बिओके र लुम्बिनी बैंक गाभिने सम्झौतामा हस्ताक्षर, पुँजी अनुपात १:०.८२८१ हुने सहमति



बिजमाण्डू
२०७२ पुष ९ गते ००:०० | Dec 24, 2015
बिओके र लुम्बिनी बैंक गाभिने सम्झौतामा हस्ताक्षर, पुँजी अनुपात १:०.८२८१ हुने सहमति


काठमाडौं । दुई वाणिज्य बैंकहरु बैंक अफ काठमाडौं र लुम्बिनी बैंकबीच मर्जरमा जाने सम्झौता भएको छ । दुई बैंकबीचको मर्जरसम्बन्धि सम्झौतामा विहीबार हस्ताक्षर भएको हो । योसँगै राष्ट्र बैंकको मर्जर तथा एक्विजिसन नीतिपछि पाचौं पटक दुई वाणिज्य बैंक मर्ज हुँदैछन् ।

Tata
GBIME
Nepal Life

बैंक अफ काठमाडौं र लुम्बिनी बैंकबीच सेयर सट्टा अनुपात १:०.८२८१ हुने सहमति पनि भएको छ । यो सहमति नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि मात्रै लागु हुने बैंक अफ काठमाडौंका प्रमुख कार्यकारी अधिकृत अजय श्रेष्ठले जानकारी दिए ।

दुवै बैंकले २०७४ को असार मसान्तसम्ममा ८ अर्ब रुपैयाँ पुँजी पुर्‍याउनु पर्ने मौद्रिक नीतिको व्यवस्था अनुसार यो निर्णय गरेको बताएका छन् । गत आर्थिक वर्षको अन्त्यसम्ममा बिओकेको चुक्ता पुँजी २ अर्ब १२ करोड रुपैयाँ थियो । उसले प्रस्ताव गरेको बोनस सेयर वितरणपछि चुक्ता पुँजी २ अर्ब ६७ करोड रुपैयाँ पुग्दैछ ।

लुम्बिनी बैंकको चुक्ता पुँजी २ अर्ब रुपैयाँ रहेको थियो । यो बैंकको पनि बोनस वितरणपछि चुक्ता पुँजी २ अर्ब ३० करोड रुपैयाँ पुग्दैछ ।

दुई बैंक गाभिने सम्झौतामा बिओकेका तर्फबाट सञ्चालक समितिका अध्यक्ष सत्यनारायण मानन्धर तथा प्राडा हेमराज सुवेदी तथा लुम्बिनीका तर्फबाट सञ्चालक समितिका अध्यक्ष प्रकाश श्रेष्ठ तथा सुवर्लाल श्रेष्ठले हस्ताक्षर गरेका छन् । मर्जपछि बन्ने बैंकको नाम बैंक अफ काठमाडौं लुम्बिनी  रहनेछ ।

अहिले बैंक अफ काठमाडौंको ५१ शाखा सञ्चालनमा छन् । बैंकले छिट्टै नयाँ शाखा खोल्ने तयारी गरेको छ । यस्तै लुम्बिनीको देशभर १८ शाखा छन् । देशका विभिन्न स्थानमा बिओकेको ५७ तथा लुम्बिनीका पाँचवटा एटिएम सञ्चालनमा छन् ।

राष्ट्र बैंकको मर्जर नीतिपछि पाचौं पटक दुई वाणिज्य बैंक मर्ज हुन लागेका हुन् । यसअघि कमर्ज एण्ड ट्रस्ट बैंक र ग्लोबल आइएमई बैंक, एनआइसी बैंक र बैंक अफ एसिया तथा प्रभु बैंक र ग्राण्ड बैंक मर्जरमा गइसकेका छन् । प्रभु र ग्राण्डको एकीकृत कारोबार माघबाट सुरु हुँदैछ । जनता बैंक र माछापुच्छ्रे बैंकबीच मर्जरको सहमति भएपनि एकीकृत कारोबारको टुंगो लागेको छैन ।