विवाहको लगनसँगै सुन बजारमा उत्साह, दैनिक ४० किलोसम्म सुनको माग, भूकम्पको असर भने कायमै

बिजमाण्डू
२०७२ माघ १८ गते ००:०० | Feb 1, 2016
विवाहको लगनसँगै सुन बजारमा उत्साह, दैनिक ४० किलोसम्म सुनको माग, भूकम्पको असर भने कायमै

काठमाडौं । सुन व्यापारमा माघ महिनालाई सिजन मानिन्छ। यसपाली माघ महिनाको १९ गतेदेखि विवाहको लगन सुरु हुँदै छ। बजारमा सुनको माग बढ्ने क्रम जारी भएपनि सहज वितरण भने हुन नसकेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
 
साताको पहिलो दिन आइतबारदेखि बजारमा सुनको माग बढेको छ। 'पछिल्लो हप्ता ३०/३५ किलोको रेञ्जमा सुनको माग थियो, आइतबार ३५/४० किलोको रेञ्जमा पुगेको छ', नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्यले भने, 'माग बढ्ने क्रम जारी छ,  तर नेपाल राष्ट्र बैंकले दैनिक १५ किलोमात्र वितरण गरिरहेको छ।'
 

Tata
GBIME
Nepal Life

वाणिज्य बैंकहरुले व्यवसायीलाई त्यही अनुपातमा सुन आपूर्ति गरिरहेका छन् । राष्ट्र बैंकको नियम अनुसार सुन आयात वाणिज्य बैंकहरुले मात्रै गर्न पाउँछन् ।
 
विगतको तुलनामा अहिले सुनचाँदीको वार्षिकरुपमा माग निकै बढेको छ। '२०५५ सालमा सुनको माग वर्षको पन्ध्र हजार किलो पुगेको थियो। तर अहिले ३० हजार किलो पुगेको छ', शाक्यले भने, 'अहिले बजारमा करिब २० हजारको संख्यामा सुनचाँदी पसल छन्।' शाक्यका अनुसार सुनचाँदी पसल बढेपनि बैंकहरुबाट वार्षिक ६ हजार किलो सुनमात्रै बजारमा गइरहेको छ।
 
विगत वर्षका माघ महिनाका तुलनामा यसपाली भने सुनको माग कम भएको उनले बताए। वैशाखको भूकम्पपछि मानिसहरुले आफ्ना आधारभूत आवश्यकता पुरा गर्न धेरै खर्च गर्नुपरेकाले सुनमा लगानी कम भएको उनले बताए।
 
सरकारको ध्यानाकर्षण
सुनचाँदी व्यवसायमा देखापरेका समस्याबारे सुनचाँदी व्यवसायी महासंघ, रत्न आभुषण तथा हस्तकला महासंघले आइतबार  कार्यक्रम आयोजना गरेको थियो। सुनचाँदी व्यवसायमा देखापरेका समस्या ठोस रुपमा प्रस्तुत गर्न वाणिज्य विभागका महानिर्देशक शम्भु कोइरालाले महासंघलाई आग्रह गरेका थिए।
 
 कार्यक्रममा नेपाल प्रहरीका एसएसपी सर्वेन्द्र खनालले पनि सुनचाँदी व्यवसाय समस्या सामाधानकालागी प्रशासनले आफ्नो तर्फबाट जिम्मेवार भूमिका निर्वाह गर्ने जनाएका थिए। यसअघि महासंघले सरकारलाई आफ्ना समस्‍याबारे ध्यानाकर्षण गराएको शाक्यले बताए।