Snickers

गुगलको उदाहरण : यसरी लिन सक्छ सरकारले एनसेलमा कर


अमेरिकापछि सर्च इन्जिन गुगलको दोस्रो ठूलो अफिस छ, लण्डनमा। यो अफिस मात्रै ठूलो होइन गुगलको आम्दानीका हिसावमा पनि दोस्रो ठूलो देश हो। गुगलका लण्डनमा पाँच हजार कर्मचारी छन्। यहाँ कम्पनीले एक अर्व पाउण्ड खर्च गरेर भव्य अफिस बनाइ रहेको छ।

यही गुगल छ वर्षदेखि बेलायतको राजस्व विभागसँग मुद्दा मामिलामा थियो। गुगलमाथि दश वर्षदेखि आम्दानी बेलायतभन्दा बाहिर देखाएर कर छलेको आरोप लागेको थियो। यसै साता कर अधिकारी र गुगलवीच मुद्दा सल्टाउने एउटा सहमति भयो। सहमतिअनुसार गुगलले बेलायत सरकारलाई १३ करोड पाउण्ड राजस्व तिर्ने भयो।

गुगलको लण्डनमा मात्र होइन फ्रान्सको पेरिसमा पनि अफिस छ। यो अफिसमा लण्डनमा भन्दा चार गुणा कम मान्छे काम गर्छन्। यहाँको आम्दानी लण्डनको भन्दा तीन गुणा कम छ। यहाँ पनि गुगलको उही समस्या हो।

तर फ्रान्सका कर अधिकारीले गुगलसँग सम्झौता गरेनन्। गुगलले बेलायतभन्दा फ्रान्समा तीन गुणा बढी ३८ करोड पाउण्ड राजस्व तिर्दैछ। त्यति मात्र होइन पेरिसले स्पष्ट शब्दमा भनेको छ कारोवार गर्ने हो भने पेरिसमा गर, कर छल्नका लागि आयरल्याण्डको डब्लिनमार्फत कारोवार गर्न पाउँदैनौ।

गुगलको त्यस्तै समस्या इटालीसँग पनि छ। इटालीले गुगललाई भनेको छ, राजस्व छलीमा उन्मुक्ति चाहिएको हो भने अहिलेसम्म ठगेको एक अर्व पाउण्ड राजस्व तिर। गुगल सहमतिका लागि प्रयासरत छ तर इटाली सरकारले इन्टरनेट जायन्ट गुगलको कुरा सुनेको छैन्। इटाली सरकार अडानबाट टसमस भएको छैन्।
----
गुगलको आम्दानीको प्रमुख स्रोतमध्ये एक हो, विज्ञापन। गुगलले यसका लागि विभिन्न देशमा आफ्ना अफिसहरु खोलेको छ। लण्डन पनि त्यहीमध्ये एक हो। सन् २०१३ मा गुगलले बेलायतमा तीन अर्व ८० करोड पाउण्डको व्यापार गर्यो। यसवापत कम्पनीले बेलायत सरकारलाई जम्मा दुई करोड चार लाख पाउण्ड राजस्व बुझायो।

सन् २००६ देखि २०११ को बीचमा गुगलले बेलायतमा ११ अर्व २० करोड पाउण्डको कारोवार गर्दा एक करोड १२ लाख पाउण्ड मात्रै राजस्व बुझाएको थियो। कारोवारको तुलनामा कम राजस्व आएपछि कर अधिकारीले गुगलको कारोवार छानविन गर्न थाले।
 
गुगलले कसरी छल्छ राजस्व?
जसरी एनसेलमा लाभकर छल्नका लागि धेरै तहमा अफसोर कम्पनी बनाइएको छ। ठीक त्यसैगरी गुगलले राजस्व छल्नका लागि धेरै तहमा कम्पनीहरु तयार गरेको छ। बेलायतका विज्ञापनदाताले गुगल विज्ञापनका लागि गुगलको लण्डन अफिसलाई पैसा दिन्छन्।

तर गुगलले त्यो पैसा लण्डनमा लिन्न उसले त्यो पैसा लिन्छ गुगलले स्थापना गरेको आयरल्याण्डको हेडक्वाटरमा। कारण लण्डनमा कारोवार देखाउँदा कर्पोरेशन ट्याक्स २० प्रतिशत लाग्छ। आयरल्याण्डमा जम्मा साढे १२ प्रतिशत मात्रै। यसरी सिधै गुगलले बचाउँछ साढे सात प्रतिशत कर।

आयरल्याण्डको कम्पनीले गुगलकै नेदरल्याण्डस्थित अर्को कम्पनीलाई रोयल्टी तिर्छ। यसरी रोयल्टी तिरेपछि आयरल्याण्डको कम्पनीको आम्दानी कम देखिन्छ। कम आम्दानी भएपछि कम मुनाफा कर तिरे पुग्छ। यसबाट गुगलले ट्याक्स प्लान गर्न पाउँछ।

गुगलको नेदरल्याण्डमा भएको कम्पनीले फेरी आयरल्याण्ड हुँदै बर्मुडामा खोलिएको अर्को सब्सिडरीलाई पैसा पठाउँछ। किनभने बर्मुडामा कर्पोरेशन ट्याक्स लाग्दैन्। बर्मुडाको कम्पनीले त्यो पैसा मुनाफाका रुपमा अमेरिका पठाउँछ।

यही कारण गुगलले आफ्नो युरोप,  मध्यपूर्व तथा अफ्रिकाको हेडक्वाटर सन् २००८ देखि आयरल्याण्डमा सारेको छ। गुगलको यही कर छल्ने 'कम्पलिकेटेड एरेन्जमेन्ट'लाई बेलायतमा अहिले भन्न थालिएको छ, 'डबल आइरिस एण्ड डच स्याण्डवीच'। बेलायत मात्रै होइन, फ्रान्सदेखि इटली हुँदै अमेरिका बाहिरको आम्दानी गुगलले यही आयरल्याण्ड हुँदै अमेरिकामा रुट गर्छ।
----
गुगलसँग लामो समयदेखि पेन्डिङ परेको मुद्दाबाट १३ करोड पाउण्ड राजस्व उठाउने निर्णय सार्वजनिक गरेपछि बेलायतमा अहिले निशानामा छन्, अर्थमन्त्री जर्ज ओसबोर्न। उनले खुशी साथ १३ करोड पाउण्ड राजस्व उठाउने निर्णय सार्वजनिक गरेको २४ घण्टा नबित्दै उनी सर्वसाधरणको निशानामा मात्रै परेनन्, उनी सांसदको निशानामा समेत परेका छन्।

उनको टीमले गरेको यो सहमतिविरुद्ध बेलायतमा तीन वटा छानविन पनि सुरु भैसकेका छन्। डेली मेल लेख्छ,  गुगल, राजस्व उठाउने राजस्व तथा भन्सार विभागका अधिकारीले सार्वजनिक लेखा समिति, अर्थ समितिको छानविनको सामाना गर्नुपर्ने छ। गएरातीबाटै सांसदले छानविनका क्रममा सोध्ने प्रश्नको तयारी सुरु गरिसके।

त्यसैगरी राष्ट्रिय लेखा परीक्षक कार्यालयले पनि यो डिलका विषयमा छानविन सुरु गरिसकेको जानकारी दिएको छ। सांसदले प्रश्न गर्न थालेका छन्, राजस्व तथा भन्सार विभागलाई गुगलसँग दशकदेखिको पुरानो कर बक्यौता उठाउन छ वर्ष लाग्यो त्यही पनि जम्मा १३ करोड मात्रै।

१३ करोड मात्रै राजस्व लगाउनुको अर्थ हो, कर अधिकृतले २० प्रतिशत लगाउनु पर्ने करको दर तीन प्रतिशतभन्दा कम मात्रै लगाउनु। यही विषयमा अर्थमन्त्रीको मात्रै होइन प्रधानमन्त्री डेभिड क्यामरुनसम्मलाई प्रश्न गर्न थालिएको छ।

सांसदहरुले गुगल मात्रै होइन बेलायतमा मोटो पैसा बनाउने तर कम कर तिर्ने एप्पल,  स्टारबक्स अमेजन र फेसबुकमाथि पनि छानविनको माग गरेका छन्।

गैरकानूनी होइन तर नैतिकता!
पुरै बेलायतीले यो विषयमा फस्ट्रेसन निकाले पनि गुगलले भने कानुनी दायरामा रहेर ट्याक्स प्लानिङको काम गरेको दावी गरेको छ। गुगलले भनेको छ,  उ अन्तराष्ट्रिय कर कानुनको प्रावधानअनुसार चलेको छ।

हिज मेजेस्टी रेभेन्यु एण्ड कस्टम (एचएमआरसि)का व्यापार कर महानिर्देशक जिम हाराले भने , हामीले सर्वसाधरणको आक्रोस बुझेका छौं तर यो साँचो हो गुगलले स्थानीय कम्पनीले भन्दा धेरै कम राजस्व बुझाएको छ।

उनले भने गुगलले आयरल्याण्डमा भएको कम राजस्वको लाभ उठाएको छ। मल्टिनेशनल कम्पनीले कम कर तिर्नेगरी स्रोत र क्षमताको उपयोग गर्ने गर्छन्। तर हामीसँग पनि केही कानुनहरु छन् जसले कर छल्नबाट रोक लगाउने गरेको छ।

तर बेलायतीहरु भने यसलाई ट्याक्स प्लानिङका रुपमा नबुझेर कर छलीका रुपमा बुझिरहेका छन्। कानुन एक ठाउँमा छ तर सँगसँगै नैतिकता पनि जोडिएको हुन्छ, बेलायती सांसदले भनेका छन्।

करका विषयमा संसदको अल पार्टी पार्लियामेन्ट्रि समूहका उपाध्यक्ष डेभिड डेभिसले गुगलका लागि यो 'स्वीट हार्ट डिल' भएको बताए। गुगलले वर्षको कम्तीमा पनि २० करोड पाउण्ड राजस्व बुझाउनु पर्छ उनले भने।

डाभिसले एचएमआरसि गुगलसँगको छलफलमा कमजोर रहेको तर्क गरे। गुगल मात्रै होइन एचएमआरसिले भोडाफोन अमेजन र एप्पलसँग पनि राम्रो नेगोसिएशन गर्न नसकेके आरोप उनले लगाए।

एचएमआरसिले साना र सर्वसाधरणलाई कर लगाउन १०१ वटा आधारमा जाँच्छ तर गुगल जस्ता कम्पनीका लागि ती आधार खै, उनले प्रश्न गरे। कर छली सुल्झाउन ठूलो समस्या छैन्, यो देशमा उसले आम्दानी गरेको हो भने यही देशमा कर बुझाउनु पर्छ। त्यसको नोमिनल अफिस डब्लिनमा होस वा लग्जेम्वर्गमा।

सार्वजनिक लेखा समितिका सभापति मेग हिलरले यो डिललाई 'शंकास्पद डिल'का रुपमा व्याख्या गरे। गुगललाई लगाएको कर मगन्ते रणनीति हो,  जबकी उनीहरुले कडा प्रश्नको सामाना गर्नुपर्दथ्‍यो।


डिलको निकनेम 'डेम डिजास्टर'
यो डिलमा एचएमआरसिकी प्रमुख लिम होमरले हस्ताक्षर गरिएको अनुमान बेलायतीले गरेका छन्। त्यसलाई उनीहरुले डेम डिजास्टरका रुपमा व्याख्या गरेका छन्।

एचएमआरसीको प्रमुख लिम होमर, छुट्टिमा जाँदा

उनीहरुले यो डिलमा अडान लिन नसकेकी लिम होमर किन एचएमआरसीको प्रमुखका लागि लायक थिइनन् भनेर इतिहास कोट्याउन पनि थालेका छन्। एचएमआरसीले गुगलसँगको सम्झौतामा कसले हस्ताक्षर गरेको हो भनेर जानकारी दिएको छैन् तर अर्थमन्त्रालय स्रोतले भने यो डिलमा लिन होमरले हस्ताक्षर गरेको जानकारी डेली मेललाई दिएको छ।

सन् २०१२ मा होमर एचएमआरसी विभागको प्रमुख नियुक्त भएकी थिइन्। ३५ वर्षको उनको सार्वजनिक जागिरे जीवन विवादले भरिएको छ। सन् २००५ मा होमर बर्मिङगम सिटी काउन्सिलको प्रमुखमा रहँदा उनी पोष्टल भोट स्क्याण्डलमा मुछिएकी थिइन्।

त्यसपछि उनी वार्षिक दुई लाख पाउण्ड तलव खाने गरी इमिग्रेसन सिस्टमको हाकिम बनाइएकी थिइन्। उनलाई त्यतिवेला गृह मन्त्री जोन रिडले उक्त जागिरका लागि असक्षम घोषणा गरेका थिए। होमर इमिग्रेसन सिस्टममा छँदा एक हजार विदेशी कैदी बेलायतबाट छाडिएका थिए भने साढे चार लाख शरणार्थीको कागजात हराएको थियो।

पछि उनलाई बेलायतको युके बोर्डर एजेन्सीको प्रमुख बनाइएको थियो। त्यतिबेला सांसदले होमरलाई नेतृत्व असक्षमता भन्दै आलोचना गरेका थिए। विवादकै बीच उनलाई सन् २०१२ मा एचएमआरसीमा बढुवा गरिएको थियो। गृह विभाग समितिले उनको बढुवा ग्रहणयोग्य नभएको भन्दै आलोचना गरेको थियो। एचएमआरसीमा बस्दा विभागमा आएका छ करोडमध्ये जम्मा एक करोड ८० लाख मात्रै टेलिफोन कल रिसिभ गरेको भन्दै आलोचना गरिएको थियो।

जोडियो पोलिटिकल कनेक्सन
यो डिलमा प्रधानमन्त्री डेभिड क्यामरुनको कार्यालयले दूरी बनाइरहेको छ। आलोचनापछि अर्थमन्त्री जर्ज ओसबर्नले पनि सार्वजनिक साक्षात्कार कार्यक्रमबाट भागिरहेका छन्। तर विपक्षले भने कर छलीमा प्रधानमन्त्री पनि संलग्न भएको पुष्टी गर्न प्रधानमन्त्री डेभिड र गुगलवीच सम्वन्धको तार जोडिरहेका छन्।

गुगलका पूर्व सिईओ एरिकसँग बेलायती प्रधानमन्त्री

डेली मेल लेख्छ,  प्रधानमन्त्री डेभिडको गुगलका पूर्व सिईओ एरिक स्मिड जसले गुगलबाट अर्वौ डलर कमाए तथा गुगललाई विश्वको पावर हाउस बनाएवीच विशेष सम्वन्ध छ।

 एरिक प्रधानमन्त्री क्यामरुनको बिजनेश एडभाइजरी बोर्डमा लामो समयदेखि आवद्ध थिए,  तर उनले गत जुलाईमा त्यो पद छाडे। अर्वपति एरिकले क्यामरुनलाई आर्थिक नितिमा पनि सघाएका थिए।

प्रधानमन्त्री क्यामरुनका नजिकका राजनीतिक सल्लाहाकार स्टिभ हिल्टन छन्। उनले राचेल ह्वेस्टोनसँग बिहे गरेका छन्, राचेल गत वर्ष उबर ज्वाइन गर्नुअघिसम्म गुगलको ग्लोबल कम्युनिकेशनमा उपाध्यक्ष थिइन्।
डेभिड र समान्था क्यामरुनका जेठा छोरा इभान क्यामरुनको मृत्यु हुनु अघि हिल्टन उनका लागि गडफादर थिए। हिल्टन र राचेलको जोडीलाई बेलायतको शक्‍तिशाली जोडीमध्ये एक मानिन्छ।

सन् २०१३ मा डेभिड र समान्था नाओमी गुमरको विहेमा पुगेका थिए। उनी गुगलको पब्लिक पोलिसीमा एक्ज्युकेटिभ छन्। गुगल ज्वाइन गर्नुअघि उनी सांस्कृतिक मन्त्री जेरमी हन्टको राजनीतिक सल्लाहाकार थिइन्।

सन् २०१२ मा टोरी मन्त्रीहरुले गुगलसँग महिनामा एक पटक बैठक गर्थे। अफिसियल रेकर्डमा डेभिडले गुगलका अधिकारीसँग तीन पटक भेटेका थिए भने जर्ज असवोर्नले चार पटक।

गुगलले बेलायतमा ड्राइभरलेस कार सेवा सार्वजनिक गर्न बेलायत सरकारका अधिकारीसँग पाँच पटक बैठक बसेका छन्। गुगलको युरोपका लागि पिआर हेर्ने एमि फिसर कानुन मन्त्री चिरिस ग्रेलिङको सल्लाहकारमा नियुक्त भएकी थिइन्।

क्यामरुनका कम्युनिकेशनका प्रमुख रणनीतिकार टिम च्याटवीनले सन् २०१२ को टोरी कन्फ्रेन्सपछि गुगल ज्वाइन गरेका थिए।
 


Share this Story

   

गुगलको उदाहरण : यसरी लिन सक्छ सरकारले एनसेलमा कर को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.