आठ वाणिज्य बैंककै सेयर कारोबार स्थगित, १९ करोड ३५ लाख ५६ हजार कित्ता रोकियो



बिजमाण्डू
२०७२ पुष १२ गते ००:०० | Dec 27, 2015
काठमाडौं । पुँजी बजारमा सर्वाधिक हिस्सा ओगट्ने वाणिज्य बैंक समूहका आठ कम्पनीको सेयर कारोबार रोकिएको छ । मर्ज गर्न सम्झौता गरेका आठ वटा वाणिज्य बैंकको सेयर कारोबार रोकिएपछि बजारको कारोबार रकमसमेत कम भएको छ । 
 
मर्ज सम्झौता गरेका प्रभू, ग्राण्ड, माछापुच्छ्रे जनता, बैंक अफ काठमाण्डू, लुम्बिनी, मेगा र एनसीसी बैंकको सेयर कारोबार रोकिएको छ । बजारमा सूचीकृत २९ वटा वाणिज्य बैंक आठ वटाको सेयर कारोबार रोकिँदा बजारमा कारोबारसमेत थोरै देखिएको छ । 
 

वाणिज्य बैंक, विकास बैंक, फाइनान्स कम्पनी र बीमा कम्पनीलाईसमेत जोड्दा पुँजी बजारमा ८१ प्रतिशत छ । वाणिज्य बैंक समूहको मात्रै करिब ५२ प्रतिशत छ । सबैभन्दा ठूलो हिस्सा ओगट्ने समूहकै धेरै कम्पनीको कारोबार रोकिँदा कुल कारोबार घटेको हो ।
 
प्रभू र ग्राण्ड, माछापुच्छ्रे र जनता, बैंक अफ काठमाण्डू र लुम्बिनी वाणिज्य बैंक एक आपसमा गाभिने सम्झौता गरेका छन् । त्यस्तै मेगाले पश्चिमाञ्चल फाइनान्स र एनसीसी बैंकले अन्य चार वटा विकास बैंक तथा फाइनान्स गाभ्ने सम्झौता गरेको छ । 
 
यी आठ वटा वाणिज्य बैंकको कुल १९ करोड ३५ लाख ५६ हजार आठ सय २६ कित्ता सेयर सूचिकृत छ । यो सबै सेयर रोकिँदा बजारमा कारोबार रकम थोरै देखिएको हो । यी कम्पनीको अन्तिम कारोबार मूल्यलाई आधार मान्दा बजार पुँजीकरण अनुसार कुल सेयर मूल्य एक खर्ब ५२ अर्ब ९७ करोड रुपैयाँ छ । 
 
मर्जको सम्झौता गर्ने वाणिज्य बैंकको सेयर कारोबार रोकिएपछि कारोबार ४० करोडको हाराहारीमा झरेको छ । विगतमा औसतमा ५० करोड रुपैयाँ भन्दा बढी मुल्यको सेयर कारोबार हुने गरेको थियो । 
 
कुल ३० वटा वाणिज्य बैंक मध्ये राष्ट्रिय वाणिज्य बैंकको सेयर सर्वसाधारणमा जारी भएको छैन । यस बाहेक २९ वटा बैंकको सेयर बजारमा सूचिकृत छ । 

Tata
GBIME
Nepal Life