एनसेल बिक्रीको विषय विकासपछि लेखा समितिमा प्रवेश, मंगलबार सबैपक्षसँग छलफल गर्ने लेखाको तयारी



बिजमाण्डू
२०७२ माघ १८ गते ००:०० | Feb 1, 2016
एनसेल बिक्रीको विषय विकासपछि लेखा समितिमा प्रवेश, मंगलबार सबैपक्षसँग छलफल गर्ने लेखाको तयारी

काठमाडौं। एनसेल कर विवाद संसदको सार्वजनिक लेखा समितिमा पुगेको छ। लेखा समितिले मंगलबार एनसेलको सेयर खरीद बिक्री तथा करको विषयमा छलफल गर्न लागेको हो।
 
लेखा समितिले यो विषयमा सूचना तथा सञ्चार प्रविधि मन्त्रालयका सचिव, नेपाल टेलिकमका महाप्रबन्धक र एनसेलका प्रमुख कार्यकारी अधिकृतसँग छलफल गर्न लागेको हो। टेलिकम क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणलाई भने लेखा समितिले बोलाएको छैन।
 

Tata
GBIME
Nepal Life

एनसेलको सेयर बिक्री तथा करको विषयमा यसअघि संसदकै विकास समितिले छलफल गरेको थियो। विकास समितिले एनसेल बिक्रीमा कर उठाउनेदेखि एनसेललाई पब्लिक कम्पनी बनाउने विषयमासमेत छलफल गरेको थियो।

विकास समितिले एनसेलको सेयर मूल्य तय गर्दा स्वदेशी तथा विदेशी लगानीकर्ताका लागि फरक–फरक मूल्य राख्न मिल्छ वा मिल्दैन भन्ने प्रश्नसमेत गरेको थियो। एनसेलको ८० प्रतिशत सेयर स्वामित्वका लागि एकखर्ब ३६ अर्ब रुपैयाँ मूल्य तय गरिएको छ।

तर स्थानीय सेयर बेच्ने निरजगोविन्द श्रेष्ठ तथा सेयर खरिदकर्ता भावना सिंह श्रेष्ठवीच भएको एसपिएमा भने स्वदेशी २० प्रतिशत सेयरका लागि जम्मा तीनअर्ब ३१ करोड २४ लाख ५० हजार रुपैयाँ मात्रै मूल्य तय गरिएको छ। यो मूल्य एनसेलको भ्यालुएशनको १० प्रतिशत मात्रै हो। सेयर मूल्य कम हुँदा लाभकर छलिन्छ ।

उता यही स्वेदशी २० प्रतिशत सेयर भने टेलियासोनेराले चार अर्ब ८० करोड रुपैयाँमा मात्रै बेच्दैछ। त्यसका लागि भावनाले सिंगापुरमा सुनिभेरा भेञ्चर क्यापिटल नामको कम्पनी खडा गरेर टेलियासोनेरालाई रकम भुक्तानी गर्दैछिन्।

विकास समितिले निजी कम्पनीको सेयर कतिमा बेच्ने भन्ने कुरा खरीद गर्ने र बिक्री गर्ने पक्षमा निहीत भए पनि सेयरको अत्याधिक मूल्य वृद्धि वा न्यूनतम मूल्य कायम गरेको विषयमा सरकारले हस्तक्षेप गर्न मिल्छ वा मिल्दैन् र हस्तक्षेप गर्न पर्छ वा पर्दैन त्यसको जवाफसमेत दिन सरोकारवालालाई निर्देशन दिएको थियो।