एनसेलको स्वामित्व मलेसियाको एक्जियटाले डेढ खर्ब रुपैयाँभन्दा बढीमा किन्दै, यसै साता डिल



बिजमाण्डू
२०७२ मंसिर १७ गते ००:०० | Dec 3, 2015
एनसेलको स्वामित्व मलेसियाको एक्जियटाले डेढ खर्ब रुपैयाँभन्दा बढीमा किन्दै, यसै साता डिल
विज्ञान अधिकारी/बिजमाण्डू
काठमाडौं । देशको सबैभन्दा ठूलो टेलिकम कम्पनी एनसेलको सेयर नर्डिक कम्पनी टेलियासोनेराबाट मलेसियाली कम्पनी एक्जियटाले खरिद गर्ने भएको छ । स्रोतले भन्यो, खरिद विक्री सम्वन्धी ‘डिल’ भैसकेको छ, खरिद सम्झौतामा एक साता भित्र हस्ताक्षर हुन्छ ।
खरिद मूल्यको एकिन विवरण प्राप्त भएको छैन्, तर कम्पनीको पुरै मूल्यांकन भने एक अर्ब ५५ करोड डलरदेखि एक अर्ब ६५ करोड डलरको बीचमा छ । यो कारोवार रकम नेपालको व्यापारिक इतिहासमा सबैभन्दा ठूलो कारोवार रकम हुनेछ ।
 
टेलियासोनेराले एनसेललाई एक अर्ब ८० करोड डलरमा एक्जियटालाई अफर गरेको थियो । एक्जियटाले पनि एक अर्ब ५० करोड डलरबाट अफर सुरु गरेको थियो ।
 
दुई कम्पनीवीच एनसेल खरिद विक्रीका लागि चार वटासम्म ड्राफ्ट तयार भएका थिए । चौथो ड्राफ्ट फाइनल भएको हो, यसैमा कम्पनीको मूल्यांकन, भुक्तानी प्रक्रिया, एनसेलबाट टेलियासोेनेराको ‘एक्जिट प्लान’ समावेश छन्, स्रोतले भन्यो । 
 
दुवै पक्षले ‘ओके’ गरेको यो ड्राफ्टमा यसै साता वा धेरै लम्बिए अर्को सातासम्म हस्ताक्षर गरेर सार्वजनिक हुनेछ । सार्वजनिक विवरणअनुसार एनसेलमा टेलियासेनेराको ६०.४ प्रतिशत सेयर होल्डिङ छ । त्यसैगरी उपेन्द्र महतोकोतर्फबाट निरजगोविन्द श्रेष्ठको नाममा २० प्रतिशत सेयर छ । भने कजाख कम्पनी भाइजरको १९.६ प्रतिशत सेयर छ ।
 
तर श्रेष्ठको सेयर पनि टेलियासोनेराकै वित्तीय कम्पनी टेलियासोनेरा युटिएमा धितोमा छ । यसवापत श्रेष्ठले युटिएबाट सन् २०१२ मा २३ करोड डलर ऋण लिएका छन् । 
 
टेलियासोनेरा र श्रेष्ठवीच अप्रिल २०१२ मा एउटा सम्झौता भएको थियो ।  सम्झौतामामा नेपाली कानुनले अनुमति दिए श्रेष्ठसँग भएको सेयर टेलियासोनेराले ‘एक्वायर’ गर्ने अघिकार प्राप्त थियो । 
 
त्यही अधिकार बेचे वापत श्रेष्ठले युटिएबाट एक अर्ब ८६ करोड स्विडिश क्रोनर (२३ अर्ब रुपैयाँ) ऋण पाएका थिए।

किन छड्दै नेपाल
अढाई महिना अघि टेलियासोनेराले नेपाल लगायत युरोएशिया क्षेत्रका सात देशका टेलिकम कम्पनीमा गरेको लगानी फिर्ता गर्ने घोषणा गरेको थियो । 
 
नेपाल लगायत केही देशमा गरेको लगानीबाट प्रतिफल लैजान भएको कठिनाई, स्थानीय साझेदारमा समस्याका कारण काजकस्तान, उज्वेकिस्तान, अजरवैजान, जर्जिया, माल्डोभा र ताजकस्तानबाट लगानी फिर्ता गर्ने घोषणा टेलियसोनेराको बोर्डले गरेको थियो ।
 
योसँगै युरोएशिया क्षेत्रमा गरेको लगानीमा गडबढी भएपछि अहिले अमेरिकी र स्वीडेनको अदालतमा समेत टेलियासोनेराले मुद्दा  खेपिरहेको छ । यसले पनि टेलियासोनेरालाई यो क्षेत्रको लगानी फिर्ता गर्न दवाव परिरहेको थियो ।
 
भ्याुलएशन एक अर्ब
एनसेलमा टेलियासोनेराले अहिलेसम्म ७५ करोड डलर (करिव ६७ अर्ब रुपैयाँ विभिन्न समयमा गरेको लगानी र त्यसको डलर सटहीको आधार) लगानी गरेको छ । यो लगानी सेयर खरिद तथा नेपालमा सेवा विस्तारमा गरेको लगानी हो ।
 
एनसेलमा कम्पनीले ६७ अर्ब रुपैयाँ खर्च गरिसके पनि कम्पनीको चुक्ता पुँजी भने नौ करोड ८० लाख रुपैयाँ मात्रै छ । अहिलेसम्म गरेको लगानी, त्यसवाट प्राप्त प्रतिफल लगायत सबै हिसावलाई आधार मान्दा टेलियासोनेराले एनसेलको मूल्यांकन एक अर्ब डलर छ । 
 
कम्पनीले मुनाफा गर्ने आधार र त्यसबाट हुने प्रतिफललाई मूल्यांकन गरेर फ्युचरिस्टिक प्राइस भने एक अर्ब ८० करोड डलर मूल्यांकन गरेको थियो ।
 
नाफाको हिसाव छैन्
नेपालमा लगानी गरे पनि त्यसवाट टेलियासोनेराले प्रतिफल लैजान भने सकेको छैन् । कम चुक्ता पुँजीबाट उच्च मुनाफा कमाएको, चुक्ता पुँजी कहाँबाट कुन प्रक्रियामार्फत नेपाल आएको हो, त्यसको विवरण नभएपछि नेपाल राष्ट्र बैंकले लाभांस विदेश लैजान दिएको छैन् । 
 
कम्पनीले तीन आर्थिक वर्ष अघिसम्म त्यस अघिका तीन आर्थिक वर्ष गरेको मुनाफाबाट ११ अर्ब रुपैयाँ लाभांस विदेश लैजानका लागि अनुमति मागेको थियो । अहिलेसम्म त्यो रकम विदेश गएको छैन् । 
 
त्यसैगरी एनसेलले पछिल्लो तीन आर्थिक वर्षको लाभांस घोषणा नै गरेको छैन् । पछिल्लो तीन आर्थिक वर्षमा कम्तिमा पनि लाभांस घोषणायोग्य ५० अर्ब रुपैयाँभन्दा बढी रकम एनसेलसँग छ ।
 
कस्तो कम्पनी हो एक्जियटा
मलेसियाको टेलिकम कम्पनी एक्जियटाले पूर्वी एशिया र दक्षिण एशियामा सेवा विस्तार गरिरहेको छ । कम्पनीले मलेसियामा सेलकम टेलिकम सञ्चालन गर्छ । त्यसैगरी सिंगापुरमा एमवानमा लगानी छ ।

Tata
GBIME
Nepal Life

इन्डोनेशियामा एक्सएल एक्जियटा र कम्बोडियामा स्मार्टमा लगानी गरेको छ । 
 

एक्जियटाले भारतको आइडियामा २० प्रतिशत, बंगलादेशको रोबिमा ९२ प्रतिशत, श्रीलंकको डाइलगमा ८३ प्रतिशत सेयर लगानी गरेको छ । एक्जियटाका लागि नेपाल भने नयाँ बजार हो ।
 
कम्बोडियाको स्मार्ट टेलिकम पनि एक्जियटाले टेलियासोनेराबााट उपेन्द्र महतो–सतिशलाल आचार्य हुँदै खरिद गरेको थियो । कम्बोडियाको स्मार्टमा एक्जियटाको ९७ प्रतिशत सेयर लगानी छ । बाँकी तीन प्रतिशत सेयर नेपाली लगानीकर्ता सतिशलाल आचार्यको हुन सक्ने विश्लेषण छ, यसको पुष्टि गर्ने आधार भने छैन् ।
 
एशियाको सबैभन्दा ठूलो टेलिकम कम्पनीका रुपमा दावी गर्ने एक्जियटाको नेटवर्कमा २६ करोड उपभोक्ता छन् । सन् २०१४ मा यो कम्पनीले १८ अर्ब रिंगिट पाँच अर्ब ७० करोड डलरको आम्दानी गरेको थियो । कम्पनीको बजार पुँजीकरण ५० अर्ब रिंगिट बराबर छ । यो कम्पनीको नेटवर्कमा २५ हजारले रोजगारी पाएका छन् । 
 
एक्जियटामा मलेसिया सरकारको ३८ प्रतिशत सेयर स्वामित्व छ । त्यसैगरी त्यहाँको कर्मचारी सञ्चय कोषको १५ प्रतिशत र विदेशी लगानीकर्ताको १७ प्रतिशत सेयर छ ।