एनसेल: स्थानीय साझेदारको कर छल्न यस्तो एरेन्जमेन्ट

बिजमाण्डू
२०७२ पुष १३ गते ००:०० | Dec 28, 2015
एनसेल: स्थानीय साझेदारको कर छल्न यस्तो एरेन्जमेन्ट


विज्ञान अधिकारी/सुदर्शन सापकोटा
काठमाडौं । एक खर्व ४० अर्व रुपैयाँ भ्यालुएशन गरिएको एनसेलको २० प्रतिशत सेयर स्वामित्वको सिधा हिसाव गर्ने हो भने मूल्य पर्छ २८ अर्व रुपैयाँ।
 
तर एनसेलको स्थानीय साझेदार बन्न लागेकि भावना सिंह श्रेष्ठले यो २० प्रतिशत सेयर मूल्यांकन गरेभन्दा छ गुणा कम अर्थात जम्मा चार करोड ८० लाख डलर (चार अर्व ८० करोड रुपैयाँ)मा खरिद गर्दैछिन्।
 
भावना सिंह श्रेष्ठ टेलिकम लगानीकर्ता सतिशालाल आचार्यकी श्रीमती हुन्। सिंगापुरको पिआर होल्डर आचार्य बरिष्ठ चिकित्सक आइएल आचार्यका जेठा छोरा हुन। उनले सिंगापुरको लाल साहु डिष्ट्रिव्युटर, स्क्वायर नेटवर्क लगायतका कम्पनीबाट नेपालको अर्को मोवाइल अपरेटर स्मार्ट टेलिकम पनि होल्ड गर्छन्।
 
यो कम्पनीको स्थानीय साझेदार सतिशका भाई सचिनलाल आचार्य हुन्। टेलिकम क्षेत्रमा क्रस होल्ड गर्न नपाइने नियम छ।  तर एक्जियटाले भावनालाई स्थानीय साझेदार छान्दा यो नियमलाई सुरुमै ताकमा राखेको छ।
 
भावना सिंहले एनसेलको २० प्रतिशत सेयर सस्तो मूल्यमा किन्दा सरकारले अर्वौं रुपैयाँको लाभकर मात्रै गुमाउँदैछैन्, उनले नेपालको कम्पनी कानून, आयकर कानुनलाई पनि लत्याउँदै छिन् ।
 
यो पूरै मामिला बुझ्नका लागि पहिले यी तथ्यहरु बुझ्नुहोस्।

Tata
GBIME
Nepal Life

 एनसेलमा अहिले निरजगोविन्द श्रेष्ठका नाममा २० प्रतिशत सेयर स्वामित्व छ। उनले यो सेयर धितोमा राखेर सन् २०१२ मा एनसेलको प्यारेन्ट कम्पनी टेलियासोनेरा युटिएबाट २३ करोड डलर(२३ अर्व रुपैयाँ) ऋण लिएका थिए।
 
यसको अर्थ नयाँ सेयरधनी हुन भावना सिंहले निरज गोविन्दको नाममा रहेको सेयर टेलियासोनेरा युटिएबाट किन्नु पर्यो। अर्थात श्रेष्ठले लिएको ऋण भुक्तानी गरेर पहिले उनको सेयर फुकुवा गर्नुपर्यो अनि त्यो सेयर आफ्नो स्वामित्वमा सार्नुपर्यो ।
 
त्यसका लागि भावनाको पूर्ण स्वामित्व रहने गरी सिंगापुरमा एउटा कम्पनी स्थापना गरियो। सुनिभेरा क्यापिटल भेञ्चर प्रा.लि.। हो, यही कम्पनीले टेलियासोनेरा युटिएलाई चार करोड ८० लाख( चार अर्व ८० करोड) डलर भुक्तानी गर्दैछ।
 
सुनिभेरा सिंगापुरले रकम भुक्तानी गरेपछि टेलियासोनेरा युटिएले निरज गोविन्द श्रेष्ठको सेयरमा रहेको आफ्नो इकोनोमिक इन्ट्रेष्ट खुला गर्नेछ।
 
यसरी ऋण मुक्त भएपछिको स्थानीय साझेदारको सेयर स्वामित्व ग्रहण गर्नका लागि भावना सिंह श्रेष्ठले काठमाडौंमा अर्को कम्पनी स्थापना गरेकी छन्। त्यो कम्पनीको नाम पनि हो, सुनिभेरा क्यापिटल भेञ्चर  प्रा. लि. ।
 
यसरी टेलियासोनेरा युटिएलाई सुनिभेरा भेञ्चर क्यापिटल सिंगापुरले रकम भुकतानी गरेपछि निरज गोविन्द श्रेष्ठको सेयर सुनिभेरा भेञ्चर क्यापिटल नेपालका नाममा आउनेछ।
 
माथिको तथ्य टेलियासोनेरा तथा एक्जियटाले सार्वजनिक गरिएको विवरणमा आधारित छ। तर बिजमाण्डूले छलफल गरेका कम्पनी कानुनका विज्ञहरु तथा चार्टड एकाउण्टेण्टले भने कम्पनीको न्युन मूल्यांकन तथा स्वदेशी सेयरका लागि विदेशबाट भुक्तानी दुवै असम्भव हुने बताउँछन्।
 
न्युन मूल्यांकन
एनसेलको भ्यालुएशन १४० अर्व रुपैयाँ गरिएको छ। त्यसको २० प्रतिशत सेयरको मूल्य २८ अर्व रुपैयाँ हुन्छ।
 
एक्जियटाले नै एनसेलमा १९.६ प्रतिशत अप्रत्यक्ष सेयर स्वामित्व किन्नका लागि रेनल्ड होल्डिङको एक साझेदार एसइए टेलिकम इन्भेष्टमेन्टलाई ३३ अर्व ५१ करोड रुपैयाँ भुक्तानी गर्ने समझदारी गरेको छ।
 
त्यसैगरी एनसेलको ६० प्रतिशत सेयरका लागि एक्जियटाले टेलियासोनेरालाई एक खर्व तीन अर्व रुपैयाँ भुक्तानी गर्दैछ। यसलाई आधार मान्ने हो भने एक्जियटाले एनसेलको २० प्रतिशत सेयरका लागि टेलियासोनेरालाई ३४ अर्व ३३ करोड भुक्तानी गर्दैछ।
 
त्यसो भए नेपाली साझेदारको सेयरलाई किन जम्मा चार अर्व ८० करोड रुपैयाँ? कर कार्यालयले आयकर ऐन २०५८ को दफा २७ अनुसार सुनिभेरा क्यापिटल भेञ्चरलाई यो प्रश्न गर्न सक्छ।
 
विदेशी लगानीकर्ताको सेयर कारोवारका लागि बढी ग्राहक भेटिन सक्छन्, त्यसकारण विदेशी सेयरको मूल्य बढी हुन सक्छ तर स्वेदशी लगानीकर्ताको सेयर मूल्य कम हुने भए पनि यति धेरै कम भने हुनै नसक्ने विज्ञहरु बताउँछन्।
 
कर कार्यालयले सुनिभेराले किन्न लागेको सेयरको दफा ५७ अनुसार रकमहरुको पुन प्रमाणिकरणमार्फत 'रिक्यापिटलाइजेशन' गर्न सक्छ। र यही आधारमा कर कार्यालयले लाभकर दावी गर्न सक्छ ।
 
ट्याक्स प्लानिङ होइन कर छली
टेलियासोनेरा तथा एसइए टेलिकम इन्भेष्टमेन्टसँग एक्जियटाले खरिद गर्ने सेयरमा कानुनका केही छिद्रलाई उपयोग गरेर ट्याक्स प्लानिङ गरेको देखिए पनि स्थानीय साझेदारको सेयर खरिदका लागि मिलाइएको एरेन्जमेन्टमा भने 'कर छली' हुने पक्का छ।

सँगसँगै यो एरेन्जमेन्टबाट भुक्तानी भए भावना सिंह श्रेष्ठको सम्पत्तीको स्रोत माथि उठ्ने प्रश्न पनि सेलाउनेछ।
 
नेपालमा दश लाख रुपैयाँभन्दा बढीको कारोवारमा सम्पत्तीको स्रोत बुझाउनु पर्छ। तर एनसेलमा स्थानीय साझेदारले सहमति गरेकै मूल्यमा सेयर खरिद गर्न पायो र नेपालबाटै भुक्तानी गर्नु पर्यो भने त्यो भुक्तानीका लागि कर तिरेको वैधानिक रकम चाहिन्छ।
 
भावना सिंह श्रेष्ठ कर्पोरेट जगतमा नयाँ नाम हो,  स्वभाविक हो,  उनीसँग नेपालबाट भुक्तानी गर्नका लागि कर तिरेको यति धेरै वैधानिक रकम हुनै सक्दैन्।
 
उनले सुनिभेर क्यापिटल भेञ्चर सिंगापुरबाट ऋण ल्याउन सक्छिन तर त्यसका लागि पनि नेपाल राष्ट्र बैंकले विदेशबाट ऋण ल्याउनका लागि सिलिङ तोकेको छ। यो व्यवस्‍थाअनुसार ४० प्रतिशत इक्वीटी पुँजी रहने गरी ६० प्रतिशतसम्म विदेशबाट ऋण लिन सकिन्छ। यति गर्दा पनि उनले दुई अर्व रुपैयाँ नगद निकाल्नु पर्छ।