यस कारण २२ भन्दा कम हुँदैन बाणिज्य बैंकहरुको संख्या



बिजमाण्डू
२०७२ पुष २२ गते ००:०० | Jan 6, 2016
यस कारण २२ भन्दा कम हुँदैन बाणिज्य बैंकहरुको संख्या


सुदर्शन सापकोटा/बिजमाण्डू
काठमाडौं । नेपाल राष्ट्र बैंकले दुई बर्षमै चुक्ता पुँजी चारदेखि २५ गुणासम्म बृद्धि गर्ने नीति लिएपछि बैंक तथा वित्तीय संस्थाहरु धमाधम मर्जरमा जान थालेका छन् ।

Tata
GBIME
Nepal Life

यसअघि नतातेका संस्थाहरु पनि पुँजी बढाउनु पर्ने वाध्यताले मर्जर सम्झौता गर्न थालेका छन् भने कतिपय मर्जरका लागि उपयुक्त संस्था खोज्दै हिडेका छन् ।

नेपाल राष्ट्र बैंकले बाणिज्य बैंकहरुलाई दुईबाट आठ अर्ब रुपैयाँ पुर्याउन निर्देशन दिएको छ । राष्ट्रिय  स्तरका विकास बैंकहरुले ६४ करोडबाट दुई अर्ब ५० करोड र फाइनान्स कम्पनीहरुलाई २० करोडबाट ८० करोड पुर्याउन निर्देशन दिएको छ । क्षेत्रीयस्तरका विकास बैंकहरुलाई २५ गुणासम्म बृद्धि गर्न निर्देशन दिएको छ ।

नेपाल राष्ट्र बैंकले पुँजी बृद्धिमा देखिने गरी अरु सर्त राखेको छैन, तर उसले मर्जर गरेर संस्था घटाउनकै लागि चारदेखि २५ गुणासम्मको पुँजी बृद्धि योजना ल्याएको हो ।

राष्ट्र बैंकको नीतिपछि कति संस्था मर्ज होलान् ? बाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीको संख्या कतिमा झर्ला ? कुन कुन संस्थाले आफै पुँजी पुर्‍याउलान् ? वित्तीय तथा पुँजी बजारको क्षेत्रमा चासोको बिषय बनेको छ ।

यो लेखमा हामी बाणिज्य बैंकहरुको कुरा गर्नेछौं । अर्को लेखमा राष्ट्रियस्तरका विकास बैंक÷फाइनान्स र क्षेत्रीयस्तरका संस्थाका बारेमा कुरा गर्नेछौं ।

अहिले नै आधा दर्जन बाणिज्य बैंकहरु मर्जमा छन् । पुँजी बृद्धि योजना आएसँगै सबैभन्दा पहिलो सम्झौता माछापुच्छ्रे बैंक र जनता बैंकबीच भएको थियो । यसअघि नै प्रभु बैंकसँग ग्रान्ड बैंक मर्ज हुने प्रकृया सुरु भइसकेको थियो ।

मेगा बैंकले पनि पश्चिमाञ्चाल विकास बैंकसँग मर्जरमा जाने प्रकृया अगाडि वढाएको थियो, जुन अझै टुङ्गिएको छैन । यो मर्जर टुङ्गिएपनि पुँजी बृद्धिका लागि मेगाले अरु संस्थालाई ल्याउनु पर्ने हुन्छ वा आफै गाभिनु पर्ने हुनसक्छ । एनएमबी बैंकले क्लिनइनर्जीसहित अन्य चार बैंकलाई भर्खरै गाभेर एकिकृत कारोबार सुरु गरिसकेको छ ।

पुँजी बृद्धि योजनापछि माछापुच्छ्रे–जनता, बैंक अफ काठमाण्डू (बिओके)–लुम्बिनी तथा नेपाल क्रेडिट एन्ड कमर्स (एनसिसी) सँग चार विकास बैंक मर्जरमा जाने सम्झौता गरिसकेका छन् । इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैंक, सुप्रिम डेभलपमेन्ट बैंक, इन्टरनेशनल डेभलपमेन्ट बैंक र एपेक्स डेभलपमेन्ट बैंक एनसिसीसँग गाभिन लागेका हुन् ।

अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले बाणिज्य बैंकहरुको संख्या १५ वटामा झरोस् भन्ने चाहेको केन्द्रीय बैंकका वरिष्ठ अधिकारीहरुले बताइरहँदा चार गुणाले पुँजी बृद्धि गर्दासमेत संख्या खासै नघट्ने देखिएको छ ।

अहिले ३० बाणिज्य बैंकहरु सञ्चालनमा छन् । प्रभु र ग्रन्डले गाभिन अन्तिम स्वीकृति पाइसकेकाले चाँडै संख्या २९ मा झर्ने छ । माछापुच्छ्रे–जनता, बैंक अफ काठमाण्डू (बिओके)–लुम्बिनी गाभिएपछि संख्या २७ मा झर्ने छ ।

अहिले तीन सरकारी बैंक छन्, राष्ट्रिय बाणिज्य, नेपाल बैंक र कृषि विकास बैंक । यि बैंक मर्जरमा जाँदैनन् । विदेशी स्वामित्वको स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल, नबिल, नेपाल एसबिआइ बैंक पनि मर्जरमा जाँदैनन् ।

बिजमाण्डूले कुराकानी गरेका विभिन्न स्रोतहरुको दावी अनुसार, नेपाल इन्भेष्टमेन्ट, हिमालयन बैंक पनि मर्जरमा जाँदैनन् । एनएमबी बैंक गाभ्ने/गाभिने एउटा चरण पार गरेर आएका कारण थप मर्जरमा जाँदैन । एभरेष्ट बैंक भने मर्जरमा जान्छ तर आफ्नो अनुकुल हुने गरी कुनै अर्को संस्थालाई आफूमा गाभ्ने योजनामा छ ।

२७ मध्ये  १० बाणिज्य बैंक मर्जरमा नजाने निश्चित नै छ । बाँकी रहे सानिमा, सेञ्चुरी, सिभिल, मेगा, सनराइज, प्राइम कमर्सियल, सिटिजन्स बैंक इन्टरनेशनल, ग्लोबल आइएमइ, सिद्धार्थ, लक्ष्मी, कुमारी, एनआइसी एसिया बैंक ।

पुँजी वढाउनु पर्ने दवाव भएको तर आफ्नो नाम मेट्न भने तयार नभएका केही बाणिज्य बैंकहरु छन् । एनआइसी एसिया, लक्ष्मी, सिद्धार्थ, सिटिजन्स, प्राइम, सनराइज, मेगा, सिभिल र सानिमा आफ्नो बैंकको नाम मेटेर जाने पक्षमा छैनन् । यि कम्पनीले अर्को संस्था हेरिरहेका छन् । ग्लोबल आइएमइलाई पुँजी बढाउनकै लागि अर्को मर्जरको दवाव छैन, मर्जरमा गए पनि उसले सानातिना संस्था ल्याउने छ ।

मर्जरमा नगइ नहुनेमा सेञ्चुरी र कुमारी बैंक देखिएका छन् । आफूले भनेजस्तो अर्को संस्था नआएमा मेगा, सिभिल, सनराइज बैंक पनि अर्कोमा गाभिन सक्छन् । तर आफ्नो नाम नमेटिने विकल्प यि बैंकका लागि ठूला पुँजीका विकास बैंक हुनसक्छन् ।

बिजमाण्डूसँगको औपचारिक/अनौपचारिक कुराकानीहरुमा बैंकका प्रमुख कार्यकारी तथा सञ्चालकहरुले सके आफै पुर्‍याउने, नसक्दा विकास बैंकहरुलाई लिएर अगाडि वढ्ने संकेत गरेका छन् । यद्यपी मोलमोलाइ मिलेमा केही बाणिज्य–बाणिज्य बैंक पनि मर्जरमा जाने उत्तिकै सम्भावना छ ।

बैंकका सञ्चालक, प्रबद्र्धक र प्रमुख कार्यकारीहरुसँग कुरा गर्दा आएको निचोड हो– बैंकको संख्या २२ भन्दा माथि नै हुन्छ तल झर्दैन । तीन सरकारी बैंक, नबिल, इन्भेष्टमेन्ट, हिमालयन, एसबिआइ, स्टान्डर्ड चार्टर्ड, एभरेष्ट, एनआइसी एसिया, एनएमबी, सानिमा, सनराइज, प्राइम, सिटिजन्स, ग्लोबल, सिद्धार्थ, लक्ष्मी बैंक अर्को संस्थामा गाभिँदैनन् । माछापुच्छ्रेले जनता ल्याउँदैछ भने, बिओकेले लुम्बिनी । यसले पनि संख्या २२ भन्दा माथि नै रहने देखाएको छ ।