेशको ढाका र श्रीलंकाको कोलोम्बोमा पनि व्यवस्थापन साझेदारीको तयारी गरिरहेको छ ।
 

सन् १९७३ मा दक्षिण एशियामा प्रवेश गरेको शेराटनले ढाकामा ले मेरिडियनमार्फत बंगलादेशमा फेरि प्रवेश गरेको हो । ढाकाको यो होटल भने सन् २०१६ मा सञ्चालनमा आउने छ । कम्पनीले श्रीलंकामा पनि कोलोम्बो इन्टरनेशनल एयरपोर्टमा फोर प्वाइन्सट शेराटन र राजधानी कोलोम्बोमा शेराटन कोलोम्बो होटल चलाउनेछ ।
 
स्टारवुडले शेराटन ब्राण्डमा विश्वमा ३४ वटा होटल तथा रिसोर्टको व्यवस्थापन चलाइरहेको छ भने यही ब्राण्डमा थप २४ वटा होटल तथा रिसोर्ट निर्माण, सञ्चालन र व्यवस्थापन जिम्मा लिने तयारी गरिरहेको छ । अमेरिकी कम्पनी स्टारउडले सन् २०१५ सम्म आफ्नो व्यवस्थापनमा सयवटा शेराटन होटल सञ्चालनको तयारी गरिरहेको छ ।