पुँजी बजार अहिलेसम्मकै उच्च विन्दुमा, १२३८.०२ अंकमा बजार बन्द, यस्तो छ बजार बढ्नुका कारण

बिजमाण्डू
२०७२ माघ १८ गते ००:०० | Feb 1, 2016
पुँजी बजार अहिलेसम्मकै उच्च विन्दुमा, १२३८.०२ अंकमा बजार बन्द, यस्तो छ बजार बढ्नुका कारण


काठमाडौं। पुँजी बजारले सोमबार नयाँ रेकर्ड कायम गरेको छ। १.४२ अर्थात १७.३२ अंकले बजार बढ्दा पुँजी बजारमा नयाँ रेकर्ड कायम भएको हो। सोमबार बजार १२३८.०२ विन्दूमा बन्द भएको छ। यसअघि माघ ११ गते बजारले १२१९.६२ अंकको रेकर्ड कायम गरेको थियो।
 
माघ ३ गतेबाट अभौतिक सेयर मात्रै कारोबार हुन थालेपछि बजारले नयाँ गति लिएको छ। डिम्याट कारोबार सुरु भएकपछि केहीदिन सेयर कारोबार हुने कम्पनीको संख्यामा कमी आएपनि सोमबार एकसय १३ वटा कम्पनीको सेयर कारोबार भएको छ।
 

Tata
GBIME
Nepal Life

'सिडिएस प्रणाली लागू हुनु बजारका लागि आफैंमा राम्रो र महत्वपूर्ण कदम हो,' ब्रोकर एसोसिएसनका अध्यक्ष प्रियराज रेग्मीले भने, 'यसले बजारमा सकारात्मक प्रभाव पार्छ। पछिल्लो समयमा त्यसले बजारलाई सकारात्मक बनाइरहेको थियो।'
 
सेयर विश्लेषक रविन्द्र भट्टराईले बैंकहरुबाट कम ब्जाजदरमा पाएको पैसा लगानीकर्ताले पुँजी बजारमा लगानी गर्न थालेकाले त्यसको असर बजारमा देखिएको बताए। 'अहिले कम ब्याजदरमा पैसा लगानीकर्ताले पाएको छ,' उनले भने, 'लगानीकर्ताले त्यो पैसा बजारमा लगाउँदा बजार बढेको भन्न सकिन्छ।'
 
भट्टराईले बैंक तथा वित्तीय संस्थाको अर्धवार्षिक विवरण लगानीकर्ताले सोचेभन्दा राम्रो आएकाले पनि बजार बढेको बताए। 'बैंकहरुको नाफा ५० प्रतिशतले बढेको छ,' उनले भने, 'यो कुरा लगानीकर्ताले सोचेभन्दा फरक हो।'
 
उनले प्राविधिक कारणले पनि बजारमा सुधार देखिएको बताए। 'अहिले डिम्याट कारोबार भइरहेको छ, लगानीकर्ताले छिटो छिटो किनबेच गर्न पाएकाले पनि बजारमा सकारात्मक असर पर्ने भयो,' उनले भने, 'अर्को कुरा मार्केट डेप्थ लगानीकर्ताले हेर्न पाउँछ। सूचना धेरै पाउँदा त्यसको असर बजारमा देखिनु सामान्य हो।'
 
५५ करोडको कारोबार
सोमबार बजारमा ५५ करोड ३६ लाख रुपैयाँको सेयर कारोबार भएको छ। बजारमा वाणिज्य बैंकको सूद्वक २३ करोड ८३ लाख रुपैयाँको सेयर किनबेच भएको छ। यस्तै विकास बैंकको १६ करोड ६५ लाख तथा बीमाको पाँच करोडको सेयर किनबेच भएको छ।
 
जलविद्युत बाहेक सबै समूहको सूचक उकालो लागेको छ। वाणिज्य बैंक समूहको सूद्वक २०.७९ अंकले, होटलको ७३.४७ अंकले, विकास बैंकको १९.५९ अंकले, बीमाको ३५ अंकले तथा अन्य समूहको २६.९३ अंकले बढेको छ।
 
बजारमा सानिमा बैंकको सबैभन्दा धेरै सेयर किनेबच भएको छ। सानिमाको चार करोड रुपैयाँको सेयर किनबेच भएको हो। यस्तै नेपाल इन्भेष्टमेन्ट बैंकको संस्थापक सेयर तीन करोड ७३ लाखको किनबेच भएको छ भने नेपाल इन्भेष्टमेन्ट बैंकको पनि तीन करोड ५८ लाखको सेयर कारोबार भएको छ।
 
बजारमा ग्लोबल आइएमई बैंक, फर्स्ट माइक्रोफाइनान्स तथा नबिल बैंकको संस्थापक सेयर दुई करोड रुपैयाँ भन्दा धेरैको किनबेच भएको छ।
 
बजारमा सबैभन्दा धेरै कमाउनेमा युनियन फाइनान्स तथा त्रिवेणी विकास बैंकका लगानीकर्ता छन्। दुवै कम्पनीको सेयर १० प्रतिशतले बढेको छ। यस्तै मिर्मिरे माइक्रोफाइनान्सलगायतका कम्पनीका लगानीकर्ताले कमाएका छन्। गुमाउनेमा भने एभरेष्ट बैंकको प्रिफेरेन्स सेयर लगानीकर्ता अगाडि छन्।