क्रस होल्डिङ छल्न सतिशले रोजे कर्मचारी अनि आफन्त

बिजमाण्डू
२०७२ पुष ३० गते ००:०० | Jan 14, 2016
क्रस होल्डिङ छल्न सतिशले रोजे कर्मचारी अनि आफन्त

विज्ञान अधिकारी/सुदर्शन सापकोटा
काठमाडौं। एनसेलको २० प्रतिशत सेयर खरिद गर्दा हुने क्रस होल्डिङबाट बच्न स्मार्ट टेलिकमका लगानीकर्ता सतिशलाल आचार्यले आफ्ना दुई कम्पनी नातेदार र कर्मचारीलाई जिम्मा लगाएका छन्।
 
सतिशलाल आचार्य, भावना सिंह श्रेष्ठ तथा सचिनलाल आचार्य

Tata
GBIME
Nepal Life

कम्पनीमा एक व्यक्तिलाई मुखौटा बनाएर त्यसको असली मालिक अर्को हुने (फ्युडिसरी सर्भिसेस) मार्फत दुई कम्पनी जिम्मा लगाए पनि ती कम्पनीको अन्तिम लाभदायक भने अझै पनि सतिशलाल आचार्यको परिवार नै छ।
 
एनसेलमा सतिशले श्रीमती भावना सिंह श्रेष्ठको नाममा खोलिएको कम्पनी सुनिभेरा भेञ्चर क्यापिटल लिमिटेडबाट २० प्रतिशत सेयर खरिद गर्दैछन्। यो सेयर खरिदका लागि टेलियासोनेराले सतिशसँग क्रस होल्डिङबाट हट्नु पर्ने शर्त राखेको थियो।
 
एनसेलको खरिद विक्रिको जानकारी दिन काठमाडौं आएका टेलियासोनेरा सिइओ अफिसका वरिष्ठ सल्लाहकार सलोमन बेक्लेलाई बिजमाण्डूले क्रस होल्डिङका विषयमा समेत प्रश्न गरेको थियो।
 
जवाफमा बेक्लेले भनेका थिए, सतिशले हामीसँग स्मार्ट टेलिकम विक्रिका लागि तेस्रो पक्षसँग समझदारी भएको जानकारी दिएका छन्, एनसेलको सेयर कारोवार अघि क्रसहोल्डिङबाट उनीहरु बच्नु पर्दछ।
 
तर बिजमाण्डूलाई प्राप्त कागजातमा भने सतिशले स्मार्ट टेलिकम विक्रि नगरी स्मार्टलाई होल्ड गर्ने कम्पनीको सेयर आफन्त र कर्मचारीलाई हस्तान्तरण गरेको पुष्टि गर्छ। कसरी?
 
अझै क्रस होल्डिङ
पछिल्लो विवरणअनुसार स्मार्ट टेलिकममा तीन साझेदार छन्।
१. लालसाहु होल्डिङ, सेसिल्स ५० प्रतिशत
२. लालसाहु डिष्ट्रिव्युटर, सिंगापुर ३० प्रतिशत
३. स्क्वायर नेटवर्क, काठमाडौं  २० प्रतिशत
 
यी तीन कम्पनीमध्ये दुई कम्पनी लालसाहु डिष्ट्रिव्युटर तथा स्क्वायर नेटवर्कमा सतिशलाल आचार्यको मुख्य संलग्नता छ। तेस्रो कम्पनी लालसाहु होल्डिङ भने ट्याक्स हेभन सेसिल्समा दर्ता भएको कम्पनी हो। यो कम्पनीलाई पनि मिनोफा भेञ्चर सेसिल्सले होल्ड गर्छ।
 
मिनोफालाई भने कजाखी कम्पनीले होल्ड गर्छ। यस अघि पनि एनसेलमा सुरुवाती दिनमा कजाखी कम्पनी डाल्टो ट्रेड र भाइजरले सेयर खरिद गरेको थियो। पछि त्यही सेयर टेलियासोनेरालाई विक्रि गरिएको थियो।
 
अहिले पनि भाइजर समूहमा रहेका केही व्यक्तिले नर्वेमा खोलिएको कम्पनी एसइए टेलिकम इन्भेष्टमेन्टमार्फत एनसेलमा १९ दशमलव ६ प्रतिशत सेयर होल्ड गरिरहेका छन्। यो सेयर एक्जियटाले ३३ अर्व रुपैयाँमा खरिद गर्न एसपिए गरेको छ।
 
क) लालसाहु डिष्ट्रिव्युटर, सिंगापुर
सेञ्ट जेभिरयर्सबाट पढाइ सकिएपछि सतिशलाल आचार्य सुरुवाती दिनमा नेपालमै बसेर कम्युटर विक्रिमा लागे। पछि यही व्यापारका क्रममा उनी सिंगापुर पुगे। सिंगापुरमा उनले १९९८ मा एउटा कम्पनी दर्ता गरेका थिए। लालसाहु डिष्ट्रव्युटर।
 
१० अनसन रोड इन्टरनेशनल प्लाजा सिंगापुरमा दर्ता भएको लालसाहु डिष्ट्रिव्युटरले स्मार्ट टेलिकम स्थापना भएपछि त्यसमा ७० प्रतिशत सेयर स्वामित्व लियो। पछि प्राविधिक सहयोगका लागि स्थापना गरिएको जिलाट स्याटेलाइट नेटवर्कको दश प्रतिशत सेयर पनि लालसाहु होल्डिङले थप्यो।
 
स्मार्ट टेलिकमका विषयमा सतिशतलाल आचार्य र राजबहादुर सिंहवीच विवाद भएपछि सेसिल्समा अर्को कम्पनी खोलियो लालसाहु होल्डिङ। र यो कम्पनीमा लालसाहु डिष्ट्रिव्युटरबाट स्मार्टको ५० प्रतिशत सेयर स्वामित्व हस्तान्तरण गरियो।
 
अब लालसाहु डिष्ट्रिव्युटरसँग स्मार्टमा जम्मा ३० प्रतिशत सेयर स्वामित्व छ।
 
कम्पनी कर्मचारीलाई हस्तान्तरण
२१ डिसेम्वरमा एनसेलको २० प्रतिशत सेयर भावनासिंह श्रेष्ठले खरिद गर्ने सहमति भयो। त्यसको १४ दिन अघि ७ डिसेम्वरमा सतिशले आफ्नो स्वामित्वमा रहेको कम्पनी लालसाहु डिष्ट्रव्युटर अर्कैलाई हस्तान्तरण गरे।
 
५० लाख सिंगापुर डलर पुँजी भएको कम्पनी लालसाहु डिष्ट्रिव्युटर सिंगापुरकै नागरिक नियो काये रुवेनको नाममा गयो। उनी अहिले त्यो कम्पनीमा निर्देशक छन्  भने यो कम्पनीको कम्पनी सचिवमा छन्, भलेना लाइलानी डे गुजमान। उनी आफै सिंगापुरको पिआर होल्डर हुन्।
 
एस ८८०४११३ इ नम्वरको सिंगापुरे नागरिकता भएकी रुवेनको असली कहानी भने अर्को छ। रुवेन आफै ट्याम्पिन स्ट्रिटमा सिंगापुर सरकारले बाँडेको सरकारी घरमा बस्छिन्।
 
अब तपाई आफै अनुमान लगाउनुहोस्, ५० लाख सिंगापुर डलर लगानी गर्न सक्ने, नेपालको मोवाइल अपरेटर कम्पनी स्मार्ट टेलिकममा ३० प्रतिशत सेयर लगानी गर्ने रुवेनपछि को छ?
 
विदेशमा यस्ता कम्पनीका लागि एउटा सेवा पाइन्छ, फ्युडिसरी सर्भिसेज। यही सेवा अन्तर्गत सतिशले रुवेनलाई मुखौटाका रुपमा देखाएर स्मार्ट टेलिकममा अन्तिम लाभदायक आफू नै बनेका छन्।
 
७ डिसेम्वरमा कम्पनी अर्कैका नाममा हस्तान्तरण गरेपछि १७ डिसेम्वरमा स्मार्टमा बोर्ड डाइरेक्टर परिवर्तन गर्न पत्र लेखिएको छ। सिंगापुरकै पार्सपोर्ट(इ५४९०८६३डि) लिएका सतिशलाई बोर्डबाट हटाएपछि सिंगापुरकै नागरिक टाङ कुम मुनलाई स्मार्टको बोर्ड डाइरेक्टर बनाइएको छ। मुनको तर्फबाट स्मार्टको आठौ साधरणसभामा अजय श्रेष्ठलाई प्रोक्सी नियुक्त गरिएको थियो।
 
मरु प्याफलका अजय श्रेष्ठ उनै हुन्, जो स्मार्ट टेलिकम कम्पनी स्थापना हुँदा स्क्वायर नेटवर्कका तर्फबाट सचिनलाल आचार्यका साक्षी बसेका थिए। अब तपाई अनुमान लगाउनुहोस्, सतिशले आफ्नो कम्पनी लालसाहु डिष्ट्रव्युटर कसलाई बेचे?


स्क्वायर नेटवर्क
एनसेलमा सेयर किन्दा सतिशलाल आचार्यको स्मार्ट टेलिकममा क्रस होल्डिङ हुने अर्को ठाउँ हो, स्क्वायर नेटवर्क। यो कम्पनी स्मार्ट टेलिकममा २० प्रतिशतको सेयर साझेदार हो। टेलिकम कम्पनीमा स्थानीयसँग २० प्रतिशत सेयर स्वामित्व हुनु पर्ने व्यवस्थाअनुसार स्क्वायर नेटवर्कसँग स्मार्टको २० प्रतिशत सेयर छ।
 
स्क्वायर नेटवर्कमा दुई जना सेयर साझेदार थिए। १. भावना सिंह श्रेष्ठ २. सचिनलाल आचार्य। सचिन सतिशका भाइ हुन भने भावना श्रीमती। एनसेलको सेयर किन्ने भएपछि स्क्वायर नेटवर्कको सेयर दुवै जनाले सर्वेश जोशीलाई हस्तान्तरण गरेका छन्।
 
स्मार्टमा पहिले सचिन अध्यक्ष हुने गरेका थिए भने नयाँ व्यवस्थापछि सर्वेश अध्यक्ष हुन थालेका छन् । २०५७ मा दर्ता भएको स्क्वायर नेटवर्कमा त्यतिवेला दर्ता भने शुभ मल्लका नाममा गरिएको थियो। कम्पनी दर्ता गर्दा सचिन साक्षी बसेका थिए।
 
स्क्वायर नेटवर्कले १६ डिसेम्वरमा सर्वेशलाई स्मार्टको निर्देशक नियुक्त गरेको थियो। १७ डिसेम्वरमा सचिनलाल आचार्यले आफू स्क्वायर नेटवर्कको सेयर होल्डर नभएको भन्दै स्मार्टबाट राजिनामा दिएका थिए।
 
स्रोतले दिएको जानकारीअनुसार लालसाहु डिष्ट्रव्युटरबाट प्रतिनिधित्व गर्ने अजय श्रेष्ठ तथा स्क्वायर नेटवर्कबाट प्रतिनिधित्व गर्ने सर्वेश जोशी सचिन र सतिशका सानिमाका छोराहरु हुन्।