काठमाडौं । सनराइज बैंकले हकप्रद सेयर निष्काशन गर्ने भएको छ । बैंकले १००:१५ अनुपातमा हकप्रद सेयर निष्काशन गर्न लागेको हो । यस अनुसार एकसय कित्ता सेयर हुनेले १५ कित्ताका लागि आवेदन दिन पाउनेछन् ।
बैंकले प्रति सेयर एकसय रुपैयाँ अंकित ३६ लाख ९० हजार चारसय ७३ कित्ता हकप्रद सेयर निष्काशन गर्न लागेको जनाएको छ । बैंकको हकप्रदमा माघ १० गतेदेखि फागुन ११ गतेसम्म आवेदन दिन पाइनेछ ।
बैंकको अहिले चुक्ता पुँजी दुई अर्ब ४६ करोड रुपैयाँ रहेको छ । यो हकप्रद सेयर बाँडफाँटपछि चुक्ता पुँजी दुई अर्ब ८२ करोड रुपैयाँ पुग्नेछ । बैंकले गत आर्थिक वर्षमा ४७ करोड रुपैयाँ खुद नाफा गरेको थियो । सनराइज बैंकले हाल ५४ वटा शाखाबाट बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।
बैंकले पुँजी वृद्धि योजना अनुसार नै हकप्रद सेयर निष्काशन गर्न लागेको हो । नेपाल राष्ट्र बैंकमा बुझाएको पुँजी वृद्धि योजनामा बैंकले १५ प्रतिशत हकप्रद निष्काशन गर्ने योजना अगाडि सारेको थियो । बैंकले सेयर बिक्री प्रबन्धकका रुपमा सिभिल क्यापिटललाई नियुक्त गरेको छ ।
यस्तै इन्नोभेटिभ डेभलपमेन्ट बैंकले पनि ३:२ को अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने भएको छ । बैंकले एकसय रुपैयाँ अंकित १० लाख कित्ता हकप्रद सेयर निष्काशन गर्न लागेको जनाएको छ । बैंकको हकप्रद माघ ८ गतेदेखि फागुन १३ गतेसम्म बिक्री खुला हुनेछ ।
अहिले बैंकको चुक्ता पुँजी १५ करोड रुपैयाँ रहेको छ । यो हकप्रद बाँडफाँटपछि चुक्ता पुँजी २५ करोड रुपैयाँ पुग्नेछ । बैंकले गत आर्थिक वर्षमा चार करोड रुपैयाँ खुद नाफा गरेको थियो । बैंकले सेयर बिक्री प्रबन्धकका रुपमा एनएमबी क्यापिटललाई नियुक्त गरेको छ ।











